नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर समितिको कामका बारेमा जानकारी लिनुभएको छ । समितिले हाल काम गरिरहेको तिलगङ्गास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले समितिले अहोरात्र खटेर काम गरिरहेको भन्दै कामको प्रशंसा गर्नुभएको समिति प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो । साथै उहाँले निर्धारित समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने भएकाले क्रियाशील सदस्यताको काम समयमै टुङ्गो लगाउनसमेत निर्देशन दिनुभएको प्रवक्ता पौडेलले बताउनुभयो ।
समितिले हालसम्म १०७ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यतासम्बन्धी काम सम्पन्न भइसकेको र अन्य क्षेत्रको पनि निर्धारित समयमै सम्पन्न हुने जनाएको छ । कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि यही असार ३० गतेभित्र तोकेको छ ।
यो पनि – एमाले विवाद समाधानतिरः आइतबार एकताको सन्देश सुनाइने
नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको छ । सिंहदरबारमा आज विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताउनुभयो ।
“ हामी भोलि(आइतबार) पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पु¥याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ”, उहाँले भन्नुभयो, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । भोलि एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ ।”एमालेलाई एकताबद्ध बनाएर राष्ट्र जनता, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि भोलि एकताको घोषणा गरिने जानकारी उहाँले दिनुभयो । एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताउनुभयो । बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी हुनुहुन्थ्यो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।रासस
यो पनि – भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताउनुभएको छ । दुई सय आठौँ भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका एकीकरणकर्ता भएजस्तै आचार्यले भाषा–साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको जनाउनुभयो । उहाँले सांस्कृतिक एकतामा जोड दिँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गराउन पहल गर्दै आएको पनि जानकारी दिनुभयो ।
प्रतिष्ठानका पूर्व सदस्यसचिव डा तुल्सीप्रसाद भट्टराईले भानुभक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय नेपाली जगत्मा बहुकोणबाट ख्यातिप्राप्त भएको जनाउँदै भानुभक्तले नेपाली जात र पहिचानलाई चिनाएको बताउनुभयो । सो अवसरमा प्रा डा ब्रतराज आचार्यले भानुको व्यक्तित्वबारे प्रकाश पार्दै भानुभक्तको लेखनीका माध्यमबाट युवा पुस्तामा साहित्य र भाषाको प्रवद्र्धनमा योगदान पुगेको बताउनुभयो । सहप्रा प्रभा भट्टराई आचार्यले भानुभक्त आध्यात्मिक र नैतिक चिन्तनयुक्त क्रान्तिकारी कवि भएको बताउनुभयो भने उपप्रा ज्ञानु अधिकारीले नारी दृष्टिकोणबाट हेर्दा भानुको ‘बधूशिक्षा’ केही आलोच्य भए सो कृति समाजको एक चित्र भएको तर्क राख्नुभयो । समितिका अध्यक्ष डा जानुका नेपालले भाषा साहित्यका क्षेत्रको प्रवद्र्धन र अध्ययन अनुसन्धानका लागि समाजले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा प्राज्ञ डा देवी नेपाल र गायिका लोचन भट्टराईले भानुका रचना तथा प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव, २०७८ मा प्रथम र तृतीय स्थान हासिल गर्ने कविद्वय कविता राई र प्रकाश सिलवालले पुरस्कृत कविता वाचन गर्नुभएको थियो । यस्तै भानुबारे मनमैजु माविका प्रधानाध्यापक रविना महर्जनले निर्माण गरेको भिडियो सामग्री प्रस्तुत गरिएको थियो । आदिकवि आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । रासस
प्रतिक्रिया