बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजार सहयोग

बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजार सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई रु दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई रु एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई रु दुई करोड र इन्द्रावती गाउँपालिकालाई रु १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो । त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ ।

त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घोषणा गरिएको छ । प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

यो पनि – बाढी प्रभावित मेलम्ची बजारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिनुभयो ।

 

 

उहाँले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,“विपत्का समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ ।”
उहाँले बाढी प्रभावितका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले एकद्वार प्रणालीबाट मात्रै वितरण गर्न आह्वान गर्नुभयो । उहाँले राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको बताउँदै राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशम्शेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।  उहाँले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले भन्नुभयो,“ राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन ।” आयोजनाको सुरुङ परिक्षण भइरहेकाले त्यसमा क्षति कम भएको उहाँको भनाइ थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो । रासस

यो पनि – प्रधानमन्त्री ओली बाढी–पहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आउनुभएको छ । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा हुनुहुन्छ भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै हुनुहुन्छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत हुनुहुन्छ । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

यो पनि – लोलुङजोङ अनुगमनमा मुख्यमन्त्री शाहीको टोली

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल–चीनको सिमानाका हवाई अनुगमनका लागि नाम्खा गाउँपालिका–५ को लोलुङजोङ पुगेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीसहित शुक्रबार हुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीको टोली शनिबार सिमानाको स्थलगत अनुगमनका लागि लोलुङजोङ गएका हुन् । कैलाश एयरको ९ एमटी कलसाइनको हेलिकप्टरमार्फत आज कांग्रेस नेता शाही, पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता विमला केशी, सहायक प्रजिअ दशरथ राई र मुख्यमन्त्रीका सुरक्षा गार्ड जम्दार नारायण चौधरी सहितको टोली नेपाल–चीनको सीमा क्षेत्रको अनुगमनका लागि गएको हो ।

चीनले नेपाली भूभागमा आफ्ना भवन बनाएको खबर सार्वजनिक भएको दश महिनापछि प्रदेशका कार्यकारी प्रमुखको हैसियतले मुख्यमन्त्री शाही पहिलोपटक नाम्खा–५ को लोलुङजोङ पुगेका हुन् । गत वर्षको भदौ १९ गते शनिबार वडा नं ६ लिमीमा एकीकृत शिविर सञ्चालन गर्न र योजनाहरुको स्थलगत अनुगमन गर्ने उद्देश्यले लिमी गएका तत्कालीन हुम्ला जिल्लाका सहायक प्रजिअ दत्तराज हमाल नेतृत्वको ४२ सदस्यीय टोलीले लोलुङजोङ पुगेर कैलाशको दर्शन गर्ने क्रममा कैद गरेका तस्बीरमा लोलुङजोङमा चीनले नयाँ भवन निर्माण गरेको देखिएको थियो । त्यसपछि चीनले नेपाली सिमाना मिचेको खबर निकै चर्चामा आएको थियो ।

त्यसैबेला प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा र प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले समेत उक्त क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो । कर्णाली प्रदेश सरकारले औपचारिक रूपमा उक्त क्षेत्रको स्थलगत अनुगमन शुरु गरेको हो ।  सबैभन्दा नजीकको सरकारका हैसियतले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्ने र सोही अनुसारको प्रदेशको धारणा तय गर्न टोली सीमा क्षेत्रमा प्रवेश गरेको टोलीमा संलग्न नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो । लिमी जानुअघि सङ्क्षिप्त प्रतिक्रिया दिनुभएका नेता शाहीका अनुसार टोलीले लाप्चा र हिल्सा सीमा क्षेत्र विवाद भएपछि वास्तविकताका विषयमा अनुगमन गर्नेछ ।रासस