कुश्मामा खानेपानीको हाहाकार

कुश्मामा खानेपानीको हाहाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्मतका लागि जान नसकिएको बताएको छ ।

संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिरहेका कारण र खानेपानीको पाइप भएकै ठाउँमा पहिरो लच्किरहेका कारण मर्मत गर्न कठिनाइ भएको बताउनुभयो । नगरपालिकामा मोदी गाउँपालिका वडा नं ३ देउरालीमा रहेको पातीखोला र कुश्मा– २ को केवादी खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । अहिले दुवै ठाउँमा बाढी र पहिराले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार कुश्मा नगरका एक हजार ५६० परिवारका झण्डै २३ हजार जना अहिले खानेपानीको समस्यामा छन् । अहिले धारामा पानी नआएपछि र निरन्तर पानी परिरहेका समयमा बजारबासीले बलेनीमा पानी सङ्कलन गरी प्रयोग गर्दै आएका छन् । बलेनीको पानी खानका लागि उपयोगी नभए पनि अन्य प्रयोजनका लागि सङ्कलन गर्ने र खानेपानीका लागि घण्टौँ समय खर्चेर जानुपर्ने अवस्था रहेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । रासस

यो पनि –  बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजार सहयोग

सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गर्नुभएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई रु दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई रु एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई रु दुई करोड र इन्द्रावती गाउँपालिकालाई रु १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो । त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ ।

त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घोषणा गरिएको छ । प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो । रासस