आज सहमति सार्वजनिक गर्ने तयारीका साथ बसेको नेकपा (एमाले) विवाद समाधान कार्यदलले साँझसम्म कुनै सहमति जुटाउन सकेन । आज सहमति भएमा स्थायी कमिटीबाट अनुमोन गराउने तयारी गरेर अपराह्न ४ बजेका लागि राखिएको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि सारिएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक भने असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ९ बजेदेखि रातिसम्म बसेको कार्यदल बैठकमा केके छलफल र सहमति भयो भन्नेबारेमा नेताहरुले खुलाएका छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले काम गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनपछि एमालेमा विवाद बल्झिएको थियो । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले दललाई २०७५ जेठ २ गतेका स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आउनुभएको छ । रासस
यो पनि – गिरिजाबाबु दृढ इच्छाशक्ति भएको नेता : डा कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला गिरिजाप्रसाद कोइरालामा दृढ इच्छाशक्ति भएकोे बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले शान्ति प्रक्रियाका नायक गिरिजाबाबुमा दृढ इच्छाशक्ति भएको बताउनुभयो ।
नेता डा कोइरालाले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता गिरिजाबाबु भएको उल्लेख गर्नुभयो । पार्टीलाई सशस्त्र क्रान्तिका लागि पैसा आवश्यक परेर विमान अपहरण गर्न गिरिजाबाबु बाध्य भएको उहाँको भनाइ थियो । गिरिजाबाबु पार्टीको कुशल सङ्गठनकर्ता भएको नेता कोइरालाले बताउनुभयो । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले नेपाली राजनीतिमा गिरिजाबाबुको अभाव खड्किएको बताउनुभयो । गिरिजाबाबुले देखेको जनप्रतिनिधीमार्फत संविधान लेख्ने सपना स्व सुशील कोइरालाको नेतृत्वमा सम्भव भएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया