लगातारको भारी वर्षाका कारण तीनघर भत्किए

लगातारको भारी वर्षाका कारण तीनघर भत्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगातारको भारी वर्षाका कारण जिल्लामा तीनवटा घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार आज वर्षात्ले जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् ।

यसैगरी जिल्लाकै बडिकेदार गाउँपालिका–१ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घरको धुरी भाँचिई घर भत्किदा घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–५ बागठाँटा बस्ने जोगी भुलको ढुङ्गा माटाले बनेको स्लेटले छाएको दुई तले घरको धुरी वर्षात्को कारणले भाँचिन गई घर भत्किई घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा क्षति भएको छ । भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको अनुमान गरिएको छ । दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका विषयमा तथा क्षतिका बारेमा थप बुझ्नका लागि अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यो पनि – स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव : सेवा प्रवाहमा समस्या

खलङ्गा, २७ असार । जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ । चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ जेठ महिनादेखि डा रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।”

स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४सै घण्टा प्रवाह हुने गरेको छ । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिका लागि सबै कर्मचारीको साथ सहयोग रहेको भण्डारीले बताउनुभयो । सिनियर अनमी मेनुका देवकोटाले दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताउनुभयो । गर्भपतन गराउने आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने गरिएको देवकोटाले जानकारी दिनुभयो । अघिल्लो वर्ष ८४ सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । यस वर्ष ७८ ले सेवा लिएका छन् । यहाँ एक दिनमा १५ देखि २५ को हाराहारीमा बिरामी सेवा लिन आउँछन् । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी छन् । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ कर्मचारी छन् ।

पूर्वाधार अभाव

हिमा– ६ महाबैपातर खोलामा रहेको स्वास्थ्य चौकीमा खानेपानीको अभाव रहेको छ । उक्त स्वास्थ्य चाकीमा बिजुली र इन्टरनेट सेवाको समेत अभाव छ । स्वास्थ्य चौकी इञ्चार्ज टेकबहादुर बुढाले दुर्गमका स्वास्थ्य चौकीमा पूर्वाधार अभावले सेवा दिन कठिनाइ हुने गरेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा ओपिडी सेवा, गर्भजाँच र बर्थिङ सेन्टरको सेवा दिइरहेका बुढाले जानकारी दिनुभयो । स्थानीयले पाउने सेवा सरल, सहज बनाइएको छ । यहाँ औषधि अभाव हुन दिइएको छैन । स्वास्थ्य चौकीमा पूर्वाधार अभावका कारण सोचेअनुसारको सेवा उपलब्ध गराउन सकिएको छैन । विद्युत् नहुँदा सुत्केरी गराउने बेला मोबाइलको टर्च बालेर सेवा दिनुपर्ने अवस्था रहेको सिनियर अनमी जयलक्ष्मी रावतले बताउनुभयो । रासस

यो पनि – कोरोना खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।” उहाँले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।” उहाँले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कोभिडको तेस्रो÷चौथो लहरतर्फ सचेतता

‘जीवन पहिला’ भन्ने नाराका साथ कोभिडविरुद्धको लडाइँ अघि बढाइएको उहाँले स्मरण गराउनुभयो । “जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो”, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेको नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको बताउनुभयो । कोभिडको तेस्रो÷चौथो लहर चल्छ भन्ने कुरा आएको तर्फ सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह गर्नुभयो ।

वीर अस्पताल विविध कारणले सञ्चालन परिचालन र विकास अपेक्षाकृत हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै उहाँले मानवीय र सेवाभावबाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औँल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाव दिनुभयो । नेपाल धर्तीकै ज्ञान प्रारम्भ भएको, चिकित्सा विज्ञान, शल्यक्रिया, औषधि विज्ञानको शुरुआत भएको मुलुक भएर पनि बीचमा त्यस्ता उपलब्धि हराउँदै गएको प्रसङ्ग जोड्दै प्रधानमन्त्री ओलीले नेपालमा साढे दुई हजार वर्षअघि शल्यक्रिया विज्ञानको विकास गरिएको, त्यसको महत्वपूर्ण पक्ष चिकित्साशास्त्रको ‘श्रुतिसंहिता’ र औषधि विज्ञानको ‘चरकसंहिता’ भएको तथा त्यसैका आधारमा आयुर्वेदको विकास भएको बताउनुभयो ।

औषधि विज्ञानको प्रभावकारिता विश्वको कुनै पनि विश्वविद्यालयमा रहेको तर नेपालमा भने विश्वास हराउँदै गएकामा उहाँले चिन्ता प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले त्यस अवस्थाबाट वीर अस्पतालको शुरुआत भएको र यसले नै स्वास्थ्य शिक्षाको शुरुआत गरेर अर्काे ऐतिहासिक काम गरेकामा प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा जस्तो नभई वर्तमान नेपालको चिकित्सा क्षेत्र धेरै बलियो भइसकेको धारणा व्यक्त गर्नुभयो । “हिजो हामीकहाँ धेरै अभाव थियो, मेरै मिर्गाैला प्रत्यारोपण (२०६४ साल साउन) भारतमा गरिएको थियो, अहिले नेपालमा सफलताका साथ प्रत्यारोपण हुने स्थिति आएपछि दोस्रोपटक नेपालमै गर्न पाएको छु ”, प्रधानमन्त्रीको भनाइ थियो । उहाँले बाहिरभन्दा सफलतापूर्वक र व्यवस्थित ढङ्गले नेपालमा उपचार पद्धतिको विकास भएको आफ्नै अनुभव सुनाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो मिर्गाैला प्रत्यारोपण गर्दा रु सात÷आठ लाख लागेकामा त्यही उपचार बाहिर भएको भए कम्तीमा रु २० देखि २५ लाख लाग्ने जिकिर गर्नुभयो । कोरोना महामारीका बेला पहिलो पटक हङ्कङमा स्वाब परीक्षण गराउनुपरेको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले अहिले १०० भन्दा बढी ठाउँबाट परीक्षण भइरहेको जानकारी गराउनुभयो ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बढिरहेको, विशिष्टीकृत अस्पताल बनेको, उपकरण उपलब्धताका हिसाबले समेत चिकित्सा क्षेत्र धेरै माथि बढिसकेको जनाउँदै उहाँले तीन वर्षमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई सरकारले पनि सबै हिसाबले आधुनिक र सुविधायुक्त बनाउँदै लगेको जानकारी दिँदैै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ज्ञान, शास्त्र, अक्षर, गणित र अङ्क नेपालमै उत्पन्न भएको हो, यसलाई फेरि पनि ज्ञानको उत्पादन र वितरणको केन्द्र बनाउनुपर्छ ।”