सुरक्षा भक्ता वितरणमा अनियमित गरी भ्रष्टाचारको अभियोगमा तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

सुरक्षा भक्ता वितरणमा अनियमित गरी भ्रष्टाचारको अभियोगमा तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भक्ता वितरणमा अनियमित गरी भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटको साविक लहँ गाविसका तत्कालीन सचिवविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालीन सचिव द्रोणप्रसाद पौडेलले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भक्ता निकासा गरी हिनामिना गरेको पाइएको छ ।

आयोगले पौडलविरुद्ध रु पाँच लाख ९३ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै आयोगले साविक लहँ गाविसमा नै कार्यरत दीपक सुनारले सामाजिक सुरक्षा भक्ताको गलत कागजात तयार पारी सरकारी स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सुनारविरुद्ध रु चार लाख ४० हजार ४०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । यसैगरी आयोगले गोरखा बारपाक सुलिकोट गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसमेत चार जनाविरुद्ध पनि विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोप उनीहरुमाथि लागेको छ । स्थानीय भाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणको लागि लागत अनुमानअनुसारको काम नगरेको तथा ठेकेदारसँग मिलेमतो गरी रकम हिनामिना गरेको पाइएको छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गङ्गाबहादुर घले, इन्जिनीयर सुजन अँगाईविरुद्ध रु तीन लाख ६८ हजार ४२० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै ठेकेदारहरु सोम उण्ड अमर कन्स्ट्रक्सनका अमरबहादुर गुरुङविरुद्ध पनि सोही बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रिसालले जानकारी दिनुभयो । रासस

यो पनि – नेकपा (माओवादी केन्द्र) वैधानिक छ : निर्वाचन आयोग

निर्वाचन आयोगले संवैधानिक तथा कानूनी शर्त पूरा गरेर दर्ता भएको नेकपा (माओवादी केन्द्र) को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पूर्ण बैठकले संवैधानिक तथा कानूनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकताका सम्बन्धमा प्रश्न उठाइ दिएको निवेदन उपर केही गरिरहन परेन भनी निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वमाओवादी नेताको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले (माओवादी केन्द्र) ले लामो समयदेखि महाधिवेशन नगरेको जनाउँदै वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिनुभएको थियो । भविश्वर पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष आफू नै रहेकाले वैधानिकता प्रदान गर्न भनी दिएको निवेदनका सम्बन्धमा आयोगले अन्य राजनीतिक दलको प्लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेकामा सचेत गराउँदै आयोगमा अभिलेखीकरण गर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि – प्रमुख प्रतिपक्षको विरोधपछि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११.०० बजे बैठक शुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिनुभएको थियो ।

नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले बताउनुभयो । सरकार बन्दा पुँजीगत खर्च रोकिएको बताउँदै उहाँले रकमको वितरण, योजना छनोटको आधार आदिबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो । पोखरामा एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको बताउँदै उहाँले बजेटको विनियोजन कानूनसम्मत नभएको टिप्पणी गर्नुभयो । प्रतिपक्षका अन्य सदस्यहरुले पनि उठेर बैठक अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले आजै १.०० बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । दिउँसो १.०० बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम भएपछि भोलि बिहान ११.०० बजेसम्मका लागि बैठक स्थगित भएको छ ।

यो पनि – साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिनुभयो ।

आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गर्नुभयो । “हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्”, उहाँले भन्नुभयो । गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रङ्गशालामा प्रत्यक्षरुपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बङ्गलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी भएको बताउनुभयो ।

नेपाली टोलीले अनुशासितरुपमा फाइनल खेल खेलेको जनाउँदै उहाँले खेलमा अनुशासन अत्यावश्यक भएको बताउनुभयो । “टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । देशको विकास हुनका लागि खेलकूदको मात्र नभई चौतर्फी विकास आवश्यक भएको उहाँको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रारम्भमा युवा मन्त्रालयका सचिव केदार न्यौपानेले मन्त्रालयले गरिरहेका विभिन्न गतिविधिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै उपाधि विजेता फुटबल टोलीका लागि रु एक करोड निकासा गरिएको बताउनुभयो । सम्मानितका तर्फबाट नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू चेम्जोङले सरकारले सम्मान गरेपछि आफूहरु थप उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सम्मान र पुरस्कृत हुने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने वाचा गर्नुभयो । “आगामी दिनमा पुरस्कृत र सम्मान गर्न बाध्य पार्ने गरी खेल्छौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा चेम्जोङले सरकारले नेपालमै १३औँ साफ फुटबल आयोजना गर्न पहल गरे सम्भव हुने तथा नपाली टोली उपाधि उचाल्ने गरी मैदानमा उत्रिने बताउनुभएको थियो । टोलीका खेलाडीलाई सरकारले जनही रु चार लाख तथा प्रशिक्षकलाई जनही रु दुई लाख प्रदान गरेको छ । सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । नेपालका लागि संजोक राई र विशाल राईले एकएक गोल गर्नुभएको थियो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलो पटक उपाधि जितेको थियो । पुरस्कृत हुनेमा चेम्जोङ, सञ्जोग, विशाल, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, रविशङ्कर पाशवान, तेज तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, दर्शन गुरुङ, भरत खवास र दीप कार्की तथा मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ल रहनुभएको छ ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा युवामन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो । यसअघि साफ यस वर्ष बङ्गलादेशमा आयोजना हुने तय थियो । प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भए पनि बङ्गलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो । बङ्गलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलङ्काले साफ फुटबल आयोजना गर्न दावी गरेका छन् । रासस