हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण सङ्क्रमितको सङ्ख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेन्डेन्ट डा टसी याञ्जुक लामाले जानकारी दिनुभयो ।

“केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना सङ¬्क्रमण पुष्टि हुन थालेको छ”, डा लामाले भन्नुभयो, “यस्तै प्रकारले सङ्क्रमितको सङ्ख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै सङ्क्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।” निषेधाज्ञा हटाएको एक सातामै जिल्ला अस्पतालमा लक्षणसहितका सङ्क्रतिमको सङ्ख्या बढेको उल्लेख गर्नुभएका डा लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

लक्षणसहितका चारजना कोरोना सङ्क्रमितको अीक्सजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडियु कक्षमा सारेको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सञ्चालन गरेको रानीवन आइसोलेशनमा राखिएका चार जना सङ्क्रमितको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आइतबार जिल्ला अस्पताल परिसरमा पालभित्र व्यवस्था गरिएको एचडियूमा सारिएको जिल्ला अस्पतालका डा लामाले बताउनुभयो । कोरोना परीक्षणको दर निकै साँघुरो बनाएको हुम्लामा आइतबार मात्रै पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिकामा नौ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाभर एक हजार ९८० जनामा परीक्षण गर्दा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ४३ जना सक्रिय सङ्क्रमित छन् भने अन्य सबैले कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।

यो पनि – फेरि बढ्दै सङ्क्रमण र मृत्यु

सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत हुनुहुन्छ । गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन् । आइसोलेशनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या बढी छ । दुई साता अघितिर अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ पुगेको छ । जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ । यसले केही दिन थामिएजस्तो देखिएको सङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गर्छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९.०१ प्रतिशत मात्र छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृत्युका घटना पुनः बढेको बताउनुभयो । “होम आइसोलेशनमा बसेका सङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृत्यु बढेको हो”, उहाँले भन्नुभयो । शुक्रबार दिउँसो मृत्युवरण गर्नुभएकी तमानखोला गाउँपालिका–१ की २३ वर्षीया युवतीलाई पनि अस्पताल ल्याउन ढिलाइ भएको स्रोत व्यक्ति घिमिरेले बताउनुभयो । अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कतिपय कोरोनाका बिरामी अक्सिजनको तह घटेर २५÷३० सम्म पुगेपछि बल्ल अस्पताल आउने गरेको सुनाउनुभयो । “होम आइसोलेशनमा बस्नुभएका सङ्क्रमित अक्सिजन तह ९२ भन्दा तल हुन थाल्यो भने तुरुन्त अस्पताल आइहाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य गम्भीर बनेपछि मात्र अस्पताल आएकै कारण कतिपय बिरामीलाई हरप्रयास गर्दा पनि बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले बताउनुभयो । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उहाँको भनाइ छ । “बीचमा केही कम भएको थियो, अहिले फेरि कोरोनाका सिकिस्त बिरामी बढेका छन्, यसबाट पनि समुदायस्तरमा महामारी कायमै रहेको देखिन्छ”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो, “जोखिम बढ्दो छ, प्रत्येक व्यक्ति सतर्क र जिम्वेवार नभएसम्म सङ्क्रमण रोकथाम हुँदैन ।”

होम आइसोलेशनमा रहेकालाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेष रुपमा चनाखो बन्न उहाँले सुझाव दिनुभयो । सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल ल्याउँदा कोरोनाको उपचार प्रभावकारी नहुने उहाँको भनाइ छ । स्वास्थ्य कार्यायलको आँकडा अनुसार बागलुङ नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका दुई, तमानखोला गाउँपालिकाका दुई र गलकोट नगरपालिकाको एक वडा कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । जिल्लाभरमा मध्यम जोखिम भएका ३६ र न्यून जोखिम भएका ३९ वडा छन् । पहिलो र दोस्रो लहरमा गरी हालसम्म २० हजार जनामा कोरोना परीक्षण गर्दा पाँच हजार बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा ६९ जनाले ज्यान गुमाइसकेका छन् । उपचारका क्रममा जिल्ला बाहिरका अस्पतालमा मृत्यु भएकाको सङ्ख्या जोड्दा त्यो अझ बढी हुन आउँछ । रासस