पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गर्नुभएको हो । सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताउनुभयो ।

पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रतिमृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ । पहिरामा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधानअनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने बताइएको छ । गत यही १७ र २४ गतेको पहिरामा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको राहत

यसैगरी ऋषिङ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत असार २४ गते पहिरामा परेर मृत्यु भएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही रु ५० हजारका दरले राहत रकम वितरण गरेको हो । ऋषिङ–७ निवासी ५२ वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोट निवासी ४० वर्षीय खुमबहादुर आलेको परिवारलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सोमबार राहत रकम हस्तान्तरण गर्नुभयो । बाढीपहिराले ऋषिङमा अकल्पनीय क्षति पु¥याएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पीडितको साथमा स्थानीय सरकार रहेको बताउनुभयो । बाढी पहिराले ऋषिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । साथै पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् अवरुद्धसमेत भएको छ ।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगमा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ज्यान मार्ने उद्योगमा कैद र जरिवाना फैसला तोकिएका प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यास नगरपालिका–१ स्थायी घर भई हाल व्यास–५ पतेनी बस्ने ४० वर्षीय पपे भन्ने पपेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०६० असार १२ गते आठ वर्ष कैद र रु ५२ हजारको जरिवानाको फैसला सुनाएको थियो ।

यसैगरी प्रहरीले अन्य चार फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय सुशील पोखरेल पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ जेठ २० गते चार दिन कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको थियो ।

लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादीकै सन्जु भन्ने ३४ वर्षीय कृष्णबहादुर धिमाल पनि पक्राउ परेका छन् । निजलाई पनि सोही दिन चार दिन कैद र रु एक हजार जरिवाना साथै रु २०० क्षतिपूर्तिको फैसला भएको थियो । लागुऔषध डाइजेपाम समेत मुद्दामा व्यास–१ बस्ने २२ वर्षीय सन्तोष कार्की पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र रु १२ हजार जरिवाना साथै रु ८०० क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

त्यस्तै लागुऔषध मुद्दामा व्यास–३ शान्तिनगर बस्ने ३७ वर्षीय लक्ष्मण दनुवार पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७६ भदौ ३ गते सात दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । रासस