मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन

मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ । बाढीपहिरो आएको लामो समय बित्दा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ । अहिलेसम्म सरकारको तर्फबाट कुनै राहतको व्यवस्था नभएको र व्यक्तिगतरूपमा मात्रै राहत प्राप्त भएको चामे गाउँपालिका–४ का स्थानीय बासिन्दा पल्साङ लामाले बताउनुभयो । “बाढीपहिरापछि कष्टकर र दयनीय अवस्थामा बस्न बाध्य भएका छौँ, घर बाढीपहिराले बगाएपछि अहिले टेण्ट र त्रिपालको बास भएको छ । गाउँबस्तीलाई हेर्दा मन भक्कानिन्छ । यस वर्ष मनाङमा सोच्दै नसोचेको कुरा भयो । एक्कासि बाढीपहिरो आएर घर बस्ती सबै लग्यो”, उहाँले भन्नुभयो, “यो समयमा सरकारी पक्षबाट सहयोग भएको छैन । राहत आएको छ त केवल विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट व्यक्तिगतरूपमै भए पनि राहत सामग्री लिएर आएका छन् ।”

उहाँले पुनः थप्दै भन्नुभयो, “न प्रदेश सरकारले सहयोग गरेको छ, न केन्द्र सरकारले । अहिलेसम्म जसोतसो चलिरहेको छ । बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारले कुनै चासो देखाएन । सरकार नै नभएको महसुस भएको छ ।” आफैँले खाद्यान्न ढुवानी गरेर ल्याउन सडक सञ्जाल पूर्णरूपमा टुटेको छ । यहाँका बाढीपीडित केही सामुदायिक भवनतिर र केही त्रिपाल टाँगेर बस्ने गरेका छन् । सरकारको सहयोग नपाएपछि यहाँका नागरिक निराश हुन पुगेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपहिरापीडितलाई सरकारीस्तरबाट सक्दो सहयोग गरेको बताउनुभएको छ । बाढीपहिरापीडितका लागि व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै पनि बाढीपहिरापीडितलाई छुट्याएका छैनौँ । व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गर्दै आएका छौँ । जिल्लामा खाद्यान्न सङ्कटको सम्भावना देखिएको छ । व्यक्तिगत र सरकारबाट पनि दोहोरो हुने गरेर कसैलाई पनि राहत प्रदान गरिएको छैन । सबैलाई समानरूपले राहतको व्यवस्था मिलाएर प्रदान गरेका छौँ ।”

गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले अर्बौँको भौतिक क्षति पु¥याएपछि यतिबेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ । नासों, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुवैबाट क्षतिग्रस्त भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ । रासस

यो पनि – नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई आज बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

ओभरटेक नगरिकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको सङ्केतलाई पूर्ण पालना गरी सवारी चलाउन सवारी चालकलाई प्रहरीले अनुरोध गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाको समयमा पहिरो खसी पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । सवारी चालकले जथाभावी ओभरटेक गर्दा पहिरो पञ्छाइ सडक खुलाइए पनि घण्टौँसम्म जाम हुने समस्या छ ।

यो पनि – पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध

भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ ।

डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिइए पनि सेना समेत सफल हुनसकेको छैन । सेनाको पर्वतमा रहेको केवलजङ्ग गुल्मले म्याग्दीबाट विस्फोटक पदार्थ ल्याएर सोमबारदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको छ । सोमबार दिउँसो र साँझ दुईपटक विष्फोट गराइएको भए पनि ढुङ्गा अझै नफुटेका कारण पन्छाउन नसकिएको हो ।

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि खुलाउन सहज हुने भए पनि सफल हुन नसकिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि दिनभर प्रयास गरिने भएको छ । अहिले यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षाले झनै समस्या भएको खड्काले बताउनुभयो । वर्षा रोकिएपछि थप विस्फोट गराएपछि सम्भवतः आज साँझसम्म एकतर्फी सञ्चालनमा ल्याउन सकिने अनुमान प्रहरीको छ ।

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङअन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि कामचलाउ वैकल्पिक सडकका रूपमा साना सवारी साधनले अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् भने ठूला सवारी गुड्न नसक्दा मालवाहक सवारी बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका छन् । रासस

यो पनि – पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गर्नुभएको हो । सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताउनुभयो ।

पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रतिमृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ । पहिरामा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधानअनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने बताइएको छ । गत यही १७ र २४ गतेको पहिरामा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको राहत

यसैगरी ऋषिङ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत असार २४ गते पहिरामा परेर मृत्यु भएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही रु ५० हजारका दरले राहत रकम वितरण गरेको हो । ऋषिङ–७ निवासी ५२ वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोट निवासी ४० वर्षीय खुमबहादुर आलेको परिवारलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सोमबार राहत रकम हस्तान्तरण गर्नुभयो । बाढीपहिराले ऋषिङमा अकल्पनीय क्षति पु¥याएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पीडितको साथमा स्थानीय सरकार रहेको बताउनुभयो । बाढी पहिराले ऋषिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । साथै पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् अवरुद्धसमेत भएको छ ।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगमा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ज्यान मार्ने उद्योगमा कैद र जरिवाना फैसला तोकिएका प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यास नगरपालिका–१ स्थायी घर भई हाल व्यास–५ पतेनी बस्ने ४० वर्षीय पपे भन्ने पपेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०६० असार १२ गते आठ वर्ष कैद र रु ५२ हजारको जरिवानाको फैसला सुनाएको थियो ।

यसैगरी प्रहरीले अन्य चार फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय सुशील पोखरेल पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ जेठ २० गते चार दिन कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको थियो ।

लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादीकै सन्जु भन्ने ३४ वर्षीय कृष्णबहादुर धिमाल पनि पक्राउ परेका छन् । निजलाई पनि सोही दिन चार दिन कैद र रु एक हजार जरिवाना साथै रु २०० क्षतिपूर्तिको फैसला भएको थियो । लागुऔषध डाइजेपाम समेत मुद्दामा व्यास–१ बस्ने २२ वर्षीय सन्तोष कार्की पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र रु १२ हजार जरिवाना साथै रु ८०० क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

त्यस्तै लागुऔषध मुद्दामा व्यास–३ शान्तिनगर बस्ने ३७ वर्षीय लक्ष्मण दनुवार पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७६ भदौ ३ गते सात दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । रासस