मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सात ताल बन्ने

मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सात ताल बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सातवटा ताल निर्माण गरिने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत सो ताल निर्माण गर्न वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा रु ३३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश भौतिक पूवार्धार विकासमन्त्री रामेश्वर फुयाँलले थाहा नगरपालिका–४ सीमभञ्ज्याङ क्षेत्रको सौन्दर्यीकरण र सीमसार क्षेत्र संरक्षणसहित सडक किनारामा ताल निर्माण गर्न लागिएको बताउनुभयो । सीमभञ्ज्याङको करीब दुई हजार ५०० मिटरको उच्च क्षेत्रबाट अटुटरुपमा बगिरहने पानीलाई बाँध बनाएर ताल निर्माण गर्नेगरी प्रदेश सरकारले प्रतिवेदन तयार पारिसकेको छ ।

गत २९ कात्तिकमा मन्त्रालयका सचिव सञ्जीव बराल, भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन–१का प्रमुख बालमुकुन्द श्रेष्ठलगायत प्राविधिक टोलीसहित मन्त्री फुयाँलले स्थलगत अवलोकन गर्नुभएको थियो । सोही क्रममा उहाँले डिभिजनका प्रमुख रिजाललाई सीमभन्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न वैज्ञानिक अध्ययन गर्न आग्रह गर्नुभएको थियो ।नेकपा (एमाले) थाहानगर कमिटीले सीमभञ्ज्याङ, दामन, त्रिवेणीधाम, राष्ट्रिय विभूति उद्यान, महाकवि मार्ग, ढुङ्गेधारा, राजकुलो पुनःनिर्माणलगायतका पर्यटकीय पूर्वाधारको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न सङ्घ तथा प्रदेश मन्त्रालयमा पहल गर्दै आएको थियो ।

अहिले स्थानीयबासी उत्साहित भएका छन् । हालसम्म सीमभञ्ज्याङमा पर्वतीय तालका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयबाट रु सात लाख, शहरी विकास मन्त्रालयबाट रु तीन लाख र थाहाबाट रु तीन लाख गरी रु १३ लाख खर्च भइसकेको छ । हाल दुई कृत्रिम ताल रहेकामा सो समेतलाई पुनर्संरचना गरी सात ताल निर्माण गर्न लागिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालले जानकारी दिनुभयो ।

समुद्र सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा रहेको सीमभञ्ज्याङमा पर्वतीय सात ताल निर्माणसँगै ‘घुम्न जाउँ सीमभञ्ज्याङ’ कार्यक्रम सञ्चालन गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले तयारी गरेको छ । स ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र ब्योमकुट पर्वतको खोँचस्थित सीमसार क्षेत्रमा रहेको छ । यस वरपर सयौं वर्षदेखिका पुराना खस्रुका रुख रहेका छन्, भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रङ्गीविरङ्गी गुराँसका साथै बहुमूल्य जडीबुटी रहेका छन् ।

यो पनि – तङ्ग्राममा २८० किलोको नगरा !

काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उहाँको भनाइ छ । स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताउनुभयो । यहाँ पाइने भैँसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो ।

नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गर्नुभएको थियो । नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । परम्परागत आरान प्रविधिबाट नगरा निर्माण गरिएको कालीगढ रवीलालले बताउनुभयो । यति ठूलो नगरा बनाउन पाउँदा खुशीको अनुभव भएको उहाँले सुनाउनुभयो । कालीगढको मेहनत र शिल्पले विशाल नगरा बनाउन सम्भव भएको अध्यक्ष आश्रमले बताउनुभयो । उहाँका अनुसार अर्को ठूलो नगरा काठमाडौँको हनुमानढोका परिसरमा छ । मल्लकालमा बनेको उक्त नगराको गोलाइ साँढे छ फिट छ । अक्षयकोषद्वारा निर्मित नगरा सात फिट गोलाइको भएकाले ‘देशकै ठूलो’ भनेर दाबी गरिएको हो । नगराको उचाइ भने छ फिटभन्दा केही बढी छ ।

“नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थप्ने हाम्रो विश्वास छ”, अध्यक्ष आश्रमले भन्नुभयो,“यसले नेपाली मौलिक लोकवाद्यप्रतिको सम्मान पनि झल्काउँछ ।” दशैँ, चैते दशैँ, सरस्वती पूजा आदि पर्व र विशेष दिनमा उक्त नगरालाई बजाइने भएको छ । लोकबाजा सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालू आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च भएको छ । बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षयकोषले जनाएको छ ।

संरचना निर्माणसँगै लोकबाजा सङ्कलन र सङ्ग्रहका लागि आउँदो आवका लागि पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ । विसं २०६६ मा स्थापित अक्षयकोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको छ ।

सङ्ग्रहालय निर्माणका लागि अक्षयकोषले तङ्ग्राममै तीन रोपनी जग्गा व्यवस्थापन गरेको थियो । अक्षयकोषले वर्सेनी गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ । गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ । अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तरण गरिने अध्यक्ष आश्रमले बताउनुभयो । अक्षयकोषको चल÷अचल गरी रु २० लाखबराबरको सम्पत्ति छ । रासस