काठमाडौं,२९ असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,०५८ पीसीआर र ३,९५४ एन्टीजेन परीक्षणमा २,३९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ४५,०७८पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि – अदालतले राजनीतिक विषयमा हात हालेको छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गर्नुभएको छ । देशवासीका नाममा आज सम्बोधनका क्रममा उहाँले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भन्नुभयो, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ ।
संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’ सर्वाेच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आफ्नो प्रधानमन्त्रित्वको अन्तिम दिन उहाँले पहिला पनि आफू सरकारबाट बाहिरिएको र जनताका मतबाट पुनः सरकारको नेतृत्वमा पुगेको स्मरण गर्दै कहिलेकाहीँ जनताका अपेक्षा र संसदीय अंकगणितका बीचमा विरोधाभास हुने भएकामा अब राज्यका अनय निकायका फैसलामा पनि विरोधाभास देखिने स्थिति आएको भनाइ व्यक्त गर्नुभयो ।
“मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।”
यो पनि – माओवादीले सरकार सञ्चालन सम्बन्धमा कांग्रेससँग छलफल गर्ने
नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “आज कस्तो मन्त्रिमण्डल निर्माण गर्ने, कति जना सहभागी हुने, कुनकुन पार्टी समावेश हुने भन्ने बारेमा एकपटक छलफल गरेपछि मात्र यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले हामीले अहिले नै सरकारमा सहभागी हुनेको नामबारे टुंगोमा पुगेको छैनौँ”, उहाँले भन्नुभयो ।
सरकार सञ्चालनका विषयमा अध्यक्ष दाहालले देउवासँग छलफल गर्ने र त्यसका आधारमा आवश्यक निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । माओवादीले सम्पूर्ण राजनीतिक दललाई संविधान र लोकतन्त्रका पक्षमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।
एक सय ४६ सांसदले दायर गरेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो । माओवादीले अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण भनी स्वागत गरेको छ । फैसलाले संविधान र लोकतन्त्रको रक्षा, स्वेच्छाचारिता र निरंकुशतन्त्रको अन्त्य गर्न महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले संविधान र लोकतन्त्रको रक्षानिम्ति सङ्घर्ष गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति शोक व्यक्त गर्दै पार्टी स्थायी समिति सदस्य पम्फा भुसालकी स्व माताप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । रासस
प्रतिक्रिया