काठमाडौँ, २९ असार । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ बिन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ ।
कूल २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर रु पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूहको शेयर ६६.१९ बिन्दुले घट्दा अन्य १२ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बीमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४५ करोड ४७ लाख ४७ हजार १८८ बराबरको कारोवार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३५ लाख ३३ हजार २६८, एनआइसी एशिया बैंक रु १९ करोड ९५ लाख १९ हजार ८९१, निर्धन उत्थान लघुवित्त रु १९ करोड ९० लाख ६१ हजार ९८० र नबिल बैंक रु १८ करोड ३० लाख ९० हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रागेसिभ फाइनान्स ६.५९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए । यसैगरी, सानिमा लार्ज क्याप फण्ड ३.०८, सिइडिबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आइएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए । रासस
यो पनि – अदालतको फैसलाको गठबन्धनद्वारा स्वागतः सानो आकारको मन्त्रिपरिषद् बन्ने
पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ । अदालतले मङ्गलबार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गरिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । उहाँले मङ्गलबार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरुबीच कुराकानी भएको बताउनुभयो ।
बैठकपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अदालतले आज गरेको फैसला स्वागत गर्दै देशका सामु रहेका समस्या समाधान गर्ने गरी गठबन्धन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नयाँ सरकारलाई प्रभावकारी बनाउँदै देश र जनताका समस्यालाई समाधान गर्ने गरी आफूहरु अगाडि बढ्ने जसपा नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईको भनाइ थियो । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले प्रतिनिधिसभा पुनःस्थापना प्रक्रियामा सहभागी सबैलाई समेटेर अधिकतम सहमति कायम गरी अगाडि बढ्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकार गठनलगायत विषयमा मङ्गलबार शीर्ष नेताबीच पुनः छलफल हुने र आवश्यक निर्णय हुने छ ।
सो बैठकमा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान र लोकतन्त्र रक्षाको सङ्घर्षमा सधैँ सहयोग रहने जनाउँदै जनताको समस्या समाधान गर्ने गरी अगाडि बढ्न पूर्वप्रधानमन्त्री देउवालाई शुभकामना दिनुभएको थियो । बैठकपछि पूर्वप्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै एमाले नेता रघुजी पन्तले भन्नुभयो, “संविधान, लोकतन्त्र र विधिका लागि म सधँै लड्दै आएको छु । मेरो साथ त्यसमा सधैँ रहन्छ । फैसलापछि परिस्थिति बदलिएको छ । मेरो पार्टीमा पनि एकताको प्रक्रिया अगाडि बढेको छ ।” बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत नेताको उपस्थिति थियो । रासस
प्रतिक्रिया