जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत आज टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउनुहुने छ । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी बन्दैछन् । उहाँले सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गर्नुभएको थियो ।
टोकियो ओलम्पिकमा सिंहसहित पौडीबाट एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले सहभागिता जनाउनु हुनेछ । सिंहले महिला १०० सय फ्रि स्टाइल, एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा, परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनु हुनेछ ।
यस्तै प्रशिक्षकहरू पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल समेत टोकियो ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियलसहित कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
यो पनि -ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने
जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्नुहुने भएको छ । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन सहभागी हुने निर्णय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रथम महिलाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन लागेको सन् २०१२ पछि अहिले पहिलो पटक भएको क्योयोदो न्युजले उल्लेख गरेको छ । अहिले हुन लागेको टोकियो ओलम्पिकका आयोजकहरूले उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेन नै सहभागी हुने अपेक्षा गरे पनि कोरोनाभाइरसको महामारीका कारण उहाँ सहभागी नहुनु हुनेभएको जनाइएको छ ।
यसअघि सन् २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले हुन लागेको हो । ओलम्पिक प्रतियोगिता आयोजना गरिएको स्थलमा अहिले आवत जावत खुल्ला गरिसकिएको छ । प्रतियोगितास्थलमा विदेशी तथा स्वदेशी पाहुना तथा खेलाडी र उनीहरूको समूहलाई स्वागत गर्न थालिएको छ । आउनेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ । यही जुलाई २३ मा सुरु हुने ओलम्पिक प्रतियोगिता अगस्ट ८ सम्म सञ्चालन हुने तालिका रहेको छ । प्रतियोगितामा २०५ देशका खेलाडी सहभागी हुने आयोजकहरूले जानकारी दिएका छन् ।
प्रतिक्रिया