जिल्लाकै पहिलो नगर अस्पतालको भवन निर्माण

जिल्लाकै पहिलो नगर अस्पतालको भवन निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन हो । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा विसं २०७३ मा निर्माणकार्य शुरु गरिएको सुविधासम्पन्न भवन तयार भएको गलकोट प्राथमिक स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका–५ का वडाध्यक्ष नारायणध्वज मल्लले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउन नगरपालिकाले सबै तयारी पूरा गरेको र स्वास्थ्य मन्त्रालयले स्वीकृत मात्रै गर्न बाँकी रहेको उहाँको भनाइ छ । “अहिले प्राथमिक स्वास्थ्य केन्द्रकै हिसाबले सेवा दिइरहेका छौँ तर नगर अस्पताल निर्माणका लागि जग्गा र भवन लगभग हामीलाई पुग्छ, सरकारको पनि एक स्थानीय तह एक अस्पतालको नीति छ”, मल्लले भन्नुभयो, “जिल्लाको गलकोट नपासहित ताराखोलाका स्थानीयवासीलाई समेत नगर अस्पताल निर्माणपछि सहज हुनेछ ।” अहिले केन्द्रमा निकै पुरानो जीर्ण भवन मात्रै रहेकाले सेवा दिन समस्या भइरहेको छ । अब सुविधासम्पन्न भवन थपिएको र हस्तान्तरण हुन बाँकी भए पनि उपभोग गर्न मिल्ने सहमति भएको मल्लले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको समयमा कोरोना अस्पतालका रूपमा समेत रहेको स्वास्थ्य केन्द्रले ६४ सङ्क्रमितलाई भर्ना गरी उपचार गरिसकेको छ । भवन नहुँदा आँखा अस्पतालको भवनबाट उपचार सेवा प्रदान गर्नुपर्ने बाध्यता अब सुविधासम्पन्न भवन प्रयोगमा ल्याएसँगै अन्त्य हुने स्वास्थ्य केन्द्र तथा प्रस्तावित नगर अस्पतालका डा निक्सन डङ्गोलले जानकारी दिनुभयो । “कोरोना महामारीमा भवन अभावमा आँखा अस्पतालको भवनबाट सङ्क्रमितलाई सेवा दिएका थियौँ, अहिले अस्पतालमा कोरोना सङ्क्रमित भर्ना हुनुभएको छैन”, डा डङ्गोलले भन्नुभयो, “अस्पताल भवन तयार भएको छ, अब सहज होला, तर नगर अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति थप गर्नुपर्ने छ, जसका लागि नगरपालिकाले सबै कागजात मन्त्रालय र विभागमा पठाइसकेको छ, स्वीकृत भएर आएमा जिल्लाकै पहिलो नगर अस्पताल यही हुनेछ ।”

विसं २०७३ मङ्सिरमा दुई वर्षमा सक्ने गरी अमिट विल्डर्सले निर्माण थालेको उक्त भवन तीन वर्ष ढिलो गरी सम्पन्न भएको वडाध्यक्ष मल्लले जानकारी दिनुभयो । उक्त भवन रु पाँच करोड ४५ लाखको लागतमा निर्माण भएको हो । अहिले प्राथमिक स्वास्थ्य केन्द्र आठ शय्याको भए पनि भवन निर्माणपछि १० शय्यामा सञ्चालन आउने छ । नगर अस्पताल स्वीकृत भएमा १५ शय्यामा सेवा दिनेछ ।

अस्पतालको भवन बने पनि अस्पतालका लागि उपकरण तथा फर्निचरको काम भने बाँकी रहेको छ । नगरपालिकाले आकस्मिक सेवामा उपकरण तथा सेवा थप र जेनेटर खरिदका लागि रु २० लाख विनियोजन गरेको छ । यस्तो विषम परिस्थितिमा भवन समयमा नबन्दा उपचारमा समस्या भएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । अहिले सेवा दिन मिल्ने गरी भवन प्रयोग गर्ने तयारी छ ।

नगर अस्पतालमा प्राथमिक स्वास्थ्य केन्द्रका लागि तोकिएकै दरबन्दी छ । दरबन्दी बढाउनसमेत पहल भइरहेको छ । अहिले केन्द्रमा दरबन्दीका चिकित्सक नभएको अवस्था छ । अहिले दुई चिकित्सक भए पनि दुवै करारमा छन् । केन्द्रमा एक मेडिकल अधिकृत, एक स्टाफ नर्स, तीन अनमी, तीन अहेव र एक कार्यालय सहयोगीको मात्रै दरबन्दी छ । गलकोट नगर अस्पतालका रूपमा सेवा दिनका लागि भवन पर्याप्त भए पनि दरबन्दी र उपकरण थप गर्न नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । रासस