देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय : ओली सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्च विवरण सार्बजनिक गर्ने

देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय : ओली सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्च विवरण सार्बजनिक गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । शेर बहादुर देउबा नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ । मंगलबार साझा प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

हालसम्म कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले बताए । मन्त्रि कार्की सरकारका प्रवक्ता समेत हुन्। बैठकले आगामी चैत मसान्तभित्र खोप लगाउनयोग्य सबैलाई खोप सुनिश्चित गर्ने समेत निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

यो पनि – युथ फोर्सले हजारौँ बाइक र गाडीले ‘स्कर्टिङ’ गरेर ओलीलाई बालुवाटार देखि बालकोट पुर्‍याउने

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओललाई युथ फोर्सले आज बालुवाटार देखि स्कर्टिङ गरेर आफ्नो निवास बालकोट पुर्याउने भएको छ । ओली करिब साढे तिन वर्षे कार्यकाल पछी आज सरकारी निवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोट जाने भएका हुन्।

एमालेको भातृ संगठन युथ फोर्सले हजारौँ बाइक,गाडीले स्कटिङ्ग गर्दै बालुवाटारबाट हुदै भक्तपुरको कौशलटार देखि बालकोट निवास सम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन संगठनले सबै युवाहरुलाई आमन्त्रण गरेको थियो । एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतले पनि आज बुधबार बिहान ११ बजे बालुवाटारमा उपस्थित हुन युवाहरुलाई आह्वान गरेका छन । हिजो मंगलबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो।

यो पनि – शेर बहादुर देउवाले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछी राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेकी थिइन । गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र देउवा दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् ।

यो पनि – कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ : नेम्वाङ

काठमाडौँ, २९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्वतमान मन्त्री वसन्त नेम्वाङलाई बिदाइ गरेको छ । मन्त्रालयमा आयोजित एक समारोहमा सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गर्नुभएको हो । कार्यक्रममा निर्वतमान मन्त्री नेम्वाङले संसदीय प्रणाली र दलीय व्यवस्थाभन्दा बाहिर गएर अदालतले फैसला गरे पनि कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाध्यात्मकरूपमा सरकारबाट बाहिरिनुपरेको बताउनुभयो ।

उहाँले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत अदालतको फैसला आएको भए पनि त्यसलाई स्वीकार गरेर आफूहरू सरकारबाट अलग भएको उल्लेख गर्नुभयो । परमादेशभन्दा जनादेश नै ठूलो हुने भएकाले सबै विषयको निरुपण समेत जनताले नै गर्ने उहाँको भनाइ थियो । जनताले गर्ने फैसला नै सबैभन्दा ठूलो विषय हुने मन्त्री नेम्वाङको भनाइ थियो । अदालतको अनपेक्षित फैसलापछि आफूले यस मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुपरेको उल्लेख गर्दै उहाँले पुनःअदालतकै त्यस्तै फैसलापछि बाहिरिएको बताउनुभयो । उहाँले जे जति दिन काम गर्न पाइयो, त्यसमा गौरवका साथ कार्यसम्पादन गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव बस्यालले मन्त्रालयले अत्यन्तै परिपक्व नेतृत्व र अभिभावक पाएको भन्दै छोटो समयमा पनि प्रभावकारी कार्यसम्पादन भएको बताउनुभयो । परिस्थिति फेरिएकाले यसलाई सहजरुपमा लिएर आगामी दिनमा कार्यसम्पादन गर्ने उहाँको भनाइ थियो । सो अवसरमा मन्त्रालय मातहतका विभाग, प्राधिकरणको, संस्थान र समितिका पदाधिकारीको उपस्थिति थियो । रासस

यो पनि – पाँच मन्त्रालय सम्हाल्दा नया अनुभव महसुस भयो : मन्त्री श्रेष्ठ

काठमाडौँ, २९ असार । पाँच मन्त्रालयको नेतृत्व समाल्नुभएका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजबाट बिदाइ हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उहाँलाई बिदाइ गर्नुभएको हो । मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपूर्ण काम गर्न सफल हुनुभएको छ । बिदाइ समारोहमा उहाँले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उहाँले यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गर्नुभएको मन्त्री श्रेष्ठले त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल हुनुभएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताउनुभयो । उहाँको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो । मन्त्री श्रेष्ठले गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । गत पुस १२ गतेबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी नियुक्त भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताउनुभयो । “सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भाव भएन, जति काम सम्पन्न गरे, त्यसमा मलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो, “पाँच वटा मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताउनुभयो । तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफूलाई जानकारी भएको बताउनुभयो ।

युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय रामप्रसाद थपलिया र सुरेश आचार्यले बिदाइ भएर जान थाल्नुभएका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गर्नुभयो । रासस

यो पनि – प्रधानमन्त्री ओलीको सम्बोधन ः असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट गर्नुभयो । सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका सन्दर्भमा ओलीले सम्बोधन गर्नुभएको हो ।

उहाँले कोरोना महामारी तथा बाढीपहिराबाट जीवन गुमाएका प्रति श्रद्धाञ्जलि दिँदै सरकारले बिरामी एवं घाइते सबैको निःशुल्क उपचार गराइरहेको तथा पुनःनिर्माण र अन्य पूर्वाधार तथा सामाजिक विकासका लागि स्पष्ट योजना र कार्यक्रमसहित अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश कोभिड महामारीबाट आक्रान्त भइरहेका बेला कत्ति पनि समय खर्च नगरेर एकताका लागि महामारी रोकथाम र राष्ट्रको विकासका काम गर्नुपर्नेमा मुलुकमा असझदारी र द्वन्द्व सिर्जना गरेर मुलुकलाई असफल बनाउने गम्भीर षड्यन्त्रप्रति सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले निराश र उत्तेजनामा जान आवश्यक नभए पनि सर्वोच्च अदालतको सोमबारको फैसलको परिणाम र परिणति देखिँदै जाने विचार व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय सार्वभौमसत्ता र देशको स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो नहुन नसकी राजनीतिलाई विपरीत दिशातर्फ लान खोजिएको आरोप लगाउँदै प्रतिनिधिसभाको बाँकी कार्यकाल सफल होस् र समयमा निर्वाचन होस् भन्ने आफ्नो चाहना भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतका राजनीतिक दृष्टान्तका आधारमा पात्र र प्रवृत्तिलाई चिन्न गाह्रो नहुने भएकाले लोकतन्त्र र विधिका शासनमा कुनै दरार त आउने होइन भन्ने प्रश्न खडा भएको टिप्पणी गर्नुभयो ।

आफूले लोकतन्त्रका लागि सात दशक व्यतीत गरेको स्मरण गर्दै उहाँले राजनीतिकबाहेक अराजनीतिक खालका अनुचित हतकण्डा आफूबाट कल्पनासमेत हुन नसक्ने स्पष्ट गर्नुभयो । “मेरो मनमस्तिष्कमा देशको, सुरक्षा, सार्वभौमसत्ता र स्वाधीनता, विकास, सुशासन, सभ्य समाज, सामाजिक न्यायसहितको समृद्धिबाहेक अर्को कुनै विषय छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई सुन्दर र समृद्ध बनाउन लोकतान्त्रिक प्रणाली र त्यसअनुसारको इमान्दार अठोट चाहिन्छ, योबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म सरकारमा जाँदा वा बाहिरिँदा जनतालाई सर्वाधिकारसम्पन्न ठान्छु तर आज म अदालतको आदेशबाट बाहिरिएको छु । मेरो लोकतन्त्रप्रतिको निष्ठा र आशा तथा देश र जनता प्रतिको माया कमजोर हुने छैन ।’