देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा बैतडीमा दीप प्रज्वलन

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा बैतडीमा दीप प्रज्वलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् । नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुशीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष कपिल केसीले बताउनुभयो ।

यस्तै सुदूरपश्चिमको चेलो देशकै प्रधानमन्त्री भएको खुसीयालीमा आफूहरुले दीप प्रज्वलन गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो । सर्वोच्चको फैसलाले लोकतन्त्रको विजय भएको माओवादी केन्द्रका दोगडाकेदार गाउँपालिका अध्यक्ष मानसिंह ऐरीले बताउनुभयो । दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका तरुण दल, नेपाल विद्यार्थी सङ्घका साथै नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएलका पदाधिकारीको समेत सहभागिता थियो । सर्वोच्च अदालतले सोमबार संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलबार साँझ नै शपथग्रहण गरिसक्नुभएको छ । देउवा पाँचौँपटक देशको प्रधानमन्त्री बन्नुभएको हो । रासस

यो पनि – नवनियुक्त प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यो पनि – उज्यालो नेपालका अभियानकर्मीलाई अर्थ मन्त्रालयको जिम्मा

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।

यसअघि विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लाग्नुभएको छ । ऊर्जामन्त्रीका रुपमा उहाँको कार्यकाल स्मरणयोग्य छ । चर्को विद्युत्भार कटौतीका मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन उहाँले प्रभावकारी कदम चाल्नुभएको थियो । तत्कालीन नेकपा९माओवादी०ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाउनुभएका शर्मा प्रभावशाली नेता हुनुहुन्छ ।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मनुभएका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो । उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गर्नुभएको थियो । शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गर्नुभएको छ । रासस