खैरहनी नगरपालिकामा निःशुल्क कृषि बीमा

खैरहनी नगरपालिकामा निःशुल्क कृषि बीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क कृषि बीमा गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख लालमणि चौधरीले बताउनुभयो ।

हावाहुरी, असिनापानीका कारण प्रत्येक वर्षजसो क्षति बेहोर्दै आएका यहाँका किसानलाई राहतस्वरूप बीमा कार्यक्रम लागू गरिएको हो । प्रकृतिलाई कसैले रोक्न नसक्ने भन्दै प्रमुख चौधरीले भन्नुभयो, “आफ्नो बालीको बीमा गरे, त्यस्ता घटनाबाट हुने क्षतिमा राहत मिल्छ ।” बीमाले जोखिमबाट किसान मुक्त हुने नगरप्रमुख चौधरीको विश्वास छ ।

दुई वर्षअघि असिनापानी र हावाहुरीका कारण सयौँ किसानको बालीमा क्षति पुगेपछि नगरपालिकाले मूल्याङ्कन गरेर राहत उपलब्ध गराएको थियो । बीमा कार्यक्रम ल्याएपछि पहिलो चरणमा १२ किसानले प्रिमियम रकम पाएका छन् । प्रिमियम रकम प्रदान गरेको थाहा पाएपछि थप केही किसानले समेत बीमा गरेको कागजपत्र पेश गरेका छन् । बाह्र किसानलाई बीमा गरेवापत रु ४५ हजार उपलब्ध गराइएको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार तरकारी, फलफूल, खाद्यान्न आदि बालीमा बीमा गर्दा सङ्घीय सरकारबाट किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने व्यवस्था रहेकामा खैरहनी नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्ने प्रिमियम शुल्कमा पनि अनुदान दिएर किसानले निःशुल्क बीमा गर्न सक्ने व्यवस्था मिलाएको हो । चालु आवमा प्रिमियम अनुदानमा रु चार लाख विनियोजन गरिएको थियो । सो बजेट आगामी आवका लागि वृद्धि गरी रु १० लाख यस कार्यक्रमलाई छुट्याइएको कृषि शाखा प्रमुख अर्यालले बताउनुभयो । विभिन्न कारणबाट बालीमा हुने क्षति असरलाई न्यूनीकरण गर्ने तथा किसानलाई बाली बीमाप्रति आकर्षित गर्ने नगरपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो । रासस

यो पनि – कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ । निर्देशनालयको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।

किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ थ्रेसर, बताउने पङ्खा, रिपर, रोटाभेटर, हिले चक्का, सिड ड्रिल र डिस्क हेरोलगायत सामग्री अनुदानमा उपलब्ध गराइएको छ । किसानको मागअनुसार कृषियन्त्र तथा उपकरण अनुदानमा उपलब्ध गराइएको निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताउनुभयो ।  “कृषि यान्त्रिकीकरण अनुदान परिचालन कार्यविधि, २०७६ को अनुसूची ५ मा रहेको मूल्याङ्कनका सूचकका आधारमा मूल्याङ्कन गरी किसानलाई यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “सहकारी, समूह, फार्म र व्यक्तिलाई अनुदान दिइएको छ ।”

यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराउनका लागि उपभोक्ताको किसिम, सामाजिक समावेशी, खेतीको व्यावसायिकता एवं खेती गरिएको क्षेत्रफल, उपलब्ध भौतिक पूर्वाधार (सिँचाइ, सडक, विद्युत्) प्राङ्गारिक खेती गरिरहेको, माग गरिएका सामग्रीको उपयोग, उपभोक्ताको अनुभव र लाभान्वित परिवार सङ्ख्यालाई आधारका रूपमा लिइएको छ । यन्त्र तथा उपकरणका लागि छनोटमा परेका किसानको अवस्थाका बारेमा जानकारी लिनका लागि अनुगमन गरी सम्झौताबमोजिम अनुदान रकम दिइएको छ । यसैगरी कैलालीका १९८ किसानलाई यान्त्रिकीकरणका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

“कृषिमा यान्त्रिकीकरणलाई बढावा दिई प्रतिएकाइ उत्पादनमा वृद्धि तथा उत्पादन लागत घटाउने लक्ष्य लिएका छौँ”, कार्यालय प्रमुख जोशीले भन्नुभयो, “युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण एवं प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षामा पहुँच पु¥याउनु प्रमुख ध्येय रहेको छ ।” उहाँका अनुसार यसबाट स्वरोजगारका अवसरसमेत सिर्जना हुनेछन् । युवाहरुले स्वदेशमै रोजगार पाउनेछन् । बालीअनुसार खेत तयारीदेखि चुटानीसम्म, खाद्यान्न बाली, तरकारी बाली र फलफूल उत्पादनमा यान्त्रिकीकरणको प्रयोग हुन थालेकाले श्रमसमेत निकै कम खर्च गर्नुपर्ने भएको छ । किसानले कम लागतमा बढी उत्पादन लिई आम्दानीमा बढोत्तरी हुन्छ ।