समृद्धि र विकासका कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

समृद्धि र विकासका कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिनुभएको छ । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, हिंसात्मक राजनीतिमा रहेका समूहसँग वार्ता गरी मूल प्रवाहमा ल्याउने सहमति तथा राष्ट्रियताको थप सबलीकरणका क्षेत्रमा ओलीको कार्यकाल सम्झनलायक देखिन्छ ।

गत निर्वाचनमा वाम गठबन्धनको माध्यमबाट समृद्धि र स्थायित्वको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको नाराका आधारमा सुविधाजनक बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमा पुगे पनि पार्टीभित्रको विभाजन र त्यसपछि उत्पन्न घटनाक्रमले ओली प्रतिपक्षमा पुग्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सोमबार सर्वाेच्च अदालतले पुनस्र्थापनासहित प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली

विसं २०७४ फागुन ३ गते प्रधानमन्त्रीका दोस्रो कार्याकालका लागि नियुक्त संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)का अध्यक्ष ओलीकै कार्यकालमा कोभिडविरुद्धको खोप निःशुल्क लगाउन अभियान शुरु भएको छ भने रेलमार्ग, सुरुङमार्गजस्ता ठूला पूर्वाधार विकासको आरम्भ भएको छ । गल्छी–रसुवागढी–केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण गर्न नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड कर्पोरेशन लिमिटेड चाइनाबीच सम्झदारीपत्र सम्पन्न भएको छ । नेपाल–भारत सीमादेखि भारतको गोरखपुरसम्मको १२० किलोमिटर लम्बाइको चार सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको पावरग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ५०–५० प्रतिशत शेयर पूँजी रहने गरी संयुक्त स्वामित्वको कम्पनी स्थापना गर्न दुई देशबीच सहमति भएको छ । विकास निर्माणको सिलसिलामा ओली नेतृत्वको सरकारले अरु धेरै उदाहरणीय काम गरेको छ । नेपालको उत्पादित विद्युत् भारत र बङ्गलादेश तथा अरूतिर पनि वितरण गर्नका लागि कार्य अगाडि बढाइएको छ भने नेपाल र चीनबीच ऊर्जा सहमति र सहकार्यको सम्झौता सम्पन्न भएको छ ।

मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय विद्युत् प्रसारण लाइनको भारतका प्रधानमन्त्रीसँग संयुक्तरूपमा उद्घाटन गरेर सञ्चालनमा आएपछि विद्युत् आयातनिर्यातको ढोका खुलिसकेको छ । एमसिसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली–हेटौँडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सशस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोसेढुङ्गा हुनेछ । अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ ।

यही बीचमा वर्ष २०७६ मा मानव विकास सूचकाङ्क, व्यवसाय गर्ने सहज वातावरण, भोकमरीको अवस्था, शान्ति तथा कानूनी शासन, भ्रष्टाचार निवारण, पर्यटकीय प्रतिस्पर्धा, लैङ्गिक समानताजस्ता विश्वव्यापी सूचकाङ्कमा नेपालले उल्लेख सुधार गरेको थियो । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘वुमेन, बिजनेस एन्ड द ल–२०२०’ रिपोर्टका अनुसार महिला, व्यवसाय र कानूनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशको सूचीमा नेपाल उत्कृष्ट तीनमा परेको छ ।

विगत २४ वर्षदेखि चर्चामा मात्रै रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, भारतको औपचारिक भ्रमणको समयमा मैले त्यहाँका प्रधानमन्त्रीसँग संयुक्त रुपमा शिल्यान्यास भई कार्यान्वयनमा आएको छ । सबै नेपालीको टेलिफोन सेवामा पहुँच पुगेको छ । हाल करीब ७० प्रतिशत जनसङ्ख्याले इन्टरनेटको सुविधाको उपभोग गरेका छन् र सबै जिल्लामा फोर–जी सेवा पुगेको छ ।

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निजी घरको निर्माण सम्पन्न भएको छ र ऐतिहाहसिक पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत आठ हजार आवास इकाइहरु निर्माण गरिएका छन् । विसं २०७५ साल चैत १७ गते राति आएको हावाहुरी र चक्रवातका कारण बारा र पर्सामा क्षति भएका ८६९ घरको सम्पूर्ण निर्माण सम्पन्न गरी उपभोक्ताहरूलाई हस्तान्तरण भएको थियो ।

विद्यालयमा खुद विद्यार्थी भर्नादर शत्प्रतिशत हुँदैछ । विद्यालय छाड्ने दर २.६ प्रतिशतमा झरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को विश्व प्रतिवेदन–‘अ वल्ड रेडी टु लर्न’ मा सन् २००० पछिका १७ वर्षमा नेपालको विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंसा गरिएको छ । स्वास्थ्य बीमा जम्मा १५ जिल्लाबाट ५० भन्दा बढीमा जिल्लाका करीब ३० लाखले लाभ लिन सक्ने गरी विस्तार भएको छ । स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक विकासको थालनी भएको छ ।

दक्षिण एशियामा नेपाल यसै अवधिमा पहिलो खुला दिसामुक्त मुलुक घोषणा भएको छ । शत्प्रतिशत जनसङ्ख्यामा आधारभूतस्तरको सरसफाइको पहुँच छ । कूल जनसङ्ख्यामध्ये ८९ प्रतिशत जनतामा आधारभूतस्तरको खानेपानीमा पहुँच छ । तराई मधेशका २० जिल्लामा ४११ किलोमिटर ढल निर्माण गरिएको छ । तराई मधेशमा ढल निर्माण, सरसफाइको क्षेत्रमा नयाँ प्रगति हो र योे अङ्क तथा अनुभूति दुवै हो । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडामा आधुनिक प्रविधियुक्त स्यानेटरी ल्यान्डफिल्ड साइट निर्माणको पहिलो चरणको काम आगामी चैतभित्र सम्पन्न हुँदैछ । सङ्घीय संसद् भवन तीन वर्षमा सक्नेगरी निर्माण आरम्भ गरिएको छ । ललितपुरको गोदावरीमा तीन हजार क्षमताको सभाहल उद्घाटन भएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमको दायरा फराकिलो भएको छ । अहिले विभिन्न आठ प्रकारका सामाजिक सहायताका कार्यक्रम सञ्चालित छन् । यसबाट करीब एक करोड जनता समेटिएका छन् । यस अवधिमा श्रमिकको पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि भएको छ । खुद ज्याला, महँगीको अनुपातभन्दा माथि भएकाले केही हदसम्म भवितव्यको सामना गर्न बचत गर्नसक्ने अवस्था छ । कूल जनसङ्ख्याको झण्डै १० प्रतिशत अर्थात् २८ लाखभन्दा बढीले कुनै न कुनै किसिमको सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई राष्ट्रिय अभियानका रूपमा प्रारम्भ गरिएको छ । सबै प्रकारका रोजगारीमा संलग्नहरुको भविष्यसँग जोडिएको र मुलुकलाई कल्याणकारी राज्यमा रुपान्तरण गर्ने यस युगान्तकारी कार्यक्रमलाई आम श्रमजीवी वर्गको तहमा विस्तार गर्न जरुरी भएको अध्यक्ष ओलीको भनाइ छ । नयाँ सरकार बन्न लागेको स्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताउनुभएको थियो ।

तत्कालीन पूर्वाधार विज्ञ (सल्लाहकार) गजेन्द्र थपलियाका अनुसार ओली प्रधानमन्त्री हुँदा शिलान्यास गर्नुभएका ४९ वटा आयोजनाको निरन्तर कामको प्रगति र चासो राख्ने काम जारी रहेको थियो । रानीपोखरी, धरहरा पुनर्निर्माण, मेलाम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना तीन हजार क्षमताको सभाहलजस्ता केही उदाहरण हुन् । कोरोनाका कारणले भैरहवा एअरपोर्ट, पोखरा एअरपोर्ट, लुम्बिनीको पाँच हजार क्षमताको सभाहल, रेल सञ्चालन जस्ता काम सम्पन्न हुन ढिलाइ भएको छ ।

नागढुङ्गा टनेलमार्ग, बबई, भेरी बबई, सुनकोसी मरिन बहुउद्देश्यीय आयोजना, सिक्टा, रानी जमरा गुलरिया, महाकाली सिँचाइ, हुलाकी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) लोकमार्ग, मदन भण्डारी राजमार्ग, उत्तर दक्षिण कोसी, कालीगण्डकी, कर्णाली करिडोरलगायत अन्य आयोजनामा अनुगमन र समस्या समाधानमा प्रधानमन्त्री र उहाँको सचिवालयले नियमित काम गरेको थियो । रासस

यो पनि – बालुवाटारबाट युथफोर्सको स्कर्टिङमा बालकोट प्रस्थान गरे ओली, हजारौ भनिएकोमा देखियो केहि दर्जन मात्र सवारी साधन (भिडियो हेर्नुहोस)

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोडेर निजि निवास बालकोट प्रस्थान गरेका छन्। पुर्व निर्धारित कार्यक्रम अनुसार ओलीलाई बालुवाटार देखि नै युथफोर्सको स्कर्टिङमा बालकोट लागिएको हो । बिहान देखि जम्मा भएका युवाहरुले उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस सुरु गरेका थिए ।

उनि बालुवाटार छोड्ने बेलै मुसलधारे पानी परेपछि युवाहरु कोहि र्यान्कोट त कोहि भिजेरै ओलीको स्कर्टिङ गरेका छन । उनीहरुले ‘केपी ओली वि लब यु’ लगायतका नारा लगाउदै र हर्न बजाउदै अगाडी बढेका थिए । युथफोर्सले हजारौ गाडी र बाइकको उपस्थिती हुने दावी गरेपनि सडकमा केहि दर्जन मात्र सवारी साधन देखिएको छ । भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय : ओली सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्च विवरण सार्बजनिक गर्ने

काठमाडौं, ३० असार । शेर बहादुर देउबा नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ । मंगलबार साझा प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

हालसम्म कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले बताए । मन्त्रि कार्की सरकारका प्रवक्ता समेत हुन्। बैठकले आगामी चैत मसान्तभित्र खोप लगाउनयोग्य सबैलाई खोप सुनिश्चित गर्ने समेत निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

यो पनि – युथ फोर्सले हजारौँ बाइक र गाडीले ‘स्कर्टिङ’ गरेर ओलीलाई बालुवाटार देखि बालकोट पुर्‍याउने

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओललाई युथ फोर्सले आज बालुवाटार देखि स्कर्टिङ गरेर आफ्नो निवास बालकोट पुर्याउने भएको छ । ओली करिब साढे तिन वर्षे कार्यकाल पछी आज सरकारी निवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोट जाने भएका हुन्।

एमालेको भातृ संगठन युथ फोर्सले हजारौँ बाइक,गाडीले स्कटिङ्ग गर्दै बालुवाटारबाट हुदै भक्तपुरको कौशलटार देखि बालकोट निवास सम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन संगठनले सबै युवाहरुलाई आमन्त्रण गरेको थियो । एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतले पनि आज बुधबार बिहान ११ बजे बालुवाटारमा उपस्थित हुन युवाहरुलाई आह्वान गरेका छन । हिजो मंगलबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो।

यो पनि – शेर बहादुर देउवाले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछी राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेकी थिइन । गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र देउवा दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् ।

यो पनि – कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ : नेम्वाङ

काठमाडौँ, २९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्वतमान मन्त्री वसन्त नेम्वाङलाई बिदाइ गरेको छ । मन्त्रालयमा आयोजित एक समारोहमा सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गर्नुभएको हो । कार्यक्रममा निर्वतमान मन्त्री नेम्वाङले संसदीय प्रणाली र दलीय व्यवस्थाभन्दा बाहिर गएर अदालतले फैसला गरे पनि कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाध्यात्मकरूपमा सरकारबाट बाहिरिनुपरेको बताउनुभयो ।

उहाँले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत अदालतको फैसला आएको भए पनि त्यसलाई स्वीकार गरेर आफूहरू सरकारबाट अलग भएको उल्लेख गर्नुभयो । परमादेशभन्दा जनादेश नै ठूलो हुने भएकाले सबै विषयको निरुपण समेत जनताले नै गर्ने उहाँको भनाइ थियो । जनताले गर्ने फैसला नै सबैभन्दा ठूलो विषय हुने मन्त्री नेम्वाङको भनाइ थियो । अदालतको अनपेक्षित फैसलापछि आफूले यस मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुपरेको उल्लेख गर्दै उहाँले पुनःअदालतकै त्यस्तै फैसलापछि बाहिरिएको बताउनुभयो । उहाँले जे जति दिन काम गर्न पाइयो, त्यसमा गौरवका साथ कार्यसम्पादन गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव बस्यालले मन्त्रालयले अत्यन्तै परिपक्व नेतृत्व र अभिभावक पाएको भन्दै छोटो समयमा पनि प्रभावकारी कार्यसम्पादन भएको बताउनुभयो । परिस्थिति फेरिएकाले यसलाई सहजरुपमा लिएर आगामी दिनमा कार्यसम्पादन गर्ने उहाँको भनाइ थियो । सो अवसरमा मन्त्रालय मातहतका विभाग, प्राधिकरणको, संस्थान र समितिका पदाधिकारीको उपस्थिति थियो । रासस

यो पनि – पाँच मन्त्रालय सम्हाल्दा नया अनुभव महसुस भयो : मन्त्री श्रेष्ठ

काठमाडौँ, २९ असार । पाँच मन्त्रालयको नेतृत्व समाल्नुभएका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजबाट बिदाइ हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उहाँलाई बिदाइ गर्नुभएको हो । मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपूर्ण काम गर्न सफल हुनुभएको छ । बिदाइ समारोहमा उहाँले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उहाँले यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गर्नुभएको मन्त्री श्रेष्ठले त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल हुनुभएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताउनुभयो । उहाँको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो । मन्त्री श्रेष्ठले गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । गत पुस १२ गतेबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी नियुक्त भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताउनुभयो । “सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भाव भएन, जति काम सम्पन्न गरे, त्यसमा मलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो, “पाँच वटा मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताउनुभयो । तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफूलाई जानकारी भएको बताउनुभयो ।

युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय रामप्रसाद थपलिया र सुरेश आचार्यले बिदाइ भएर जान थाल्नुभएका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गर्नुभयो । रासस

यो पनि – प्रधानमन्त्री ओलीको सम्बोधन ः असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट गर्नुभयो । सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका सन्दर्भमा ओलीले सम्बोधन गर्नुभएको हो ।

उहाँले कोरोना महामारी तथा बाढीपहिराबाट जीवन गुमाएका प्रति श्रद्धाञ्जलि दिँदै सरकारले बिरामी एवं घाइते सबैको निःशुल्क उपचार गराइरहेको तथा पुनःनिर्माण र अन्य पूर्वाधार तथा सामाजिक विकासका लागि स्पष्ट योजना र कार्यक्रमसहित अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश कोभिड महामारीबाट आक्रान्त भइरहेका बेला कत्ति पनि समय खर्च नगरेर एकताका लागि महामारी रोकथाम र राष्ट्रको विकासका काम गर्नुपर्नेमा मुलुकमा असझदारी र द्वन्द्व सिर्जना गरेर मुलुकलाई असफल बनाउने गम्भीर षड्यन्त्रप्रति सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले निराश र उत्तेजनामा जान आवश्यक नभए पनि सर्वोच्च अदालतको सोमबारको फैसलको परिणाम र परिणति देखिँदै जाने विचार व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय सार्वभौमसत्ता र देशको स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो नहुन नसकी राजनीतिलाई विपरीत दिशातर्फ लान खोजिएको आरोप लगाउँदै प्रतिनिधिसभाको बाँकी कार्यकाल सफल होस् र समयमा निर्वाचन होस् भन्ने आफ्नो चाहना भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतका राजनीतिक दृष्टान्तका आधारमा पात्र र प्रवृत्तिलाई चिन्न गाह्रो नहुने भएकाले लोकतन्त्र र विधिका शासनमा कुनै दरार त आउने होइन भन्ने प्रश्न खडा भएको टिप्पणी गर्नुभयो ।

आफूले लोकतन्त्रका लागि सात दशक व्यतीत गरेको स्मरण गर्दै उहाँले राजनीतिकबाहेक अराजनीतिक खालका अनुचित हतकण्डा आफूबाट कल्पनासमेत हुन नसक्ने स्पष्ट गर्नुभयो । “मेरो मनमस्तिष्कमा देशको, सुरक्षा, सार्वभौमसत्ता र स्वाधीनता, विकास, सुशासन, सभ्य समाज, सामाजिक न्यायसहितको समृद्धिबाहेक अर्को कुनै विषय छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई सुन्दर र समृद्ध बनाउन लोकतान्त्रिक प्रणाली र त्यसअनुसारको इमान्दार अठोट चाहिन्छ, योबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म सरकारमा जाँदा वा बाहिरिँदा जनतालाई सर्वाधिकारसम्पन्न ठान्छु तर आज म अदालतको आदेशबाट बाहिरिएको छु । मेरो लोकतन्त्रप्रतिको निष्ठा र आशा तथा देश र जनता प्रतिको माया कमजोर हुने छैन ।’