कोरोनाले खोस्यो गन्धर्वको गाँस

कोरोनाले खोस्यो गन्धर्वको गाँस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै सुखदुःख र घटना दुर्घटनाका खबर सुनाउने घुमन्ते गन्धर्वको पेशा त सङ्कटमा परेको छ नै उनीहरुको खाने गाँस समेत खोसिएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फाँपरखेतबाट बसाइँसरी बागलुङको बलेवा गएर पुन ः आफ्नै जन्मथलोमा फर्र्किएका सोमबहादुर गन्धर्वले विभिन्न जिल्लाका गाउँबस्तीमा पुगी सारङ्गी रेट्दै गीत गाएर त्यसबाट कमाएको पैसाले साँझबिहानको गाँस टार्ने गर्नुहुन्थ्यो ।

तर, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि उहाँको दैनिकी असहज बन्दै गएको छ । २०३० सालमा २० वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका छोराछोरी नभएकाले अरुले दिएकै भरमा आफ्नो गुजारा चलेको उहाँले बताउनुभयो । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्व आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको बताउनुभयो ।

कुनै दिन मुम्बई गोरखपुर र कोलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारीलाई दुःख दिएको, विदेशमा युद्धमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरु कोरोना सङ्क्रमण शुरु हुनुभन्दा अघि फाट्टफुट्ट् देखिने गरेकोमा कोरोनाका कारण हिजोआज देखिन छोडेका छन् ।देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्व अहिले गरिबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनीहरुको भनाइ छ । “सारङगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे”, बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भन्नुभयो,“गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गन्धर्वका सारङ्गीको धुन नसुनेको धेरै भयो ।”

सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमासमेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वले पछिल्लो समय विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका थिए ।

यो पनि – सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् । कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० श्ययामार्फत कोभिड–१९ बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि कूल ४०० श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च बिन्दुमा हुँदा ५७ सघन उपचार केन्द्र र ३९ भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले राससलाई जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि १६० श्यया छुट्याएको छ । जसमध्ये कोरोनाका ९४ बिरामी भर्ना भएर उपचार गराइरहेको डा दासले बताउनुभयो । भर्ना भएका ९४ बिरामीमध्ये ३० बिरामीको सघन उपचार केन्द्र एवं भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । गत वर्षको कोरोना सङ्क्रमणको समयमा टिचिङ अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि जम्मा १०० श्यया छुट्याइएको थियो ।

निजी लगानीमा सञ्चालित अस्पतालमा पनि कोरोना सङ्क्रमित बिरामीको सङख्यामा कमी आएको छ । कूल २०० श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराउँदै आएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोरोना उच्च बिन्दुमा पुग्दा दैनिक ७५ देखि ८० बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि ८४ भन्दा बढी श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च विन्दुमा हुँदा १८ सघन उपचार एवं भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको थियो ।

कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि छुट्याइएको श्ययामा पनि कटौती गरेको छ । अस्पतालका प्रशासक हरि खड्काले हाल दैनिक ८ देखि १० जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गरेको जानकारी दिनुभयो । उक्त अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामी पनि घटेको छ । ग्राण्डीले गत वर्ष कोरोना बिरामीका लागि ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघन उपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गरेको थियो । दोस्रो चरणको कोरोना सङ्क्रण शुरु हुनुपूर्व दैनिक ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक जम्मा २०० देखि ३०० बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ ।

कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महँगो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको प्रशासक खड्काको भनाइ छ । सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ का बिरामी घटेपछि अस्पतालमा माग हुँदै आएको कोरोना उपचार सामग्रीको बिक्रीवितरण समेत घटेको छ । दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्यसामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिटलको प्रालिका निर्देशक बद्रीनाथ घिमिरेले कोरोनाका बिरामी घटेसँगै अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको मागमा कमी आएको जानकारी दिनुभयो ।

“कोरोना बिरामी घटेसँगै कोरोना उपचारका लागि आवश्यक पिपिइ, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटरलगायतका स्वास्थ्य सामग्रीको मागमा कमी आएको छ”, उहाँले भन्नुभयो । सरकारी तथ्याङ्कअनुसार पछिल्लो पटक असार २९ गते देशभर २४ घण्टामा दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो भने कोरोना सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाएका थिए । रासस