नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताउनुभएको छ । मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई आज भेटेर उहाँले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिनुभयो ।
“प्रक्रियाविपरीत दिइएका क्रियाशील सदस्यतालाई १५औँ महाधिवेशनमा सम्बोधन गर्नेगरी अहिले १३औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर अगाडि बढ्नुपर्छ”, नेता केसीले भन्नुभयो । पार्टीका पूर्वसांसद रामअयोध्या यादवको नेतृत्वमा छ बुँदे माग राखेर चार दिनदेखि बाराका नेता तथा कार्यकर्ता धर्नामा बस्नुभएको छ । उहाँहरुले पार्टीमा छलफल नै नगरी दर्ता गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, पुरानो क्रियाशील सदस्यतालाई नवीकरण गर्नुपर्ने, विधानअनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिसविना दिइएका क्रियाशील सदस्यता खारेज गर्नुपर्नेलगायतका माग राख्नुभएको छ ।
काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको अवस्थामा उहाँहरु धर्नामा बस्नुभएको हो । काँग्रेसको आगामी महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता पार्टी केन्द्रीय कार्यालयको वेबसाइटमा दर्ता भइसकेका छन् । काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । रासस
यो पनि – सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्छ ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवद्र्धनमा अद्धितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गर्नुभयो । उहाँले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्ने निधिका रुपमा रहेका प्रतिभाको सम्मान गरिनु उच्च चेतना, कला, साधना र अथक योगदानको सम्मान हुने भएकाले प्रज्ञा प्रतिष्ठानले यस परम्परालाई निरन्तरता दिएकोमा आभार व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले आदिकवि भानुभक्त आचार्यको दुई सय आठौँ जन्मजयन्तीका सन्दर्भमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय महत्वपूर्ण कृतिहरुमार्फत नेपाली भाषा र साहित्यको विकास तथा राष्ट्रिय भावनाको विकासमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारसँगै प्रतिष्ठानले नेपाली भाषा, साहित्य र अनुवादका क्षेत्रमा योगदान दिने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि सम्मान गर्न थालेको जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानद्वारा स्थापित प्रज्ञालङ्कार पुरस्कारबाट विभिन्न स्वदेशी र विदेशी स्रष्टालाई सम्मानित गरिएको थियो । समारोहमा राष्ट्रिय कविता महोत्सव–२०७७ र २०७८ का विजयी कविहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया