सुत्केरीलाई पोषणयुक्त सामग्री वितरण

सुत्केरीलाई पोषणयुक्त सामग्री वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ । महामारीविरुद्धको अभियानमा सुत्केरीको स्वास्थ्य सुरक्षामा समेत विशेष चासो राखेर उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको स्वास्थ्यमा हेरचाह पु¥याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरपालिकाले नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्यकर्मी लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवं पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री वितरण गर्दै आउनुभएको छ ।

नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाको जानकारी, ल्याबसहितको निःशुल्क स्वास्थ्य जाँच र पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख आचार्यले बताउनुभयो । वडा नं ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र सेमलारको स्वास्थ्य केन्द्रमा उपप्रमुख आचार्यले ६० सुत्केरीलाई पोषण सामग्री प्रदान गरेर कार्यक्रमको शुरुआत गरिएको थियो । नगरका विभिन्न वडामा रहेको उक्त लक्षित समूहका करीब २३० सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने छ ।

उपमहानगरका जनस्वास्थ्य अधिकृत उमा थापाको नेतृत्वमा स्वास्थ्यकर्मी कल्पना पौडेल भट्टराई, गीतादेवी पाण्डे, पुजन ज्ञवाली र राजेश गिरीलगायतले स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सल्लाहका लागि उपप्रमुखसँगै पुग्नुभएको थियो । उपमहानगरपालिकाले यसअघि लकडाउनको अवधिमा पनि आर्थिकरुपमा विपन्न तथा श्रमिक परिवारका ८१ गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो । गर्भवती र सुत्केरीलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइँदै आएको छ ।

गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।रासस