विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३१.१ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ७१ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो । रासस
यो पनि – सामाजिक सुरक्षा भत्ताको ३९ लाख वडा सचिवको कोठाबाट चोरी
बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताउनुभयो ।
वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताउनुभयो । उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेका र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार वितरण गरिसकेको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।
यो पनि – पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ ।
लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
यो पनि – ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध
मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिनुभयो । गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।
नेट नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ । सालतमामीको समयमा इन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको भन्दै बैंकका पव बुढाले अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनुपरेको बताउनुभयो । “हामीले नगरी नहुने भुक्तानी र अन्य काम अदानचुलीको शाखाबाटै चलाएका छौँ”, उहाँले भन्नुभयो, “अनलाइनबाट सबै काम गर्नुपर्नेमा नेट नै नभएपछि पछिल्लो समय गाउँपालिका र बैंकलाई काम गर्न निकै सकस भएको हो ।” ताँजकोटमा गएको तीन दिनदेखि इन्टरनेट आउने जाने भएकाले मर्मतका लागि मुगु गमगडीबाट खत्याडतर्फ हिँडेको वल्र्डलिङ्कका प्रतिनिधि प्रमोद कुमालले बताउनुभयो ।
प्रतिक्रिया