गिलासबाट पानी पिउने क्रममा पानीले सर्किएर मृत्यु

गिलासबाट पानी पिउने क्रममा पानीले सर्किएर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पानी सर्किएर र करेन्ट लागेर झापामा आज एकैदिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो भने मेचीनगर–३ सिर्जना बस्ती निवासी ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा पानी सर्किएर बेहोस भएका श्रेष्ठको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता आज दिउँसो मेचीनगर–३ स्थित गङ्गटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा किसानको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

यो पनि – काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा, अझै खुलेनन् लामो दूरीका सवारी साधन

काठमाडौँ उपत्यकामा जारी रहेको निषेधाज्ञा दश दिन थप भएको छ । साउन १० गते सम्म निषेधाज्ञा जारी राख्ने बिहीबार काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले निर्णय गरेको हो। केहि खुकुलो गरी लम्ब्याइएको निषेधाज्ञामा अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। तर उपत्यकाबाट लामो दुरीका सवारी साधन भने अझै पनि संचालन गर्न पाइदैन ।

आगामी साउन दश गते सम पसलहरु सांझ ७ बजे सम्म संचालन गर्न पाइने छ । रेस्टुरेन्टमा टेकअवे वर होम डेलिभरीको सेवा मात्र संचालन गर्न पाइनेछ । त्यस्तै निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। त्यस्तै भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ । उपत्यका भित्र संचालन हुनेसार्बजनिक सवारी साधनमा आबश्यक स्वास्थ्य मापदण्ड पुर्याएर मात्र संचालन गर्न पाइने छ

जिल्ला प्रशासनद्वारा जारी आदेश यस प्रकार छ :

यो पनि – पछिल्लो २४ घन्टामा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं,३१ असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ६७६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८,२५६  पीसीआर र ४,५१२ एन्टीजेन परीक्षणमा २,६७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ४६८६७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ७५७  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख २६ हजार ४६८  पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – मेलम्चीबासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

मेलम्ची, (सिन्धुपाल्चोक) ३१ असार । “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्नुहुन्छ, “हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।” यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उहाँको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ । लामालगायत तीन जना मिलेर झण्डै ४० करोडको लगानीमा पसल शुरु गर्नुभएको थियो । आफूले जिन्दगीभर कमाएको पैसा र बैंकमा ऋण लिएर बनाएको घर क्षणभरमा नै बगर बनेपछि उहाँ अहिले घर न घाटको हुनुभएको छ । उहाँले भन्नुभयो, “हामीले दुःख गरेर २६ वर्षमा बनाएको घर बगाउन २६ मिनेट पनि लागेन ।”

 

मेलम्ची बजारमा यही असार १ गते लेदोसहित आएको बाढी यहाँका धेरै घरहरुमा भित्र पसेको छ । अझै पनि सडक, घर, विद्यालयलगायतका सार्वजनिक भवन र स्थानमा लेदो हटिसकेको छैन । बजार क्षेत्रका कतिपयको घर पूरै खोलाले बगाएको छ भने अरु धेरै घरमा बाढी पसेर बस्न नमिल्ने भएको छ । तस्वीरः सञ्चिता घिमिरे, रासस

 

लामाले छ वर्ष पहिले बनाएको घर एक महिनाअघि लेदोसहित बाढी आउँदा ढुङ्गा, इँटा, खापासमेत नदेखिने गरी उहाँको घर बगायो । सुनचाँदी र पैसा बगायो । रासन र भान्साका सामान बगायो । ओढ्ने ओच्छ्याउने र लगाउने लुगा केही बाँकी रहेन । खोला नजिकै घर भएकाले गत वर्षमा पनि उहाँ वर्षाको समय रातमा ब्याट्री लिएर खोला हेर्ने र हिमालका मान्छेसँग सम्पर्क गरेर बाढी आए नआएको बुझ्ने गर्नुहुन्थ्यो । त्यो दिन पनि खोला सानो भए पनि धमिलो आएपछि उहाँले पहिले आफ्नो घर भएको ठाउँ पाँचपोखरी थानपालका आफन्तलाई फोन गर्ने प्रयास गर्नुभयो । दुई बजेबाट फोन गर्न प्रयास गरिरहँदा अपराह्न ५ बजे सम्पर्क भएर त्यहाँको गाउँ बगेको सूचना पाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो त यहाँ घर बगिसक्यो आफू र परिवार सुरक्षित गर्नु भनेर मलाई खबर आएपछि घर छाड्न थाल्यौँ ।”

त्यो कुराकानीको आधा घण्टामा बाढी आएको थियो । हतारहतारमा उहाँले परिवार र आफन्तलाई घरबाट निकाल्नुभयो र सटर लगाएर आफू निस्कनुभयो । त्यतिबेला आफू बाँचियो भने त्यही ठूलो कुरा भनेर उहाँलाई घरभित्रका सामानको कत्ति पनि लोभ लागेन । आफू मात्रै बाँच्नुभन्दा पनि सबैलाई बचाउनुपर्छ भनेर बजारमा सबैतिर हल्ला गर्दै कुदेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भाग्दै गर्दा रुख र लेदो आएको थियो ।”

हतारमा घर छाडेर जाँदा घर र सामान केहीको मतलब नभए पनि अहिले उहाँ दैनिक बगरमा बदलिएको आफ्नो घर भएको जग्गामा पुग्नुहुन्छ । हरेक दिनजसो कहिले डेक्ची, कराइलगायतका भान्साका फुटेको सामान भेटिएको लामाले बताउनुभयो । उहाँको घरसँगै जिन्दगीभरको कमाइले जोड्नुभएको सम्पत्ति सुनचाँदी, पैसा सबै खोलाले बगाएर लगेको छ । जिजुबाजेका पालाको चिया खाने भाडा बगेर गयो । बन्दाबन्दी खुल्ने आशाले उहाँले चार पाँच लाख जतिको चाँदीको सामान र दुई लाखको समान थप्नुभएको थियो ।

 

मेलम्ची, ३१ असार । मेलम्ची बजारमा गत असार १ गते लेदोसहित आएको बाढीले यहाँका धेरै घरहरुमा भित्र पसेको छ । अझै पनि सडक, घर, विद्यालयलगायतका सार्वजनिक भवन र स्थानमा लेदो हटिसकेको छैन । बजार क्षेत्रका कतिपयको घर पूरै खोलाले बगाएको छ भने अरु धेरै घरमा बाढी पसेर बस्न नमिल्ने भएको छ । तस्वीरः सञ्चिता घिमिरे, रासस

 

रासन त्यस्तै पाँच छ लाखको थपेको बताउनुभयो । “अहिले जीउमा लगाएको लुगा र कुरा गर्दै भागेकाले एउटा सानो मोबाइल मात्रै बाँकी छ ।”अपरान्ह ५.३० भागेर बजार नजिकै चोकमा गएर बस्नुभएको उहाँ त्यहाँ पनि खोला आउँछ भनेपछि इन्द्रेश्वरी मावि पुग्नुभयो । रातभर जागै बसेर आफ्नो घरतिर हेर्दै हुनुहुन्थ्यो । रातिसम्म घरमा बाढी नै आए पनि उहाँलाई सबै लग्यो जस्तो लागेको थियो । उहाँले भन्नुभयो, “बिहान उठेर हेर्दा केही बाँकी रहेन, अहिले घर र केही बाँकी छैन भन्ने कुरा सपनाजस्तो लाग्छ ।”

भूकम्पमा रु ५० लाखको घर र पसल भत्किएपछि लामा होटलको कमाइबाट तन्ग्रँदै हुनुहुन्थ्यो । त्यसको केही वर्षमा कोरोनाले व्यापार मन्द बनायो । अहिले निषेधाज्ञा खुलेर पुनः व्यापार अघि बढाउन लाग्दा बाढीले बास र कमाइ खाने होटल दुबै बगायो । अहिले पीडित नागरिक र व्यापारीलाई सरकारले राजनीतिक रुपमा पूर्वाग्रह नराखी सहयोग गर्नुपर्ने उहाँको माग छ । बैंकमा ऋण गरेर व्यवसाय गरिरहेकालाई केही समयका लागि ब्याजमा सहजीकरण गर्नुपर्ने लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले केही हेरिदिए हामी चिया पसल गरेर पनि बाँचेर परिवारलाई बचाउन सक्ने थियौँ ।” मेलम्ची नगरपालिका–११ का रामेन्द्र श्रेष्ठको पनि घर र पाउरोटी कारखाना दुबै बाढीले बगायो । भूकम्पमा घर भत्किएपछि पुनः उहाँले चार वर्ष पहिले घर बनाउनुभएको थियो । उहाँको घर, पाउरोटी कारखाना र गाडी सबै बाढीले लग्यो । गाडी भेटिए पनि चल्ने अवस्थामा छैन । उहाँको ११ जनाको परिवार अहिले भाडामा बसेको छ । उहाँले भन्नुभयो, “त्यतिबेला बाँचिए त अरु जेसुकै होस् भन्ने लागेको थियो, अहिले खान लाउने कुरा पनि चाहिने रहेछ ।”

विगतमा पनि वर्षाको समयमा खोला कहिले बढ्ने, घट्ने हुन्थ्यो । यस वर्ष खोला धमिलिएको देख्दा पनि श्रेष्ठलाई यस्तो माहामारी आउला भन्ने लागेको थिएन । खोला ठूलो आएपछि सुरक्षित ठाउँमा भाग्दा कुनै पनि सामान लैजान नसकेको बताउनुभयो । केही दिनपछि भने कोट्याएर हेर्दा बिग्रिएको अवस्थामा कपडा र सामान भेटिएको थियो । आफूले लगाएको लुगा देखाउँदै भन्नुभयो, “भाग्दा लगाएको एक जोर मात्रै लुगा थियो यो लुगापछि भेटिएपछि धोएर लगाएको छु ।”

अहिले परिवारसहित बहालमा बस्ने गर्नुभएका श्रेष्ठले सुत्नका लागि ओढ्ने ओच्छ््याउने सबै बाढीले बगाएको बताउनुभयो । पुस्तौँदेखि त्यही ठाउँमा बस्दै आउनुभएका उहाँको घरमा भएका बस्तु र खेतबारी पनि बाढीले बगाएको थियो । परिवारले खेतमा अर्गानिक गोलभेँडा, खोसार्नी लगाएको थियो । त्यो केही पनि बाँकी रहेन । “बाढीले नै १० वटा बाख्रा बगायो र १८ रोपनी खेत अहिले खोलामा बगिरहेको छ ।”

अहिले ६० वर्ष पुग्नुभएका श्रेष्ठ आफ्ना बाबु र बाजेले पनि कहिल्यै यतिको क्षति गर्ने गरी बाढी आएको नभनेको बताउनुभयो । सानो बाढी आएर सानोतिनो क्षति भए पनि सिङ्गो बस्ती नै बगाएको यो नै पहिलो पटक भएको उहाँले बताउनुभयो ।

अहिले पनि खोला पहिले भन्दा २० फिट माथिसम्म लेदो रहेको श्रेष्ठको अनुमान छ । सरकारले पर्खाल लगाएर पनि बस्तीमा फेरि बाढी पस्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । आफू मात्रै नभएर छोरा र नातिसमेत आफ्नो ठाउँ नछाडुन् भन्ने उहाँको इच्छा छ । मेलम्ची बजारलाई पूरानै स्वरुपमा फर्काउनुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, “मेरो नातिले पनि हजुरबाको ठाउँ भनेर यहीँ बसोबास गरोस भन्ने इच्छा छ ।”

घर पूरै बगाएर बगरमा परिणत भए पनि स्थानीयवासी दैनिकजसो नै आफ्नो जग्गामा पुग्छन् । तत्काल केही गर्न नसके पनि आफ्नो जग्गा हेरेर बसिरहेको ठाउँमा फर्कने गर्छन् । घरभित्र पहिलो, दोस्रो र तेस्रो तलासम्म खोलाको लेदो पसेका घर बजारमा धेरै छन् । नगरपालिकाले पहिलो तलासम्म बाढी पसेका घरलाई पूर्ण क्षतिग्रस्त घर मानेको छ ।

मेलम्ची–११ का कृष्णप्रसाद दुलालले घर बनाएको तीन वर्ष भयो । उहाँको घरको अगाडिको सडक लेदोले अग्लिएको छ । घरमा पहिलो तला लेदोले भरिएको छ भने दोस्रो तलामा पनि आधासम्म पूरै लेदोले भरिएको छ । उहाँ अहिले घरको दोस्रो तलामा रहेको माटो हटाएर सफा गर्न लाग्नुभएको छ । माथिल्लो तलामा सटर राख्न खोजिएको भए पनि ल्याएको सबै सामान बाढीले सबै बगाएको छ । उहाँले भन्नुभयो, “घर भए पनि माटोले भरिएको छ अहिले बहालमा बसिरहेको छु ।”

मेलम्ची बजारकै सावित्री श्रेष्ठको बजारमा नै भएका दुई घरमध्ये दुबै घरमा बाढी पस्यो । एउटा घर बनाइसकेर अन्तिम काम (फिनिसिङ्) समेत नसकिएको भए पनि बाढीले घर भरिएको छ । वर्षा शुरु हुनै लागेकाले त्योभन्दा पहिले नै सर्ने भनेर उहाँको परिवार जेठमा नयाँ घरमा सरेको थियो । त्यो घरमा बसेको नौ दिनमा नै बाढी आएर घर र त्यहाँ भएका सामान छाडेर भाग्नुप¥यो ।

त्यो रात बजारका सबैजस्तै उहाँ पनि भोकै जाग्राम रहनुभयो । बिहान उठेर हेर्दा दुई घरमध्ये नयाँ घरको दुई तलासम्म र अर्काे घरको एक तला पुरियो । ती घरमा बहाल रहेका पसलका प्रायः सबै सामान बगायो र बचेका सामान पनि पुरिएर काम नलाग्ने बनाएको छ । बाढी आएको हल्ला आएपछि घरको सामानभन्दा पनि कसरी बाँच्ने र सन्तान बचाउने भन्ने चिन्ता भएको उहाँले बताउनुभयो ।

“हतारिएर भाग्दा केही सामान पनि साथमा लगिएको थिएन”, उहाँले भन्नुभयो, “अर्काे दिन छोराको औषधि छुटेको थाहा भएपछि आर्मीले झिकिदिएको थियो ।”यतिखेर उहाँहरु घरबारबिहीन हुनुहुन्छ तर दाताहरुको सहायताले भोकै बस्न भने परेको छैन । राहात दिन जानेहरु दिनदिनै भेटिन्छन् । यसरी खानामात्रले भने उहाँहरुको घाउ निको हुनसकेको छैन । वर्षात्को समय छ बास कसरी बनाउने भन्ने नै उहाँहरुको समस्या हो । त्यसैले दिनहुँ प्राप्त हुने चामल चिउरा भन्दा पनि स्थायी रुपमा घर बनाउन मिल्ने सहयोगको उहाँहरुले अपेक्षा गर्नुभएको छ ।

यहाँ असार १ गते आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको र २० जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका गरी ४५० परिवार प्रभावित बनेका छन् । मेलम्ची नगरपालिकाका १७६ परिवार विस्थापित भएका छन् । मेलम्चीमा आएको बाढीका कारण यहाँका मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका प्रभावित बनेको थियो भने याङ्ग्री नदीका कारण पाँचपोखरी, थानपाल गाउँपालिका प्रभावित बनेको छ । रासस