एकै परिवारका दुइ बालकसहित तीन जनाको पानीमा डुबेर मृत्यु

एकै परिवारका दुइ बालकसहित तीन जनाको पानीमा डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् । धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृत्यु भएको हो । दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । त्यसैगरि महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । बालक डुबेको खबर प्राप्त भएपछि तत्काल प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खाल्डोमा डुबेर एकै पटक पाँच बालिकाको मृत्यु भएको थियो । रासस

यो पनि – मनाइयो साउने सङ्क्रान्ति

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यो विधि बेलुकी सम्पन्न गरिन्छ ।

लुतो फाल्दा आ आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज भएन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाएका छन् । भक्तजनको भीड लाग्ने राजधानीलगायत देशभरका शिवालयमा पनि आज मानिस देखिएनन् । पशुपतिनाथ मन्दिर कोरोनाका कारण भक्तजनका लागि खुला नगरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । मूल मन्दिर क्षेत्र सुनसान रहे पनि बाहिरी भागमा भने भक्तजनको चहलपहल देखिएको थियो ।