बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार

बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, २ साउन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् ।विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि बर्सेनि बर्खाको समयमा बाढी र पहिरोले पाइप लाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत कार्य अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन् । रासस

यो पनि – नेपाली सेनाको साङ्गठनिक पुनः संरचना कार्यान्वयन

नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले सैद्धान्तिक स्वीकृति दिएको ३ जोड १ कमाण्ड अवधारणाको निरन्तरताका रुपमा आएको साङ्गठनिक पुनः संरचना २०७७/७८ राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन सोच २०८७ समेतका आधार तयार पाएिको हो । साङ्गठनिक पुनः संरचनाको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्तसम्ममा हुने जानकारी दिइएको छ । चार कमाण्ड हेड क्वाटर आजबाटै पूर्णरुपमा सञ्चालनमा आएका छन् । कमाण्डलाई आवश्यक अधिकृत र सकल दर्जाको दरबन्दी क्रमिक रुपमा आगामी ६ वर्षमा पूरा हुने बताइएको छ ।

सेनाको संवैधानिक र अन्य जिम्मेवारीलाई थप असरदाररुपमा सम्पादन गर्ने लक्ष्य अघि बढाइएको ३ जोड १ कमाण्ड अवधारणा कार्यान्वयनका लागि साङ्गठनिक संरचना आवश्यक रहेको सेनाले जनाएको छ । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्याससमेतलाई दृष्टिगत गरी सेनालाई समयानुकूल व्यावसायिक, चलायमान र गतिशील बनाउन साङ्गठनिक सरचना अघि बढाइएको हो ।

नेपालको नदी क्षेत्रमा उद्धार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण कार्य गर्नसक्ने क्षमताको विकास र तदर्थ रुपमा स्थापना गरिएका अङ्ग सीमा अनुगमन एवं सर्भे निर्देशनालयलाई समेट्न यसले योगदान दिनेछ । फिल्ड तहमा हाल देखिएका मध्ये क्रमका अधिकृत, पदीक र विल्लादारसमेत वृत्ति विकासमा परेका समस्यालाई सम्बोधन र व्यवस्थापन गर्न साङ्गठनिक पुनः संरचना कोशेढुङ्गा सावित हुने जानकारी दिएको छ ।

साङ्गठनिक पुनः संरचना अघि बढाउने क्रममा सेनामा कायम रहेका विद्यमान कूल सङ्ख्यामा कुनै थपघट नहुने मात्र होइन विशिष्ट श्रेणीको दरबन्दी सङ्ख्यामा पनि कुनै पनि हेरफेर हुने छैन । साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयन भएपछि सञ्चार–प्रविधि, मेडिकल, बन्दोबस्ती, इन्जिनियरिङको क्षमता र अवधारणा गुणस्तरीय हुने सेनाले जनाएको छ । रासस