रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गर्नुभएको थियो ।

बिरामीलाई रगत अभाव भएमा फेसबुक पोष्ट गर्नुपर्ने र फोन गरी रक्तदातालाई बोलाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले हालसम्म १३ र अस्पतालका स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक रगत दान गरिसक्नुभएको छ । पचास श्ययाको अस्पताल सञ्चालनमा आउनेबित्तिकै अस्पतालमा ब्लड बैंक स्थापना गर्ने प्रमुख महतले जानकारी दिनुभयो । “ब्लड बैंक स्थापनाका लागि पहिले नै पहल गरिएको हो”, उहाँले भन्नुभयो, “बत्तीको अभावका कारणले स्थापना गर्न सकिएको थिएन ।”

जिल्लामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । “अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताहरुको सहयोगमा रगत प्राप्त गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रगत समयमा पाउन नसकेमा अन्य अस्पतालमा पठाउने गरेका छौँ । रगतको अभावमा बिरामीको ज्यान भने गएको छैन ।” रासस

यो पनि – मस्तिष्कघात भई उपचाररत प्रमुख जिसीको शल्यक्रिया हुँदै

उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी हुनुभएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ । मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका जिसीको अस्पतालका न्यूरोसर्जन डा सुरज थुलुङ र डा शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ । शुक्रबार बिहान करीब ४ः०० बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उहाँको शरीरको देब्रेतर्पm समस्या देखिएको थियो । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी हुनुभएका प्रमुख जिसीलाई थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्पmत काठमाडौँ लगिएको हो । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतका विभिन्न सङ्घसंस्थाले विज्ञप्तिमार्पmत महानगर प्रमुख जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । रासस

यो पनि – चीनबाट साउन १५ गतेभित्र ३२ लाख खोप ल्याउने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिनुभयो । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उहाँले बताउनुभयो । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ ।

उहाँका अनुसार चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः०० बजे गएर अर्काे दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते १० गते खोप नेपाल ल्याइने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।

छिट्टै कोभिशिल्डको दोस्रो मात्रा

यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा छिट्टै दिइने बताउनुभयो । उहाँले खोप केही दिनमा नै प्राप्त हुने जनाउँदै खोपको प्रतिक्षा गरिरहेका सबै ज्येष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताउनुभयो ।

उहाँले कोभिशिल्डको दोस्रो मात्राका रूपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाइने बताउनुभयो । जापान सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्स्टिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी तथा एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो ।

कोभ्याक्समार्फत कहाँ–कहाँबाट खोप

नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।

नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो । यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिनुभयो । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ ।

चीन र अमेरिकाबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ । रासस