भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु ३४ हजार १४० का दरले रु १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही रु ६५ हजारका दरले कूल रु एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले जनाएको छ । “किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ”, प्रमुख ढकालले भन्नुभयो, “कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।” नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैँसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैँसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

यो पनि – कोरोनाका कारण स्वास्थ्यकै कार्यक्रम प्रभावित

स्वास्थ्य कार्यालय बागलुङले कोरोना नियन्त्रणमा ध्यान दिँदा स्वास्थ्यका अन्य कार्यक्रम ओझेलमा परेको छ । आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य कार्यालयले कोरोना महामारीबीच ६७.५ प्रतिशत प्रगति गरेको छ । कार्यालयले उपचारात्मक, प्रतिकारात्मक र प्रवद्र्धनात्मकमध्ये उपचार र प्रतिकारात्मकमा बढी प्रगति भएको र कोरोनाका कारण स्वास्थ्य क्षेत्रको प्रवद्र्धनात्मक काम ओझेलमा परेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो । कोरोनाका कारण तालीम, सभा, समारोहलगायत स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावित भएको उहाँको भनाइ छ ।

“नियमित गर्ने काममा अत्यावश्यक काम गरियो, यस वर्ष तालीम, गोष्ठी, स्वास्थ्यसम्बन्धी अभिमुखीकरणलगायत केही कार्यक्रम गर्न सकिएन, पालिकाका सबै स्वास्थ्यकर्मी जिल्ला बोलाउन बन्दाबन्दीको समयमा नसक्नु कोरोनाको कारण हो”, गुरौँले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई एक पटकको तालीमले पुग्दैन, नयाँ रोग नयाँ विषय आए, तत्कालै तालीम दिन आवश्यक हुन्छ, अहिले खोपकै विषयमा समेत स्वास्थ्यकर्मीलाई तालीम दिन नसक्दा भर्चुअलबाटै भए पनि जानकारी दिइयो, हाम्रो ध्यान कोरोना नियन्त्रण र खोप लगाउनेमा जाँदा गत वर्षदेखि निरन्तरता पाइरहेको पोषण, शिविर, हात्तीपाइले तथा क्षयरोगको नमूना सङ्कलनमा समेत समस्या भयो ।”

कोरोना सङ्क्रमितको तथ्याङ्क, कन्ट्याक्ट ट्रेसिङ, खोप, कोरोना उपचार र रोकथामका लागि आवश्यक औषधि तथा उपकरण, खोपको तालीम, पोषण तालीम, स्वास्थ्य सचेतनालगायत काममा बाधा पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । “गत वर्ष थुप्रै स्थानमा क्षयरोगको नमूना सङ्कलन भएको थियो । अहिले कोेरोनाका कारण खकार सङ्कलनमा समस्या भएपछि बडिगाडमा ३० जनाको मात्रै नमूना संकलन गर्दा तीनजना पोजिटिभ देखियो, त्यसलाई कोरोनाका कारण बढाउन सकेनौँ”, घिमिरेले भन्नुभयो, “प्रत्यक्ष जनतामा पुग्ने कार्यक्रम गर्न समस्या भयो, तर कोरोना नियन्त्रण र रोकथाममा हामी सक्रियताको साथ काम गरिहरहेका छौँ, कोरोनाका कारण केही कार्यक्रम प्रभावित भए पनि स्वास्थ्यकर्मीको सक्रियता झनै बढेर गएको छ ।”

विपद् प्रतिकार्य, नयाँ रोगी खोज्ने, कुपोषण पहिचान गर्नेजस्ता कार्य प्रभावित भएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । यस वर्ष दुईवटा शिविरमा जम्मा १२ जनाको स्थायी बन्ध्याकरण गरिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । एचआइभी, टिभीको नमूना परीक्षणसमेत प्रभावित भएको छ । स्वास्थ्य रेकर्ड राख्न, स्थलगत अनुशिक्षणलगायत काम गर्न र कुपोषण नियन्त्रणमा समस्या भएको छ । यो वर्ष जम्मा २४२ जना बिरामी फेला परेकामा ७६ सुन्निएको र १३८ हाइड्रोसिलको बिरामी छ । कोरोनाका कारण हाइड्रोसिलको शल्यक्रियासमेत हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख गुरौँले जानकारी दिनुभयो ।

एक महिना नहुँदै उप्कियो कालोपत्र

निरन्तराको वर्षामा सडक कालोपत्र गर्दा बागलुङ बजारको क्याम्पस गेट अगाडिको कालोपत्र उप्किएर खाल्टाखुल्टी परेको छ । बागलुङ नगरपालिकाले चोक सुधार अभियानअन्तर्गत गोल्डेन गेटदेखि क्याम्पस गेटसम्मको जीर्ण सडक स्तरोन्नतिसँगै कालोपत्र गरिएकामा महिना नपुग्दै क्याम्पस गेट अगाडिको सडक उप्किएको छ ।आरएस निर्माण सेवाले २०७७/११/२३ मा रु १५ लाखमा १६० मिटर सडक स्तरोन्नति र नाली निर्माणसँगै कालोपत्रको जिम्मा पाएको भए पनि कालोपत्र गरेको एक महिनामै उप्किएको छ । बर्खामासमा कालोपत्र गर्दा कालोपत्र उप्किएको स्थानीय व्यवसायी युवराज कँडेलले गुनासो गर्नुभयो । यही सडक हिउँदमा कालोपत्र गरे टिकाउ हुने उहाँको भनाइ छ ।

उक्त सडक आरएस निर्माण सेवाले जिम्मा लिएर एक महिनाअघि मात्रै कालोपत्र गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरको चोक सुधारअन्तर्गत चोक विस्तारपछि उक्त सडक कालोपत्र गरिएकामा पानीको उचित निकास नहुँदा सडक उप्किएको छ । सडक उप्किएर खाल्टाखुल्टी भएपछि निर्माण सेवालाई भुक्तानी रोकेको बागलुङ नगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो । “बर्खामा जमेको पानीले कालोपत्र उप्किएको पायौँ, निर्माण कम्पनीलाई मर्मत गर्न भनेका छौँ”, शर्माले भन्नुभयो, “सडक मर्मत नभएसम्म भुक्तानी हुँदैन, १५ लाखमा एक पैसासमेत निर्माण व्यवसायीलाई दिएका छैनाँै, पानी रोकिएपछि पानीको निकाससहित पुनः कालोपत्र गर्न भनेका छौँ, काम सम्पन्न भएपछि भुक्तानी दिन्छौँ ।”

कालोपत्र गरेलगत्तै लगातारको वर्षात्का कारण नालीमा ढल अटाउन नसक्दा सडकमा क्षति पु¥याएको नगरपालिकाको भनाइ छ । नगरपालिकाले बजार सुधार गर्न खाल्टाखुल्टी मुक्त गर्न एक किलोमिटर सडक कालोपत्र गरिसकेको छ भने आधा दर्जन चोक चौडा बनाइसकेको छ । रासस