शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या

शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ३ साउन । डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ । मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो । सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो ।

उपल्लो डोल्पाको धोमा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन गर्न जाँदा स्थानीयवासी जङ्गलको जडीबुटी सङ्कलनका लागि गएका कारण आउन ढिला भएको उहाँको भनाइ छ । शिक्षकहरुको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दिन सकिन्छ कि भन्नेमा आफू रहेको पंज्ञानीले बताउनुभयो । यहाँका तीनवटा सामुदायिक विद्यालयमा २६ र सङ्घसंस्थाबाट १० शिक्षक गरी ३६ जना कार्यरत छन् ।सर्वसाधारण तथा उपभोक्ता धोस्थित कार्यालयमा आउन ढिलाइ गरेका कारण आफूहरु दुनै आउन समस्या भएको हुँदा सबै भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । गाउँपालिकाभरिका शिक्षकको तलबसमेत भुक्तानी दिन समय अभावले गर्दा नसकिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गर्न आइतबार प्रदेश कार्यालयमा पत्र लेख्ने र आफैँ पनि जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । यता गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले कर्मचारीले काम नगर्दा पैसा फिर्ता गएको बताउनुभयो ।

मुख्यमन्त्री रोजगारको पैसा जनताले काम गरे पनि एक रुपैयाँ भुक्तानी दिन नसकेको उहाँको भनाइ छ । असार ३१ सम्म प्रणालीले काम गर्ला भन्ने भए पनि ३१ गते नचल्दा धेरै रकम फ्रिज भएको उहाँको भनाइ छ । समयमा काम नगर्ने कर्मचारीतन्त्रका कारण जनताले दुःख पाएको उहाँको भनाइ छ । त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि जनताले काम गरेको रकमसमेत भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताउनुभयो । समयाभावका कारण भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । रासस

यो पनि – चीनबाट साउन १५ भित्र ३२ लाख खोप ल्याउने

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत ल्याउने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । गत असार २५ गतेदेखि चीनबाट खरिद गरेको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ साउन) जहाज चीन जाने भएको उहाँले बताउनुभयो । निगमको वाइडवडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।

कोभिशिल्डको दोस्रो मात्रा छिटै

यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा छिटै नै दिइने बताउनुभयो । उहाँले खोप केही दिनमा नै प्राप्त हुने भन्दै खोपको प्रतिक्षा गरिरहेका सबै जेष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताउनुभयो ।

उहाँले कोभिशिल्डको दोस्रो मात्राको रुपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाउने बताउनुभयो । जापानले सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्सिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो ।

कहाँकहाँबाट आयो कोभ्याक्स

नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।
सरकारलाई यही असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रा सहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार खोप प्राप्त भएको थियो ।

यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिनुभयो । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ ।

चीन र अमेरिकाबाट प्राप्त भएको खोप यही असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह र जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ जनाले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ । रासस