शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि वृक्षरोपण अभियानमा जुट्दै कामपा

शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि वृक्षरोपण अभियानमा जुट्दै कामपा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ । बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम शुरु गर्नुभएको हो । सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने कामपाको नीतिअनुरुप यस कार्य अघि बढाइएको हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा बिरुवा रोप्ने काम भएको छ ।

साना बिरुवा हुर्काउन कठिन हुने भएकाले कम्तीमा पाँच फिटभन्दा अग्ला बिरुवा रोप्ने मापदण्ड बनाइएको छ । अहिलेको बर्सातको समयमा दुई हजार ५०० बिरुवा रोप्ने योजना कामपाको छ । हरियालीसँगै शहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदूषण गराउने वस्तुको प्रदर्शन रोक्ने तथा भएकालाई हटाउने काम भइरहेको कामपाले जनाएको छ । अभियानको पहिलो दिन शिरीष, कपुर, कल्की र चाँप जातका करिब १३० बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । “बिरुवा रोप्नुजत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ”, श्रेष्ठ भन्नुहुन्छ, “यसका लागि वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।”

कामपाले गत आर्थिक वर्ष जस्तै चालु आवमा पनि कामपाभित्र रहेको सार्वजनिक जग्गाको पहिचान, उद्यान निर्माण र हरियाली प्रवृद्र्धन गर्ने कार्यलाई नीति तथा कार्यक्रममा समेटी बजेटको समेत व्यवस्था गरेको छ । कामपा बोटबिरुवा रोप्ने कार्य मात्रै होइन, शहर कुरूप बनाउने र नीतिविपरीत शहरका विभिन्न स्थानमा राखिएका विज्ञापन बोर्ड हटाउने कार्यमा पनि निरन्तर लागिरहेको छ । रासस

यो पनि – दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषित

जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गर्नुभयो ।

सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताउनुभयो । “पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ”, उहाँले भन्नुभयो । पण्डित पोखरेलले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेका अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गर्नुभयो ।

क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताउनुभयो । जातमा कोही पनि ठूलो र सानो नहुने उहाँको भनाइ थियो । विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलित मात्र नभई हरेक समुदायमा हुने विभेदविरुद्ध युवा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले सीप र कलाको धनी दलित समुदायलाई राम्रो व्यवहार गरेमा देशको विकासले गति लिने बताउनुभयो । विसं २०७५ मा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपालले विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाले बताउनुभयो ।