‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’

‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिनुभयो । “आव २०७७÷०७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालू खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कूल प्रगति ७३ प्रतिशत रह्यो”, उहाँले भन्नुभयो ।

उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्चतर्फको प्रगति ८०.३१ प्रतिशत र चालू खर्चतर्फको प्रगति ७७.६८ गरी कुल प्रगति ८०.२० प्रतिशत हुन आएको जनाउँदै कोभिड महामारीका कारण सिर्जित विषम परिस्थितिका बाबजुद पनि कर्मचारी तथ सबै क्षेत्रबाट प्राप्त भएको सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

उहाँले राजस्व भुक्तानीमा विद्युतीय प्रणाली अपनाउने सजिला छोटा मार्ग निर्माणका लागि सुरुङ निर्माणका योजना बनाउँदै सुरुङ युगमा प्रवेश गर्ने, पूर्ण उज्यालो वाग्मती प्रदेश बनाउने, हरित वाग्मती प्रदेश निर्माण गर्ने, विद्युतीय बससहितको प्रदेश बनाउने, प्रदेश चक्रपथ निर्माण गर्ने, काठमाडौँ उपत्यका काँठ चक्रपथ निर्माण गर्ने, सौन्दर्यकरणसहितको सम्पदामैत्री विकास गर्ने, हरित विकास र हरित अर्थतन्त्र निर्माणको भौतिक संरचना बनाउने, कोभिड महामारीबाट जोगाउँदै उत्पादन र रोजगार सिर्जना गर्ने सरकारको अवधारणा रहेको बताउनुभयो ।

“हामी ती अवधारणाको कार्यान्वयनको चरणमा छौँ, परिणाम विस्तारै देखिँदै जानेछन्, भोलिका पुस्ताले वा हाम्रा पुर्खा भन्नेछन्”, उहाँले भन्नुभयो । मन्त्री फुयाँलले सरकारले हाल प्राप्त गरेको सफलता सोच, सङ्गठन, कडा परिश्रमपछिको परिणाम र उपलब्धि भएको उल्लेख गर्दै अवरोध अझै पनि जारी रहेको र काम पनि जारी रहेको बताउनुभयो । रासस

यो पनि – काभ्रेमा कांग्रेसका साढे नौ हजार क्रियाशील सदस्य थप

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् । पार्टीको जिल्ला समितिले बीस हजार अर्थात् दोब्बर क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको थियो । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी हाल करीब दोब्बरको सङ्ख्यामा क्रियाशील सदस्य बनाइएको जनाइएको छ । पार्टीको जिल्ला कार्यालयका अनुसार नौ हजार २९२ क्रियाशील सदस्यले नवीकरण गरेका हुन् ।

पनौती नगरपालिकाको पाँच वटा वडाको नयाँ सदस्यता वितरण ढिलाइपछि उत्पन्न विवादका कारण करीब चार सय नयाँ सदस्यको विवरण पठाउन बाँकी रहेको कार्यालयका सचिव विनोद तिमल्सिनाले बताउनुभयो । काभ्रेपलाञ्चोकमा छ नगरपालिकासहित १३ स्थानीय तह छन् । काभ्रेपलाञ्चोकमा रहेका क्रियाशील सदस्यको केन्द्रबाट स्वीकृत भई जिल्लामा आउन भने बाँकी छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि अभियानमार्फत सदस्यता दोब्बरबढी पु¥याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी बीस हजार पु¥याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताउनुभयो ।

उहाँका अनुसार सदस्यताको सूची पठाइएअनुसार केन्द्रीय कार्यालयबाट स्वीकृत भई आएपछि जिल्ला कार्यसमितिमा नयाँ–पुराना गरी हाल करीब १९ हजार क्रियाशील सदस्य हुनुहुनेछ । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा २०७७ साल पुस महिनादेखि पुनःशुरु गरिएको थियो । केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फतसमेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । १३ औँ महाधिवेशनका बेला जिल्लाका दश हजार क्रियाशील सदस्यमध्ये मृत्यु भएकाबाहेक ९८ प्रतिशतले नवीकरण गरेको जनाइएको छ ।

पार्टीले गत १३ औँ महाधिवेशनमा भएकाबाट १४औँ महाधिवेशसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरेको थियो । कांग्रेस नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु दुई सय र नयाँ सदस्यताका लागि रु तीन सय तोकेको थियो । नेपाली कांग्रेस केन्द्रीय समितिको गत असार ४ गते सम्पन्न बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । निर्वाचन कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २६ गते र प्रदेश अधिवेशन आउदो भदौ १ र २ गते निर्धारण गरिएको बताइएको छ । रासस