जापानमा आयोजना हुने ३२औँ ग्रिष्मकालीन ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सन्तोष श्रेष्ठ टोकियो जाने पक्का भएको छ । जापान प्रस्थान गर्नुअघि गरिएको कोराना परीक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो । उहाँ ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक हुनुहुन्थ्यो । नेपालका तर्फबाट एथलेटिक्समा प्रशिक्षकका रुपमा मल्ल सहभागी हुने निर्णय भएअनुसार उहाँको सहभागिताका लागि आवश्यक तयारीको सिलसिलामा कोभिड–१९ को पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिडसम्बन्धी नियमानुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उहाँको स्थानमा पहिलेको सूचीमा एक्रिडेशन कार्ड भइसकेका प्रशिक्षक श्रेष्ठ जाने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । एथलेटिक्स टोली यही जुलाई २५ तारिखमा टोकियो जाने तालिका छ । चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने बताइएको छ । ओलम्पिक यही जुलाई २३ देखि अगस्त ८ तारिखसम्म हुनेछ ।
यो पनि – खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका प्रमुख डा तारा पोखरेललगायत पदाधिकारीलाई आज कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिनुभयो ।
कोभिड महामारीको तेस्रो लहरको तयारी, महामारी व्यवस्थापन, खोप अभियानलाई चुस्त, प्रभावकारी, झन्झटमुक्त, भीडभागरहित ढङ्गले खोप लगाउन उहाँले निर्देशन दिनुभयो । खोप लगाउन लामो समयसम्म लामबद्ध भएर बस्नुपर्ने अवस्थाको अन्त्य, जनशक्ति तथा खोप केन्द्र थप गर्ने र महामारी नियन्त्रणमा दत्तचित्त भएर लाग्न प्रधानमन्त्री देउवाले निर्देशन दिनुभयो ।
कोभिड–१९ महामारीको पछिल्लो स्थिति सम्भावित तेस्रो लहरविरुद्धको पूर्वतयारी, जारी खोप अभियान, चुनौती तथा आगामी योजनाबारे पनि उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार खोप कार्यक्रमलाई अझ व्यवस्थित तुल्याउन आजै सचिव अर्यालले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुखसँग सामूहिक छलफल गरी जनशक्ति एवम् खोप केन्द्र बढाउन निर्देशन दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो पनि – प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद साकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउनुभएको छ । पुनस्र्थापित प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने मुलुकको लक्ष्यमा दत्तचित्त भएर लाग्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख सापकोटाले मुलुकले अवलम्बन गरेको निर्वाचन प्रणाली र नेपालको व्यावहारिक यथार्थका दृष्टिले पनि सहमति, समझदारी र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नुपर्ने अभिभारा रहेको र यसबाट मात्र संवैधानिक प्रणालीले गतिशीलता प्राप्त गर्न सक्छ भन्नुभयो ।
“प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसरमात्र प्राप्त भएको छैन यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम् दायित्व पनि थपिएको छ”, भन्दै सभामुख सापकोटाले सिङ्गो संसद्, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एवं प्रतिनिधिसभा सदस्यको रचनात्मक भूमिका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानसभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनस्र्थापना गर्ने सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।
सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकाले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छाअनुसार जनप्रतिनिधिमूलक संसद्बाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई सदालतको फैसलाले पुनस्र्थापित गरेको उहाँले बताउनुभयो । प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरेको उहाँले स्मरण गर्नुभयो ।
सभामुख सापकोटाले विगतको तुलनामा संसद्लाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याको निकास दिने आधिकारिक थलोका रुपमा संविधानमा नै स्थापित गरिएको पुनः प्रमाणित भएको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था पुनस्र्थापित भएकामा सबै प्रतिनिधिसभा सदस्यलाई बधाईसमेत दिनुभएको छ । सभामुख सापकोटाले सभाको सार्वभौम अधिकारलाई पुनस्र्थापित गर्न आफ्नोतर्फबाट योगदान पु¥याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चारजगत्, नागरिक समाज एवं आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । रासस
प्रतिक्रिया