राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । जसअनुरूप ठाकुर पक्षका सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय भएको सांसद उमाशङ्कर अरगरियाले जानकारी दिनुभयो । कांग्रेस र ठाकुर पक्षीय सांसदबीच सङ्घीय संसद् भवनमा भएको छलफलपछि विश्वासको मत दिने निर्णय भएको भएको थियो । ठाकुर पक्षले उठाएको मुद्दामा प्रधानमन्त्री सकरात्मक भएपछि ठाकुर पक्षले मत दिने निष्कर्षमा पुगेको बताइएको छ ।
यसअघि शनिबार जसपाकै उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद हुनुहुन्छ । सो पार्टीको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ ।
यो पनि – संसदीय राजनीतिमा विकृत घटना दोहोरियो : नेता ज्ञवाली
रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै उहाँले विगतमा पनि नेपाली कांग्रेस र एमालेका आफ्नै सांसद्ले मत नदिँदा ती पार्टी नेतृत्वका सरकार ढलेर संसदीय राजनीतिमा विकृति भित्रिएको स्मरण गर्नुभयो ।
“प्रश्न को सरकारमा गयो वा गएन भन्नेमा होइन, प्रश्न संसदीय प्रणाली बलियो भयो कि भएन भन्ने हो । सही खेल भयो कि भएन भन्ने हो”, एमालेका प्रवक्ता ज्ञवालीले भन्नुभयो । उहाँले भन्नुभयो, “विसं २०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएका बेला सदनमा आएर अविश्वासको प्रस्तावमाथि जवाफसमेत दिन नपाई हटाइएको थियो ।” उहाँले आफ्नो पार्टीलाई अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको टिप्पणी गर्नुभयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राष्ट्रियता, शान्तिपूर्ण राजनीतिको यात्राको थालनी, विकास र समृद्धिका क्षेत्रमा गरेका कामलाई जनताले सम्झिइरहने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वाेच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय राजनीतिका लागि दूरगामी प्रभाव पर्ने खालको भएकाले एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसक्ने स्पष्ट गर्नुभयो । रासस
प्रतिक्रिया