प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उहाँले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन् । विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ ।” राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उहाँले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।
नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभयो, “मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ ।” मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उहाँले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गर्नुभयो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहनुभएको छ ।विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ ।
यो पनि – प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद साकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउनुभएको छ । पुनस्र्थापित प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने मुलुकको लक्ष्यमा दत्तचित्त भएर लाग्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख सापकोटाले मुलुकले अवलम्बन गरेको निर्वाचन प्रणाली र नेपालको व्यावहारिक यथार्थका दृष्टिले पनि सहमति, समझदारी र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नुपर्ने अभिभारा रहेको र यसबाट मात्र संवैधानिक प्रणालीले गतिशीलता प्राप्त गर्न सक्छ भन्नुभयो ।
“प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसरमात्र प्राप्त भएको छैन यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम् दायित्व पनि थपिएको छ”, भन्दै सभामुख सापकोटाले सिङ्गो संसद्, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एवं प्रतिनिधिसभा सदस्यको रचनात्मक भूमिका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानसभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनस्र्थापना गर्ने सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।
सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकाले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छाअनुसार जनप्रतिनिधिमूलक संसद्बाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई सदालतको फैसलाले पुनस्र्थापित गरेको उहाँले बताउनुभयो । प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरेको उहाँले स्मरण गर्नुभयो ।
सभामुख सापकोटाले विगतको तुलनामा संसद्लाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याको निकास दिने आधिकारिक थलोका रुपमा संविधानमा नै स्थापित गरिएको पुनः प्रमाणित भएको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था पुनस्र्थापित भएकामा सबै प्रतिनिधिसभा सदस्यलाई बधाईसमेत दिनुभएको छ । सभामुख सापकोटाले सभाको सार्वभौम अधिकारलाई पुनस्र्थापित गर्न आफ्नोतर्फबाट योगदान पु¥याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चारजगत्, नागरिक समाज एवं आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । रासस
प्रतिक्रिया