राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ ।”
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राख्नुभएको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका दुर्गा पौडलले अदालतले दिएको आदेश, संविधानको मर्म र भावना तथा विगतको सरकारका कमी कमजोरीबाट शिक्षा लिएर राम्रा काम गर्न सरकारलाई सुझावका साथ पक्षमा मतदान गर्ने निर्णय सुनाउनुभयो ।नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले जनता र मजदूरको हितमा ठूला दलले काम नगरेकाले पक्ष वा विपक्ष मतदान नगरी तटस्थ रहेको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्रीको जवाफ
आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी राख्नुभएको प्रस्तावका सम्बन्धम सांसदले उठाएका प्रश्नको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र र राष्ट्रियताको पक्षमा अदालतको निर्णय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै जातजाति समुदायको देश भएकाले विकास र समृद्धिका लागि मिलेर काम गर्न तयार छु, हामी मिलेर काम गरौँ । सरकारको अहिलेको प्राथमिकता कोरोना खोप नै हो ।” प्रधानमन्त्री देउवाको जवाफपछि विश्वासको प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम अघि बढेको छ ।
यो पनि – समृद्धिका लागि भौतिक पूर्वाधारको विकास : ऊर्जा मन्त्री
सरकारले आर्थिक समुन्नतीलाई केन्द्रमा राखेर पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पूर्वाधार क्षेत्रको विकासविना देश समृद्ध हुन नसक्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभएको हो । ५९औँ इञ्जिनीयर्स दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सबै नेपाली मिलेर समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले भन्नुभयो, “इमान्दार भएर तीव्र विकासको गतिमा लाग्नुपर्छ ।” देशलाई समृद्ध बनाउने क्षेत्र बाटोघाटो, कलकारखाना, जलविद्युत्लगायत विभिन्न ऊर्जा विकासका आयोजनाका लागि विज्ञान र प्रविधिको विकास आवश्यक छ ।
नेपालको कुनाकाप्चामा आफ्नो जिम्मेवारी निर्वाह गर्दै कार्यक्षेत्रमा खटिएका इञ्जिनीयर एकै स्थानमा भेला भई आफ्ना अनुभव साटासाट गरी आपसी एकता, सद्भाव तथा सहकार्यको वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । ‘समृद्ध नेपाल निर्माणको लागि सुरक्षित इञ्जिनीयरिङ पेशा’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा इञ्जिनीयरको सहायताविना कुनै प्रकारको भौतिक सुविधा प्राप्त गर्न कठिन रहेको मन्त्री भुसालको भनाइ थियो । उहाँले भन्नुभयो, “समाज रुपान्तरण, राष्ट्रिय विकास, आर्थिक समृद्धिको बाटो कोर्ने र जनताको आवश्यकता, चाहानालाई विश्वको अनुभव र राज्यको परिकल्पनाअनुसार विकास गराउने मुख्य नायक नै इञ्जिनीयर हुन् ।”
मन्त्री भुसालले राष्ट्रलाई समृद्ध बनाउँदै र जनतालाई सुखी बनाउने कार्य इञ्जिनीयरको हातमा रहेको बताउनुभयो । देशलाई अल्पविकसितबाट विकसिततर्फ स्तरोन्तरण गर्दै दिगो विकासका लक्ष्य निर्धारित गरी समयमा नै लक्ष्य हासिल गर्न देशको विकासलाई तीव्र गराई जनतामा सुखी ल्याउने कार्यमा इञ्जिनीयरको सहायता पाउने अपेक्षा रहेको उहाँको भनाइ छ । चीन, सिङ्गापुर, दक्षिण कोरिया जस्ता राज्यले विकासमा फड्को मार्नुमा इञ्जिनीयरको प्रमुख योगदान रहेको उदाहरण दिँदै उहाँले इञ्जिनीयर समुदाय नै समृिद्धको मुख्यवाहक रहेको बताउनुभयो । सुरक्षित र प्रभावकारी इञ्जिनीयरिङ कसरी गर्न सकिन्छ भन्नेलगायत विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । रासस
प्रतिक्रिया