पहिरोका कारण गलेश्वरपारिको बस्ती उच्च जोखिममा

पहिरोका कारण गलेश्वरपारिको बस्ती उच्च जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, ४ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन् । गत वर्षदेखि सडक निर्माण थालिएको थियो । कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन् । जेठको पहिलो सातादेखि नै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताउनुभयो । कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छन्त्यालले बताउनुभयो । “बस्तीमाथिको पाखोबाट खसेको पहिरोले घर पुर्न लागेको छ । दुई महिनायता राति निदाउन पाएका छैनौँ”, छन्त्यालले भन्नुभयो, “३५ वर्षदेखि बसेको थातथलो छोडेर कहाँ जाने ? हामीहरुलाई चिन्ता लागेको छ ।” गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । यहाँका कतिपय बासिन्दा घर छोडेर हिँड्ने तर्खरमा रहेका र कतिले वल्लो गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताउनुभयो ।

बस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि कुनै काम नभएको स्थानीयवासी बताउँछन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा परेको गलेश्वरवासीको भनाइ छ । सडक निर्माण गर्दा लापर्बाही भएका कारण बस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको स्थानीय बुद्धिजीवी दीपक कार्की विखर्चीले बताउनुभयो । जथाभावी खनिएका सडकका कारण गलेश्वरपारिको बस्ती मात्रै होइन म्याग्दीका १९ वटा बस्तीका सयौँ घर र परिवार जोखिममा छन् । रासस

यो पनि – प्रधानमन्त्री देउवालाई १६५ सांसदद्वारा विश्वासको मत

काठमाडौँ, ३ साउन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो । सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

यो पनि – प्रधानमन्त्री देउवालाई जसपाको समर्थन

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वास मतका लागि पेश गर्नुभएको प्रस्तावमाथिको छलफलमा उहाँले नेपाली कांग्रेसले मतका लागि गरेको लिखित पत्राचारका आधारमा पार्टीले समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री केपी शर्माले पार्टीले उठाएका केही विषय सम्बोधन गरेको स्मरण गर्दै उहाँले विगतका सरकारले मधेश आन्दोलनका सम्बन्धमा भएका सहमति कार्यान्वयन नभएकाप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो । सोही दलका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको भावना विपरीत प्रतिनिधिसभा पटकपटक विघटन गर्ने कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो तुल्याउन नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सर्वाेच्चको फैसलाले देश र सबै नागरिकको हित गरेको छ, त्यसको सम्मान गरौँ, संरक्षण गरेर अघि बढौँ । जनताको सार्वभौमस्थल प्रतिनिधिसभालाई नमान्नेविरुद्ध निर्णय आएको छ ।”

गत पुसदेखि जेठसम्ममा भएका निर्णय मुलुक र लोकतन्त्र विरुद्धमा गएपछि अदालतले त्यसलाई रोक्न सफल भएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले दलहरू एक ठाउँमा उभिएर संविधान र लोकतन्त्रलाई बचाउने कार्यमा योगदान पु¥याउन आग्रह गर्नुभयो । मधेश मुद्दालाई सत्तामा चढ्ने भ¥याङ नबनाउन सुझाव दिँदै उहाँले सहमति कार्यान्वयनमा इमान्दर हुन सरकारसँग आग्रह गर्नुभयो । रासस