जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदी/थुनुवामात्रै राख्नसक्ने छ । कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर ठहर गरी फैसला गरेअनुरुप सजाय काटी रहेका) छन् । यद्यपि थुनुवाको सङ्ख्या ३४० छ । तीमध्ये पाँच आश्रित बालबालिकासहित ३६ महिला र ३०४ जना पुरुष छन् ।
न्यायिक निकायले दैनिकजसो पठाउने थुनुवा अब कारागारले थेग्नै नसक्ने बनेको कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्र बताउनुहुन्छ । थुनुवा सङ्ख्या निकै बढेपछि धनुषा जिल्लाका न्यायिक निकायलाई अब अन्यत्र कारागारमा व्यवस्था गर्न अनुरोध गरिएको कारागार प्रशासनले जनाएको छ । धनुषामा कारागार नहुँदा मुख्य चाप नै त्यहाँको हुने गरेको मिश्रको भनाइ छ ।
“हाम्रो अनुरोधले केही दिनयतादेखि धनुषाका पुरुष थुनुवा आउन छाडेका छन्”, कारागार प्रमुख मिश्रले भन्नुभयो, “यसले पछिल्लो एक महिनाभित्र क्रमशः थुनुवा घट्दै गएका छन् ।” गत जेठसम्म लगभग ६०० पुगेको सङ्ख्या अहिले घटेर ५६१ मा झरेको मिश्रको भनाइ छ । कारागारमा फैसला ठीक समय (मुद्दा दर्ता भएको दुई वर्षभित्र) मा नहुँदा पाँच वर्षदेखि पुर्पक्ष क्रममा रहेका थुनुवाको सङ्ख्या उल्लेख्य रहेको कारागार प्रशासनले जनाएको छ । “पुराना मुद्दा समय तालिकाभित्र फैसला नहुने र पुर्पक्ष क्रममा दिनहुँ मान्छे पठाउँदै गर्ने न्यायिक निकायको आदेशले असजिलो बढाएको छ”, मिश्रले भन्नुभयो । पछिल्ला केही दिनयता धनुषाले पुरुष थुनुवा पठाउन छाडे पनि हाल कारागारमा रहेका कूल सङ्ख्याका कैदी/थुनुवामध्ये ६० प्रतिशतको हाराहारी धनुषाकै रहेका कारागार प्रशासनले जनाएको छ । दैनिक थपिनेमा कर्तव्य ज्यान, ला’गुपदार्थ दु’व्र्यसन र ज्यान मा’र्ने उद्योग मुद्दाका थुनुवा बढी आउने गरेका मिश्र बताउनुहुन्छ ।
निकै पुरानो जीर्ण कारागार भवनको बसाइ निकै त्रा’सदीपूर्ण हुने गरेको कैदी÷थुनुवा बताउँछन् । “पन्ध्र दिन पनि भएको छैन, मटिहानीमा संस्कृत माध्यमिक विद्यालयको पुरानो भवन ढलेको छ”, पुरुष र महिला गरी दुई छुट्टाछुट्टै कक्ष रहेको कारागारमा महिला कक्षकी एक थुनुवाले भन्नुभयो, “त्यो घटनायता दिनमा कैयन पटक हामी झस्कने गरेका छौँ ।” गत असार अन्तिम साता जिल्लाकै मटिहानीस्थित संस्कृत विद्यालयको १०० वर्ष पुरानो भवन ढलेको थियो । कारागारको छत र पर्खालबाट सिमेन्ट उप्किएर झर्ने गरेको र यो घटनाले भवन ढल्छ कि भन्ने त्रास हरदम रहने गरेको महिलाकक्षका कैदी÷थुनुवा बताउँछन् । जलेश्वरकै गहिरो ठाउँमा रहेको कारागारमा केहीबेर पानी पर्नासाथ निकासको प्रबन्ध नहुँदा कैदी/थुनुवाकक्षभित्र हिलाम्य हुने गरेको छ ।
कारागारको यो अवस्थाबारे मानवअधिकारवादी सङ्घ संस्थाले कारागार प्रशासन, जिल्ला प्रशासन र सुरक्षा निकायलाई सचेत गराउँदै आएका छन् । मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजय साह भन्नुहुन्छ, “भवनको अवस्थाबारे दक्ष प्राविधिकबाट यकिन हुनपर्छ, कारागारको क्षमताभित्र कैदी/थुनुवा राखिनु पर्छ, कैदी/थुनुवालाई भित्र सुरक्षित महसुस हुने वातावरण मिलाउने काम राज्यको हो ।” कारागारको भौतिक संसाधन, कैदी÷थुनुवाको चाप र अन्य व्यवस्थापनबारे उपल्लो निकायमा घचघच्याउने काम भइरहेको जनाइएको छ । रासस
प्रतिक्रिया