सुत्केरीलाई तीन महिना पौष्टिक खाना खुवाइने

सुत्केरीलाई तीन महिना पौष्टिक खाना खुवाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ४ साउन । दैनिक रोजगारी उपलब्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वृद्ध एवं सुकुम्बासी परिवारका सदस्यलाई भोको पेट बस्नु नपरोस् भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना खुवाउने कार्य आजदेखि शुरु गरेको छ । युनाइटेड नेशन वुमनको आर्थिक सहयोगमा माइती नेपाल र नारी विकास सङ्घ विराटनगरले संयुक्त रुपमा विराटनगरका १९ वडामा ९० दिनसम्म दैनिक बिहानको खाना खुवाउने कार्यक्रम रहेको छ । संस्थाले विराटनगर महानगरपालिका–१९ स्थित घिनहा सिसवनी मुसहरी बस्तीमा आज २५० जना सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई खाना वितरण गरेको छ ।

आगामी छ दिनसम्म उक्त स्थानमा खाना वितरण गर्ने कार्यक्रम रहेको छ भने अन्य दिन विराटनगरका अन्य वडामा सुकुम्बासी, दैनिक मजदूरी गर्ने स्थानीयवासीलाई खाना खुवाउने कार्यक्रम रहेको माइती नेपालका प्रमुख बिनो पोखरेलले बताउनुभयो । विराटनगर –१९ का वडाध्यक्ष बद्रीनारायण सरदार, नारी विकास सङ्घकी अध्यक्ष सीता शर्मा, एबिसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त, माइती नेपालका प्रमुख पोखरेललगायतले गरीब सुकुम्बासी एवं रोजगारविहीन तथा सुत्केरी महिलालाई अन्य सङ्घ संस्थाले भोको पेट बस्न नदिनका लागि थप सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

खाना खुवाउने कार्यक्र सञ्चालनका लागि स्वयमसेवकसहित १० जना कर्मचारीलाई खाना बनाउनका लागि रोजगारी दिइएको छ भने यसका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । संस्थाले कैलालीको धनगढी र काठमाडौँमा समेत आज यस प्रकारको कार्यक्रम सञ्चालन गरेको जनाएको छ । रासस

यो पनि –पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण

पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो । गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म पदमार्ग जोडिएको निर्माण समितिका अध्यक्ष गङ्गबहादुर काउचाले जानकारी दिनुभयो । उहाँका अनुसार ४५५ मिटरमा ढुङ्गाको ‘सोलिङ’ र ३५० मिटरमा सिँढी निर्माण गरिएको छ । पदमार्गमा स्थानीयवासीले रु ५० हजार बराबरको श्रमदानसमेत गरेका थिए । गत असार १५ गतेदेखि असार ३० गतेसम्म दैनिक ५० जना श्रमिक पदमार्ग निर्माणमा खटिएका थिए । श्रमिकले एक दिनको रु ५१७ का दरले ज्याला पाएको समितिले जनाएको छ ।

वर्षायाममा जोखिम मोलेर पदमार्गको काम गरिएको अध्यक्ष काउचाले बताउनुभयो । व्यवस्थित पदमार्ग बनेपछि घुम्टे आउजाउ गर्न सहज हुने भएको छ । “घुम्टे चढ्ने पर्यटकलाई लक्षित गरी पदमार्ग बनाइएको हो, यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ”, सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर पुनले बताउनुभयो । पदमार्गले घुम्टे चढ्न सजिलो र छरितो बनाएको उहाँको भनाइ छ । सिद्धथानका सात घरमा सामुदायिक घरबास सेवा छ । घरबाससँग घुम्टेको पर्यटन पनि जोडिएको छ । तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे जिल्लाकै आकर्षक गन्तव्यस्थलमा पर्छ । त्यहाँ बर्सेनि वैशाखे पूर्णिमा र नयाँ वर्षका अवसरमा मेला लाग्ने गर्छ । घुम्टेको धुरीमा रहेको सिद्ध र भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमै गुराँस उत्सव आयोजना गर्दै आएको छ । जैविक विविधताले भरिएको घुम्टेमा चैत÷वैशाखमा दर्जनौँ थरीका गुराँस फुल्छन् । घुम्टेको चुचुरोबाट छिमेकी जिल्लाका समेत रमणीय ठाउँको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त पखको दृश्यावलोकनका लागि घुम्टे उपयुक्तस्थल हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाभित्र समेटिएको घुम्टे लेक चढ्न यसअघि हरिचौर, मल्म हुँदै पनि पदमार्ग जोडिएको छ । घुम्टेलाई सडक सञ्जालसँग जोड्न अहिले मार्ग खोल्ने काम भइरहेको छ ।

यो पनि – बिरिङमा पक्की बाँधपछि हट्यो नदी कटान र डुबानको समस्या

हरेक वर्ष बिरिङ खोलामा आएको बाढीले डुबान र कटानको समस्या झेल्दै आएका बाह्रदशी गाउँपालिकावासीले यो वर्ष भने राहतको महसुस गरेका छन् । बाह्रदशी–५ भएर बग्ने बिरिङ खोलाको पूर्वी क्षेत्रमा पक्की बाँध बाँधिएपछि गाउँपालिकावासीले राहतको महसुस गरेका हुन् । सङ्घीय सरकारअन्तर्गत जनताको तटबन्ध फिल्ड कार्यालय गैँडेको रु तीन करोडको लागतमा बिरिङ खोलाको पूर्वी भू–भागमा तटबन्ध गरिएसँगै बाह्रदशीवासी डुबान र कटानको समस्याबाट मुक्त भएको बाह्रदशी–५ का वडाध्यक्ष भूपेन्द्र कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष वर्षायाममा वडा नम्बर ५ को पश्चिमी क्षेत्रबाट बिरिङ खोलाको पानी बस्तीमा पसेर डुबान हुने गरेको थियो तर यो वर्ष झण्डै एक किलोमिटर खोलाको तटीय क्षेत्रमा बाँध बाँधेपछि डुबान र कटानको समस्या हल भएको हो ।

“सो वडास्थित बिरिङ खोलाको तटीय भू–भागमा तटबन्ध गरिएसँगै वडा नम्बर ५ सहित १, २, ३ र ४ नम्बर क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्”,– वडाध्यक्ष कटुवालले भन्नुभयो । यसअघि वडा नम्बर ७ को डाँगीबारी पश्चिम पनि बिरिङ खोलामा पक्की बाँध बाँधेका कारण सिङ्गो डाँगीबारी बजार सुरक्षित भएको छ । अघिल्लो आर्थिक वर्ष यो क्षेत्रमा दुई चरण गर्दै झण्डै रु पाँच करोडको लागतमा बिरिङ खोलामा बाँध बाँधिएको बाह्रदशी–७ का वडाध्यक्ष मित्रराज भट्टराईले जानकारी दिनुभयो । हरेक वर्ष बिरिङ खोलामा आउने बाढीले यो क्षेत्रको सयौँ बिघा खेती योग्य जमीन डुबानमा पर्ने गरेको थियो भने नदी कटानको समस्याले बस्ती नै सार्नुपर्ने अवस्था थियो । वडाध्यक्ष भट्टराईले भन्नुभयो, “बिरिङ खोलामा बाँध बाँधेपछि सिङ्गो बाह्रदशीवासी सुरक्षित छौँ ।”

तटबन्ध गरिएको क्षेत्रमा राजमार्ग जोड्ने कृषि सडक निर्माण गर्ने र सडक किनारमा रुद्राक्षका बिरुवा लगाउने योजना रहेको बताइएको छ । खोला किनारमा तटबन्धसँगै कृषि सडक निर्माण गरेको खण्डमा कृषकलाई समेत आफूले उत्पादन गरेको अनाज घर र बजार लान सहज हुने बताइएको छ । खोला किनारमा वृक्षरोपणका लागि डिभिजनल वन कार्यालय झापालाई रुद्राक्षको बिरुवा उत्पादन गर्न सहयोग पु¥याइदिन आग्रहसमेत गरिएको वडाध्यक्ष कटुवालले बताउनुभयो ।रासस

यो पनि– पहिरोका कारण गलेश्वरपारिको बस्ती उच्च जोखिममा

गलेश्वर, ४ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन् । गत वर्षदेखि सडक निर्माण थालिएको थियो । कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन् । जेठको पहिलो सातादेखि नै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताउनुभयो । कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छन्त्यालले बताउनुभयो । “बस्तीमाथिको पाखोबाट खसेको पहिरोले घर पुर्न लागेको छ । दुई महिनायता राति निदाउन पाएका छैनौँ”, छन्त्यालले भन्नुभयो, “३५ वर्षदेखि बसेको थातथलो छोडेर कहाँ जाने ? हामीहरुलाई चिन्ता लागेको छ ।” गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । यहाँका कतिपय बासिन्दा घर छोडेर हिँड्ने तर्खरमा रहेका र कतिले वल्लो गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताउनुभयो ।

बस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि कुनै काम नभएको स्थानीयवासी बताउँछन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा परेको गलेश्वरवासीको भनाइ छ । सडक निर्माण गर्दा लापर्बाही भएका कारण बस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको स्थानीय बुद्धिजीवी दीपक कार्की विखर्चीले बताउनुभयो । जथाभावी खनिएका सडकका कारण गलेश्वरपारिको बस्ती मात्रै होइन म्याग्दीका १९ वटा बस्तीका सयौँ घर र परिवार जोखिममा छन् । रासस

यो पनि – प्रधानमन्त्री देउवालाई १६५ सांसदद्वारा विश्वासको मत

काठमाडौँ, ३ साउन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो । सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।