काठमाडौँ, ४ साउन । काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई उक्त खोप दिइने व्यवस्था गरिएको छ ।
कामपाले यसपटक करीब ७६ हजार मात्रा खोप माग गरेको छ । सरकारले खोपका लागि तोकेका समूहको सङ्ख्यालाई २०६८ को जनगणना र जनसङ्ख्या वृद्धि दरका आधारमा विश्लेषण यो सङ्ख्यामा खोप मागेको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ । जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । खोप केन्द्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल पानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, पिपल्स डेण्टल तथा जनरल अस्पताल सोह्रखुट्टे, हिमाल अस्पताल ज्ञानेश्वर, सामुदायिक स्वास्थ्यसेवा परिषद डल्लु, छत्रपाटी निःशुल्क चिकित्सालय छत्रपाटी र जनमैत्री अस्पताल बालाजुमा तोकिएको छ ।
त्यसैगरी मनमोहन अस्पताल स्वयम्भू, काठमाडौँ मोडल अस्पताल प्रदर्शनी मार्ग, ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर धुम्बाराही, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, नेशनल हस्पिटल कलङ्की, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र गौशाला, कान्तिपुर अस्पताल तीनकुने, राधास्वामी आइसोलेशन सेन्टर बसुन्धरा र जनकल्याण माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ ।
नरदेवी आयुर्वेद अस्पताल नरदेवी, महेन्द्रनारायणनिधि अस्पताल बसुन्धरा, नेपाल भारत मैत्री अस्पताल चावहिल, मेट्रो अस्पताल नारायण गोपाल चोक, इरा इन्टरनेशनल अस्पताल सोह्रखुट्टे र हेल्पिङ् ह्याण्ड्स अस्पताल चावहिलमा केन्द्र रहेको छ । कामपाले हालसम्म सात प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएको छ भने १६ प्रतिशत नागरिकले एक मात्रा मात्र खोप लगाएका छन् । रासस
यो पनि – आज साउनको पहिलो सोमबार : मन्दिर परिसरमै पूजाआराधना
काठमाडौँ, ४ साउन । साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी छ । मूल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजन पशुपति क्षेत्रका शिवालयमा पूजाआराधना एवं दर्शन गरेर फर्किएका छन् ।
राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।
घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमबार परेको छ ।
पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
प्रतिक्रिया