पछिल्लो २४ घन्टामा थप २, ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप २, ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २  हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,८३३  पीसीआर र ३८३१ एन्टीजेन परीक्षणमा २,४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ४९ हजार ७४३  पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि –विद्यालय तहका शिक्षामा चुनौती बन्दै कोरोना कहर

गण्डकी, ४ साउन। कोरोना कहरका बाबजुद विभिन्न प्रक्रिया अपनाएर विद्यार्थीको कक्षोन्नति गरिए पनि माथिल्लो कक्षामा पुगेका विद्यार्थी भने अझै विद्यालय पुग्न पाएका छैनन् ।कोरोनाको महामारी बढिरहेका अवस्थामा सरकारले जिल्ला जिल्लामा घोषणा गरेको बन्दाबन्दीसँगै यसको डरका कारण विद्यालयले अझै भौतिकरुपमा विद्यार्थीलाई कक्षाकोठामा बोलाउन सकेका छैनन् । विद्यालय जानुपर्ने आफ्ना बालबच्चा घरमा नै रोकिनुपर्दा अभिभावकमा पनि चिन्ता छ । भौतिक उपस्थितिमा पठनपाठन गर्न सकिने अवस्था नरहेको भन्दै यतिखेर विभिन्न विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गरे पनि त्यो विद्यालय, शिक्षक तथा अभिभावक सबैका लागि झण्झटिलो भएको छ ।

सामान्य कामकाज गरी दैनिकी गुजार गर्दै आएका सर्वसाधारणका लागि विद्यालयले सञ्चालन गर्न थालेको अनलाइन कक्षामा आफ्ना बालबच्चा सहभागी गराउनका लागि इन्टरनेट जडान गर्नु बाध्यता बनेको छ । सहजरुपमा अनलाइन कक्षा सञ्चालन हुन नसकेका स्थानमा अभिभावक बालबच्चा घरमै बस्दा बिग्रने हुन् कि भन्ने चिन्तामा रहेका छन् । यस्तो अवस्थामा कास्की जिल्लाका कतिपय सामुदायिक विद्यालयले अनलाइन कक्षाको विकल्पमा घुम्ती कक्षा सञ्चालनको सोच बनाए पनि त्योसमेत प्रभावकारी बन्न सकेको छैन । कास्कीको अन्नपूर्ण गाउँपालिका– ६ लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयले विद्यार्थी तथा अभिभावकको चिन्तालाई दृष्टिगत गर्दै घुम्ती कक्षा सञ्चालन गर्ने सोच बनाएकामा वडाकै ढावा भन्ने स्थानमा हालै छ जनामा कोभिड पुष्टि भएपछि केही दिनका लागि उक्त काम स्थगित गरेको छ । विद्यालयका शिक्षक सन्तोष सुवेदीका अनुसार ढावामा छ जनालाई कोभिड–१९ पुष्टि भएपछि वडाले १० दिनसम्म्का लागि सम्पूर्ण गतिविधिमा रोक लगाएको छ । “गाउँगाउँमा इन्टरनेटको समस्याका कारण अनलाइन कक्षा पनि सम्भव हुने देखिँदैन”, उहाँले भन्नुभयो, “वैकल्पिक कक्षा सञ्चालनका लागि पनि कोरोनाको महामारी अझै कायमै रहँदा समस्या आउने गरेको छ ।”

जिल्लामा सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने गरी काम भइरहेको बताउने जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख नारायण सुवेदी विद्यालयमा इन्टरनेट भएर पनि घरघरमा सर्वसाधारणको पहुँचमा इन्टरनेट नहुँदा समस्या पर्ने गरेको बताउनुभयो । जिल्लामा लगभग ४०० को सङ्ख्यामा सामुदायिक विद्यालय छन् भने २२८ संस्थागत विद्यालय छन् । शहरी क्षेत्रमा अनलाइन कक्षा केही मात्रामा सहज भए पनि गाउँमा भने अझै समस्या रहेको छ । नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी विद्यालयमा भर्ना भई विद्यालय तथा शिक्षकको सम्पर्कमा पुगिसके पनि भौतिकरुपमा उपस्थित भई अध्ययनअध्यापन गर्न भने अझै सहज भई÷नसकेको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो ।

शहरी क्षेत्रका कतिपय विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावक बन्दाबन्दीसँगै काम बन्द भएपछि घर गएको र त्यसपछि फर्किनसकेका कारण अझै विद्यालयसँग सम्पर्कमा पुगिनसकेको उहाँले बताउनुभयो ।प्रमुख आचार्यका अनुसार महानगरपालिकाभित्र हाल २०७ सामुदायिक विद्यालय छन् भने १७४ संस्थागत विद्यालय छन् । महानगरभित्रका अधिकांश विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिसकेको र पाठ्यपुस्तक पनि विद्यार्थीको हातहातमा पुगिसकेको उहाँले जानकारी दिनुभयो ।

कोरोना कहरका कारण अघिल्लो वर्षदेखि अनलाइन कक्षा सञ्चालनको प्रयासमा विद्यालय जुटेपनि प्रविधिको प्रयोगमा विद्यार्थी तथा अभिभावक अझै अभ्यस्त भई नसकेका कारण समस्या पर्ने गरेको गुरुकूल विद्याश्रम, पावर हाउसका प्राचार्य मिलन केसीले बताउनुभयो । “कतिपय अभिभावकले मोबाइल प्रविधिबारे बुझ्न नसक्दा आफ्ना बालबच्चा के कसरी पढिरहेको छन् भन्ने सम्बन्धमा जानकारी लिन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “एउटै घरमा दुई वा दुईभन्दा बढी बालबच्चाले अनलाइन पढ्नुपर्दा डिभाइसको पनि समस्या पर्ने गरेको छ ।”

अनलाइन कक्षा सञ्चालन भइरहेका अवस्थासँगै बन्दाबन्दी केही खुकुलो बन्दै जान थालेपछि कतिपय विद्यार्थीका अभिभावक काममा जान थालेका कारण विद्यार्थीले पढाइमा ध्यान नदिइ मोबाइल तथा डिभाइसको दुरुपयोग गर्छन् कि भन्ने चिन्ता पनि थपिएको छ । विद्यार्थीलाई भौतिकरुपमा विद्यालयमा उपस्थित गराउन नसके पनि अनलाइन प्रविधिको प्रयोगबाट कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेतर्फ आफूहरू सचेत भएको प्राचार्य केसीको भनाइ छ । रासस