बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ५ साउन । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताउनुभयो ।

अत्यावश्यक सेवा भने सञ्चालन गरिने उहाँको भनाइ छ । उहाँले मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको बताउनुभयो । वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको बताउनुभयो । पछिल्लो समय कोरोना सङ्क्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि तथा स्थानीय प्रशासनको संयुक्त बैठकले सो निर्णय गरेको हो । कोरोना सङ्क्रमितहरु नै बजारसम्म तरकारी किन्न जाने र बेवास्ता गर्दै खुलेआम हिँडिरहने कारण पनि कोभिड–१९ को सङ्क्रमण दर बढेको उहाँको भनाइ छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा मात्र १४ जनाको मृत्यु भइसकेको बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र हालसम्म ३५० सक्रिय सङ्क्रमित रहेका छन् । रासस

यो पनि – गाउँपालिका केन्द्र निर्धारणको विरोधमा स्थानीयवासीको र्याली

सोलुखुम्बु, ५ साउन । यहाँको महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै दुई दिनदेखि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । सर्वसम्मतिमा केन्द्र निर्धारण गर्न नसकेको गाउँपालिकाले मतदान प्रक्रिया अपनाए पनि स्थानीयवासीले भने विरोध जनाएका छन् । गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार उपलब्ध भएको चारवटै स्थानमा सहमति नजुटेपछि शनिबार मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने गरी छनोट गरिएको थियो ।

गाउँपालिकाको वडा नं १ मा पर्ने उक्त स्थान अपायक पर्ने भएकाले सोही वडाको गत्तेल या चौखिदोमा हुनुपर्ने मागसहित स्थानीयवासी आन्दोलित बनेका हुन् । जनप्रतिनिधिको निर्णय गलत भएको भन्दै स्थानीयवासीले आइतबारदेखि गाउँपालिका केन्द्रमा नारा, जुलुस जारी राखेका छन् । गाउँपालिका अध्यक्ष सागर किराँतीको पुत्ला दहन गरेका स्थानीयवासीले निर्णय सच्याउनुपर्ने, स्थानीयवासीको मागअनुसार सम्बोधन हुनुपर्नेलगायतका माग राखेका छन् । गाउँपालिकाले माटो परीक्षणदेखि भूगर्भविद्समेतलाई जग्गा व्यवस्थापन समितिमार्फत प्राप्त चारवटै ठाउँको रिपोर्ट गुपचुपमा राखेको स्थानीयवासी दुतिमान कुलुङले बताउनुभयो ।

गाउँपालिकाको लाखौँ खर्चबाट प्राविधिक टोली ल्याएको भए पनि त्यसको रिपोर्ट सार्वजनिक नहुनु र सबैलाई केन्द्र हुने स्थान उपलब्ध हुँदाहुँदै बस्ती नै नरहेको एकान्तमा रहेको जग्गामा बढी मत आउनु षड्यन्त्रपूर्ण रहेको कुलुङको भनाइ छ । स्थानीयवासी आन्दोलनमा उत्रिँदासमेत गाउँपालिकाका जनप्रतिनधिले बेवास्ता गर्दा समस्या थपिँदै जाने कांग्रेसका नेता सुवास कुलुङले बताउनुभयो ।

जनप्रतिनिधिसमेत किनबेचमा लाग्दा आम महाकुलुङवासीले दुःख पाउने भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । यस विषयमा गाउँपालिका अध्यक्ष किराँतीसँग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । यता वडा नं ४ का वडाध्यक्षसमेत रहनुभएका कार्यपालिका सदस्य जयकुवेर राईले भने भौगोलिक हिसाबसँगै भविष्यका लागि सर्सिलामा केन्द्र राख्न उपयुक्त हुने दाबी गर्नुभयो । भूगोलका हिसाबले बलियो, सहज सञ्चारको पहुँच, खुला स्थान र दुई गाउँपालिका मिलेर नगरपालिका बन्ने अवस्थामा उपयुक्त हुनेलगायतका कारण उक्त स्थानमा बढी मत आएको उहाँको भनाइ छ ।

यता वडा नं २ का वडाध्यक्ष प्रदीप कुलुङले भने क्षेत्रगत हिसाबमा सर्सिला अपायक पर्ने बताउनुभयो । साविक बुङ गाविसलाई समेत उक्त क्षेत्रमा सेवा लिन सहज नहुने उहाँको तर्क छ । अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । स्थानीयवासीले गाउँपालिकामा तालाबन्दी गर्ने बताउँदै आएका छन् भने प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलन भड्किन सक्ने अवस्थामा बल प्रयोग गर्न बाध्य हुने बताउँदै आएको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक दिनेश शर्माले आफूहरुको टोलीसमेत त्यस क्षेत्रमा पुगेकाले भौतिक संरचनामा तोडफोड हुने अवस्थामा बल प्रयोगको सिद्धान्त लागू गरिने बताउनुभयो । यता नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक कवित कटवालले शान्ति, सुरक्षा मजबुत रहेको बताउनुभयो । वार्ता र संवादका माध्यमबाट सहमति खोजिनुपर्ने भन्दै उहाँले तोडफोडजन्य कार्यमा नउत्रन आग्रहसमेत गर्नुभयो ।

विसं २०७६ मङ्सिर २ गतेको कार्यपालिका बैठकको निर्णयानुसार हालको गाउँपालिका केन्द्रलाई आधार मानी पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ एक किलोमिटर क्षेत्रभित्र निःशुल्क जग्गा उपलब्ध गराउने सार्वजनिक सूचना जारी गरिएको थियो । यस्तै गाउँपालिकाद्वारा २०७६ जेठ ७ गते जग्गा व्यवस्थापन समितिसमेत गठन गरिएको थियो । उक्त व्यवस्थापन समितिले सर्सिलामा ६८ रोपनी, गत्तेल र चौखिदोमा ३५ रोपनी जग्गा उपलब्ध हुने बताएपछि गाउँपालिकाले भूगर्भविद्सहितको टोली ल्याई माटोसमेत परीक्षण गरेको थियो । यद्यपि उक्त ठाउँमध्ये न कुनैमा सहमति जुट्यो न त रिपोर्ट नै सार्वजनिक भयो । यसबाट अहिले नारा, जुलसको अवस्था सिर्जना भएको स्थानीयवासी बताउँछन् ।

सोलुखुम्बुको थुलुङदूधकोशी, लिखुपिके, खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाहेकले अझै पनि केन्द्र निर्धारण गर्न सकेका छैनन् । माप्य दूधकोशी र नेचा सल्यान गाउँपालिकाले जग्गा व्यवस्थापनमै चार वर्ष बिताइसकेका छन् भने थुलुङदूधकोशीले यसअघि नै केन्द्रको टुङ्गो लगाएसँगै प्रशासनिक भवनसमेत निर्माण गरिसकेको छ । रासस