तनहुँको अकला मन्दिरमा मूर्ति चोरी

तनहुँको अकला मन्दिरमा मूर्ति चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो । प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ । आज बिहान पुजारी मन्दिरमा दैनिक नित्य पूजाका लागि जाँदा मात्रै मन्दिरमा मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जानकारी दिनुभयो ।

घटनापश्चात प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्रहार भएको उहाँले बताउनुभयो । उक्त कार्यमा संलग्न कोही श’ङ्कास्पद व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उहाँले सबैमा आग्रहसमेत गर्नुभएको छ । यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौँ रहेकाले केही जानकारी नपाएको बताउनुभयो ।

यो पनि – पुम्दिकोटको विशाल शिव मूर्ति उत्कृष्ट गन्तव्य : प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताउनुभएको छ । साउनको पहिलो सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र विशाल शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गर्ने बताउनुभएको हो । उहाँले नेपाल प्राकृतिक, सांस्कृतिक एवं धार्मिकरूपमा धनी रहेकाले यसको विकास र संरक्षणमा ध्यान दिन सके अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण धेरै मानिसले शान्त र आध्यात्मिक ठाउँहरुको खोजिरहेको जनाउँदै उहाँले कोरोना कम हुँदै गएपछि यस क्षेत्र धार्मिक एवं अन्य पर्यटकका लागि रोजाइमा पर्ने बताउनुभयो ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं परिकल्पनाकार चन्द्रकान्त बरालले सो मूर्तिका बारेमा प्रदेश प्रमुखलाई विस्तृत जानकारी गराउनुभएको थियो । बरालका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमीनलाई ३० वर्षका लागि भोगाधिकार लिएर मूर्ति निर्माण गरिएको हो । नेपालकै अग्लो दाबी गरिएको सो शिव मूर्ति रु ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । करिब ४० प्रतिशत निर्माण सम्पन्न भएको सो कार्यका लागि हालसम्म रु २० करोड खर्च भइसकेको छ । हिलट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले सो शिवको मूर्ति प्रदान गर्नुभएको । भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट निर्माण गरिएको छ । पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास अध्यक्ष बरालको छ ।

सङ्घ सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकालगायत विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेको बरालले जानकारी दिनुभयो । समितिले मूर्ति निर्माणका लागि विसं २०७३ मा महायज्ञ लगाएर रु छ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । मूर्ति पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइए पनि अर्थाभाव र कोरोनाका कारण निर्माण केही ढिला हुन पुगेको उहाँको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जङ्गलका जङ्गली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ । शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

पुम्दीकोट धार्मिकरूपमा समेत शक्तिपीठ भएको जनाउँदै शिवमूर्ति निर्माणले यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै लैजाने उक्त वडाका अध्यक्ष मित्रलाल बरालले जानकारी दिनुभयो । बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट हिमशृङ्खला फेवाताललगायतका मनोरम दृश्य देख्न सकिन्छ । रासस

यो पनि– सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताउनुभयो । सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको उहाँको भनाइ छ ।

त्यस्तै सुर्खेत प्रहरीले जबर्जस्ती करणी मुद्दाका चार वर्षदेखि फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ३७ वर्षीय मदन विकलाई सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार विकलाई जिल्ला अदालत सुर्खेतले विसं २०७४ कात्तिक २८ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला आदेश गरेको थियो । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत पक्राउ परेका फरार प्रतिवादी विकलाई अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।