मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये आर्थिक वर्ष २०७७÷७८ मा ३० वटाको फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएका हुन् । समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानूनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिनुभयो । अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजूरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीनवटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिनुभयो । न्यायिक समितिमा उजूरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्दा सातवटा रहेका छन् ।
त्यसैगरी आठवटा मुद्दा विचाराधीन रहेका छन् । न्यायिक समितिका कानूनी सहजकर्ता कार्कीका अनुसार समितिमा दर्ता भएका उजूरीमध्ये सबैभन्दा बढी जग्गाको साँध–सिमानासम्बन्धी छन् । एक आवमा १७ मुद्दा जग्गासम्बन्धी दर्ता भएको समितिले जनाएको छ । त्यसैगरी १० जग्गा रोक्कासम्बन्धी, ६ आर्थिक लेनदेनसम्बन्धी र चार अंशसम्बन्धी छन् ।
समितिमा ज्येष्ठ नागरिकको हेरचाह नगरेको मुद्दासमेत परेको छ । गत आव त्यस्ता तीन मुद्दा दर्ता भएका छन् । त्यसैगरी श्रीमान्–श्रीमती झैझगडाका मुद्दा तीन, साधारण कुटपिटका मुद्दा दुई र ज्याला विवादसम्बन्धी मुद्दा एकवटा दर्ता भएको उहाँले जानकारी दिनुभयो । समितिमा आएका मुद्दा सकेसम्म मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको समितिका संयोजक गोपालीले जानकारीदिनुभयो । रासस
यो पनि – काठेखोलाले बनायो ‘डिजिटल प्रोफाइल’
काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रबिष्ट गरी ‘डिजिटल प्रोफाइल’ तयार पारेको छ । गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि प्रोफाइलले सहयोग गर्ने जनाइएकोछ ।
गाउँपालिकाले तयार गरेको ‘डिजिटल प्रोफाइल’ सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारीदिनुभयो । “अब हरेक घटना र विवरणहरु क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ”, उहाँले भन्नुभयो, “प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।” गाउँपालिकाको भौगोलिक अवस्थादेखि कलासंस्कृति र जनसङ्ख्यासम्मका विवरण प्रोफाइलमा भेटिने उहाँले दाबी गर्नुभयो । व्यक्तिगत घटना दर्ता, राजश्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यमबाट शुरुआत गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि प्रोफाइल तयार गरेको जनाएको छ ।
“हरेक घरको तस्बिर हुन्छ, घरमा रहेका सदस्य सङ्ख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि शुरु हुन्छ ।” यसका लागि गाउँपालिकाले गत आवमा रु २५ लाख बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको उहाँले बताउनुभयो । आठ वडा रहेको गाउँपालिकाले सबै वडाका हरेक घरमा पुगेर विवरण सङ्कलन गरेको थियो । रासस
प्रतिक्रिया