पहिराले झोलङ्गे पुलमा क्षतिः जोखिमपूर्ण यात्रा गर्न बाध्यता

पहिराले झोलङ्गे पुलमा क्षतिः जोखिमपूर्ण यात्रा गर्न बाध्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चेगाउँपालिकास्थित झोलङ्गे पुलमा क्षति पु¥याएको छ । पहिरोसँगै खसेको ठूलो रुखले धार्चेगाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने झोलुङ्गे पुलको एकतर्फको लठ्ठा चुँडिएर क्षति भएको स्थानीयवासी प्रतापमान गुरुङले जानकारी दिनुभयो ।

आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण खोला तर्फबाट खसेको पहिरोले पुलमा क्षति पु¥याएको उहाँले बताउनुभयो । “माथि भिरबाट ठूलो रुख ढलेर पुलमा खसेका कारण पुलको एकातर्फको लठ्ठा चुँडिएको छ”, उहाँले भन्नुभयो, “तत्काल मर्मत सम्मार गर्न नसके यहाँका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।” २०६० सालमा बिपीको सहयोगमा निर्माण भएको उक्त पुलमा क्षति पुगेपछि उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकसँगै पर्यटकलाई समेत समस्या भएको उहीयाँ खोलाका स्थानीयवासी दिलबहादुर गुरुङले बताउनुभयो ।

जिल्लाको पर्यटकीय मार्गको रुपमा चिनिने मनास्लु पदमार्ग प्रवेश गर्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएपछि अहिले जोखिम मोलेर आउजाउ गर्न बाध्य भएको उहाँको भनाइ छ । “माछा खोलामाथिको पुल उत्तरी गोरखाका सर्वसाधारण र पर्यटक आउजाउ गर्ने पुल हो”, उहाँले भन्नुभयो, “यो पुल नतरी उत्तरी क्षेत्र पुग्न सकिदैन, अहिले पुल तर्न ज्यानको जोखिम मोल्नुपर्ने बाध्यता छ ।” दैनिक आवातजावत गर्न समस्या भएपछि स्थानीयवासी मिलेर पहिरोसँगै आएको रुख हटाएर पुलको एकतर्फको लठ्ठामा भुण्डिएर वारपार गर्न सक्ने बनाएको गुरुङले जानकारी दिनुभयो । जेठको अन्तिम सातादेखि परेको वर्षाका कारण पदमार्गसमेत अवरुद्ध भएपछि नेपाली सेनाले केही दिनअघि मात्र पदर्माग सफा गरेको थियो । तर फेरि पहिरोले पुलमा क्षति पु¥याएपछि समस्या भएको गुरुङको भनाइ छ ।

पुलमा क्षति पुगेसँगै खच्चडबाट सामान ढुवानीमा समस्या भएको स्थानीय व्यवसायी शर्मिला गुरुङले जानकारी दिनुभयो । खच्चडबाट सामान ढुवानी गर्नुपर्ने सो क्षेत्रमा ढुवानी गर्न सक्ने अवस्था नभएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । रासस

यो पनि – काठेखोलाले बनायो ‘डिजिटल प्रोफाइल’

काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रबिष्ट गरी ‘डिजिटल प्रोफाइल’ तयार पारेको छ । गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि प्रोफाइलले सहयोग गर्ने जनाइएकोछ ।

गाउँपालिकाले तयार गरेको ‘डिजिटल प्रोफाइल’ सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारीदिनुभयो । “अब हरेक घटना र विवरणहरु क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ”, उहाँले भन्नुभयो, “प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।” गाउँपालिकाको भौगोलिक अवस्थादेखि कलासंस्कृति र जनसङ्ख्यासम्मका विवरण प्रोफाइलमा भेटिने उहाँले दाबी गर्नुभयो । व्यक्तिगत घटना दर्ता, राजश्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यमबाट शुरुआत गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि प्रोफाइल तयार गरेको जनाएको छ ।

“हरेक घरको तस्बिर हुन्छ, घरमा रहेका सदस्य सङ्ख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि शुरु हुन्छ ।” यसका लागि गाउँपालिकाले गत आवमा रु २५ लाख बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको उहाँले बताउनुभयो । आठ वडा रहेको गाउँपालिकाले सबै वडाका हरेक घरमा पुगेर विवरण सङ्कलन गरेको थियो ।

यो पनि – थाहा नगरपालिकाद्वारा न्याय नपाए न्यायिक समिति

मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये आर्थिक वर्ष २०७७÷७८ मा ३० वटाको फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएका हुन् । समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानूनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिनुभयो । अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजूरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीनवटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिनुभयो । न्यायिक समितिमा उजूरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्दा सातवटा रहेका छन् ।

त्यसैगरी आठवटा मुद्दा विचाराधीन रहेका छन् । न्यायिक समितिका कानूनी सहजकर्ता कार्कीका अनुसार समितिमा दर्ता भएका उजूरीमध्ये सबैभन्दा बढी जग्गाको साँध–सिमानासम्बन्धी छन् । एक आवमा १७ मुद्दा जग्गासम्बन्धी दर्ता भएको समितिले जनाएको छ । त्यसैगरी १० जग्गा रोक्कासम्बन्धी, ६ आर्थिक लेनदेनसम्बन्धी र चार अंशसम्बन्धी छन् ।

समितिमा ज्येष्ठ नागरिकको हेरचाह नगरेको मुद्दासमेत परेको छ । गत आव त्यस्ता तीन मुद्दा दर्ता भएका छन् । त्यसैगरी श्रीमान्–श्रीमती झैझगडाका मुद्दा तीन, साधारण कुटपिटका मुद्दा दुई र ज्याला विवादसम्बन्धी मुद्दा एकवटा दर्ता भएको उहाँले जानकारी दिनुभयो । समितिमा आएका मुद्दा सकेसम्म मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको समितिका संयोजक गोपालीले जानकारीदिनुभयो । रासस