साधारण सदस्यताको विवाद उत्कर्षमा: एनआरएनलाई ध्यानाकर्षण

साधारण सदस्यताको विवाद उत्कर्षमा: एनआरएनलाई ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यताको विवाद उत्कर्षमा पुगेको छ । त्यहाँ साधारण सदस्यता लिएका विद्यार्थीलाई कार्यसमितिका पदमा उमेदवार हुन वन्चित गरिएकोप्रति उनीहरुले एनआरएनए अन्तरराष्ट्रिय परिषद, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया र एनआरएनए एशिया प्रशान्त क्षेत्रको ध्यानाकर्षण समेत गराएका छन् ।

विद्यार्थीको एनआरएनएमा संस्थागत आवद्धताका विषयमा छलफल गरी उचित निष्कर्ष निकाल्न माग गरिएको छ । विभेदकारी प्रक्रियाको अन्त्य नगरिए सदस्यता खारेज गरी सदस्यताका निम्ति बुझाएको रकम पनि फिर्ता गर्न माग गरिएको छ । कार्यसमिति पदका लागि एनआरएनए कोरियाको अधिवेशनमा पटकपटक कुरा उठाए पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ । ‘विदेशमा रहेका नेपालीले निरन्तर उठाउँदै आएको ‘नोट चल्ने भोट नचल्ने’ आवाज जस्तै आज हामी कोरियामा अध्ययनरत विद्यार्थीले ‘भोट चल्ने तर उमेदवारी किन नचल्ने’ भन्ने प्रश्न राख्न बाध्य भएका छौँ, ‘नेपालीका निम्ति नेपाली’ भन्ने मूल नाराका साथ अगाडि बढेको गैरआवासीय नेपाली सङ्घले विद्यार्थी नेपाली नागरिकनै नभएको जस्तो व्यवहार गरेको छ र यस्तो व्यवहारमा हाम्रो गम्भीर आपत्ति रहेको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीको एनआरएनए निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान रहेको जनाउँदै उनीहरुले संस्थागत हिनका लागि विद्यार्थीका हकमा विभेदकारी व्यहार गरेकामा आश्चर्य प्रकट गरेका छन् । संस्थाको विभिन्न टास्क फोर्समा रहेर काम गर्न, सेमिनारलगायतका शैक्षिक गतिविधिमा काम गर्न विद्यार्थी चाहिने तर कार्यसमितिमा रहेर काम गर्नका निम्ति किन विद्यार्थीलाई वन्चित गरिएको भनी प्रश्न गरिएको छ । उनीहरुले संस्थालाई गतिशील बनाउनका निम्ति अप्ठ्यारो अवस्थामा विद्यार्थी संस्थामा आएर सम्पूर्ण कार्यभार समालेर एउटा विन्दुमा पु¥याइएको उदाहरण विगतका प्रायजसो कार्यसमितिमा देखिएको जनाएका छन् ।

विद्यार्थीले साधारण सदस्य बन्न मिल्ने, मतदान प्रक्रियामा सामेल हुन पनि मिल्ने तर राहदानी प्रकारको कारण देखाएर उमेदवार बन्न नमिल्ने भनेर विद्यार्थीलाई पाखा लगाउने काम लगातार रूपमा भइरहेकामा चिन्ता व्यक्त समेत गरेका छन् । विद्यार्थीलाई आवश्यक पर्दा प्रयोग गर्ने साधन मात्र बनाइएको आरोप लगाएका छन् ।
विदेशमा बस्ने नेपालीको हक र हितका निम्ति काम गर्ने संस्था भएको नाताले पनि विदेशी भूमिमा लामो समय बस्न सम्भावना रहेका विद्यार्थी साथीलाई संस्थागत आवद्धतामा वन्चित गरिनु न्यायोचित नभएको विद्यार्थीको तर्क छ । रासस

यो पनि – मतदाता नामावली अद्यावधिक शुरु

जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरुआत गरेको छ । कार्यालयले यहाँका नौवटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ । कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम शुरु भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिनुभयो । जिल्लाका कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको उहाँल बताउनुभयो ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाका निर्वाचनमा जिल्लामा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष मतदाता रहेका थिए । अहिले मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनीतिक दलहरुलाई सहयोग गर्न कार्यालयले आग्रह गरेको छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको, ठाउँ परिर्वतन, श्रीमान्, श्रीमतीको नाम परिर्वतन (सच्याउन) तथा नामावलीमा अन्य कुनै त्रुटि भएको भए सच्याइने कार्यालयले जनाएको छ । सो निर्वाचनमा जिल्लामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ र समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो । रासस

यो पनि – नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उहाँकै निवासमा पुग्नुभएको थियो । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ ।यद्यपि भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चार माध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गर्नुभएको र विस्तृत विवरण दिउँसो जानकारी गराउने बताउनुभयो ।

उहाँका अनुसार जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गर्नुभएको हो । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो । त्यसलगत्तै अध्यक्ष यादवले पनि छुट्टै नेता नेपालसँग छलफल गर्नुभएको थियो ।

यो पनि – ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गर्नुभएको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ ।

यसैगरी गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएकोे छ । महालक्ष्मीले सोमवारदेखि शुरु गरेको सो खोप अभियानमा हिजो खोेप लगाउन छुटेका सो उमेर समूहका व्यक्तिलाई खोप लगाइने जारीे सूचनामा उल्लेख छ । ललितपुरमा मङ्गलबार दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिनुभएको थियो ।

यो पनि – सार्वजनिक यातायात खुले, खुलेनन् सडक

कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन् । पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् । साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।

म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले आन्तरिक सार्वजनिक यातायातका साधन खुला गरिए पनि बाढी र पहिराका कारण अवरुद्ध बनेका सडक सञ्चालन गर्न नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेका बताउनुभयो । “सार्वजनिक यातायात त खुला भयो तर, सडक खुला गर्न सकिएन, दिउँसो बनायो, राति पानी परेपछि पहिरो गएर सडक अवरुद्ध हुन्छ”, श्रेष्ठले भन्नुभयो, “जिल्लाका प्रायः सबै ग्रामीण सडक पहिराले अवरुद्ध छन्, सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिएको छैन ।”

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

बेनी–बरङ्जा, बेनी–पुलाचौर र बेनी–झीँ यी तीन सडकबाहेक जिल्लाका अन्य १७ वटा ग्रामीण सडक अवरुद्ध छन् । छ किलोमिटर दूरीको बेनी–पुलाचौर, आठ किमी दूरीको बेनी–बरङ्जा र सात किमी दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएका छन् । म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष श्रेष्ठका अनुसार यी तीनवटा सडकमा पनि जीपबाहेक ठूला सवारी सञ्चालन हुनसकेका छैनन् । पहिराका कारण सडक साँघुरिएकाले ठूला सवारी सञ्चालन हुन नसकेका उहाँको भनाइ छ । यहाँका सडक अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।