नेकपा (एमाले)को आजको केन्द्रीय कमिटीको बैठकको यस्तो निर्णय

नेकपा (एमाले)को आजको केन्द्रीय कमिटीको बैठकको यस्तो निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन (रासस) : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को आजको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुभएका नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गर्ने भएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीको विवाद समस्या समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आजको बैठकमा गत असार २७ मा भएको १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनका चरणबारे ब्रिफिङ गर्नुभएको थियो । उक्त सहमतिलाई सोमबारको बैठकले अनुमोदन गरिसकेको छ । आजको बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षले सम्बन्धित प्रदेशको राजनीतिक र साङ्गठनिक स्थितिबारे जानकारी तथा सुझाव दिएको र बुधबार त्यसमाथि नेतृत्वले जवाफ दिने ज्ञवालीले बताउनुभयो ।

बैठकमा भूमि व्यवस्था आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी समस्या समाधानका लागि स्थानीय तहसँग सम्झौता भई कार्य भइरहेको स्थितिमा सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरुलाई हटाएमा उचित नहुने बताउनुभएको थियो ।

बैठकमा मस्तिष्काघात भई उपचाररत पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वाेच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेका छन् । अर्काे बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्नेछ ।

यो पनि – काभ्रेको राधाकृष्ण प्राविका ८५ विद्यार्थीलाई पुस्तक सहयोग

पाँचखाल (काभ्रेपलाञ्चोक), ५ साउन (रासस) : विकल्पका लागि आवाज नेपालले काभ्रेपलाञ्चोकको पाँचखालस्थित राधाकृष्ण प्राथमिक विद्यालयका ८५ विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल ‘काका’ को विशेष सहयोगमा विकल्पका लागि आवाज नेपालले आज काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० स्थित राधाकृष्ण प्राविमा अध्ययनरत ८५ विद्यार्थीलाई पुस्तक सहयोग गरेको हो ।

कार्यक्रममा नेता दाहालले मुलुकको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “सरकारले शिक्षाभन्दा अरु क्षेत्रमा बढी बजेट विनियोजन ग¥यो, वर्तमान सरकारले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस काभ्रेका नेता सुन्दरमणि आचार्यले मुलुकको विकासका लागि राज्यले शिक्षा क्षेत्रमा यथेष्ट लगानी गर्नुपर्ने बताउनुभयो । विद्यालयमा दरबन्दी थप्ने कुरामा आफूले विशेष पहल गर्ने उहाँको भनाइ थियो । कांग्रेस काभ्रेका अर्का नेता निराजन लुईंटेलले स्थानीय सरकार र प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष पहल गर्न आग्रह गर्नुभयो ।

विसं २०६५ मा स्थापना भएको उक्त विद्यालयमा स्थायी दरबन्दी नहुँदा समस्या भएको विद्यालयका प्रधानाध्यापक गीता लुईंटेलले जानकारी दिनुभयो । स्थापना भएको १३ वर्षसम्ममा पनि उक्त विद्यालयमा दुई जना राहत शिक्षक र पाँच जना निजी शिक्षकबाट अध्यापन हुँदै आएको छ ।

स्रोत अभावका कारण निजी शिक्षकलाई मासिक छ हजार तलब दिँदै आएको उक्त विद्यालयलाई गत वर्षदेखि वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद तिमल्सेनाले बताउनुभयो । विसं २०७४ मा स्थापना भएको विकल्पका लागि आवाज नेपालले यसभन्दा पहिले ओखलढुङ्गाको नारेस्थान सामुदायिक पुस्तकालय र माम्खा सामुदायिक पुस्तकालय निर्माण गरेर शिक्षा क्षेत्रको विकासमा सहयोग गर्दै आएको उक्त संस्थाका अध्यक्ष युवराज तिमल्सेनाले जानकारी दिनुभयो । यस्तै उक्त संस्थाले बाढीपहिरो पीडित र हावाहुरी पीडितलाई सहयोग गरेको छ ।

विकल्पका लागि आवाज नेपालका महासचिव मदन ढुङ्गानाले आफ्नो संस्थाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने वचनबद्धता व्यक्त गर्नुभयो । यस्तै, उक्त संस्थाले आजै पाँचखाल नगरपालिका–२ स्थित ज्ञानोदय प्राथमिक विद्यालयमा स्टेशनरी सामग्री सहयोग गरेको छ ।