भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल

भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती, ६ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताउनुभएको छ । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ‘बकर इद’ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक देश हो । विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ । विविध जातजाति, भाषा, धर्म, संस्कृतिका नेपालीहरुको आ–आफ्नै मौलिक पर्वहरु छन् । यसमध्ये मुस्लिम समुदायले मनाउने एउटा महत्वपूर्ण पर्व बकर इद हो । मुस्लिम महिना ‘जुल हिज्जा’ को दशौँ दिन बकर इद मनाइँदै आएको छ । तीन दिनसम्म मनाइने यस पर्वलाई बलिदानी पर्वका रूपमा पनि लिइन्छ । यस पर्वको अवसरमा मस्जिदमा भेला भई नमाज पढ्ने, आ–आफ्नो घरमा बलि दिने र एक–अर्कामा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

सन्देशमार्फत पौडेलले कोरोना महामारीका कारण यस वर्षको बकर इद स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै मनाउनुपर्ने अवस्था रहेकाले भौतिक दूरीसहित स्वास्थ्य सावधानीका निर्धारित मापदण्डको पालना गर्दै नमाज पढ्न र शुभकामना आदानप्रदान गरी पर्व मनाउन अनुरोध गर्नुभएको छ । “बकर इदले हामी सबैलाई जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा सिर्जनशील भई सकारात्मक योगदान पु¥याउन थप प्रेरणा दिनेछ भन्ने विश्वाससहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमार्फत पौडेलले भन्नुभएको छ । रासस

यो पनि – राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

गण्डकी, ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा भनिएको छ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मान्यता छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । इस्लाम पात्रो ‘हिजारी संवत्’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औँ दिन यो पर्व मनाउँदै आएको पाइन्छ । विश्वभरकै मानवका लागि चुनौती बनेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सफलता प्राप्त गर्न र महामारीका बेलामा अझ दरिलोरूपमा जुट्न आजको दिनले हामी सबैलाई हौसला मिल्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गर्नुभएको छ । रासस