दुई सातापछि सिधा सवारी सञ्चालन

दुई सातापछि सिधा सवारी सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, ६ साउन । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दुई सातापछि पुनः सञ्चालन भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिरलगायतका स्थानमा पहिराले अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनी परिचालन गरी पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब दुई साता सो सडकखण्डमा कुनै पनि सवारी साधन सिधा सञ्चालन हुनसकेका थिएनन् । सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा बीचबाटोमै अलपत्र परेका थिए ।

सडक अवरुद्ध भएपछि मुस्ताङका लागि नेपाल सरकारले पठाएको कोरोनाविरुद्धको भ्याक्सिन पनि मान्छेले बोकेर नै मुस्ताङ पु¥याएका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरी अवरुद्ध बनेको सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । रासस

यो पनि –कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

टीकापुर, ६ साउन । कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी कार्यालयले जनाएका छन् । आन्तरिक राजश्व कार्यालय कैलालीले गत आव २०७७/७८ मा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई गत आवमा आन्तरिक राजश्व विभागले रु चार अर्ब ५० करोड राजश्व उठाउने लक्ष्य दिएकामा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले जानकारी दिनुभयो । “यो राजश्व लक्ष्यभन्दा २२.८७ प्रतिशत बढी हो”, देवकोटाले भन्नुभयो, “यस वर्ष लक्ष्यभन्दा राजश्व राम्रो सङ्कलन भएको छ ।”

कैलालीको लम्कीस्थित करदाता सेवा कार्यालयबाट पनि गत आवमा रु ५१ करोड ७४ लाख १० हजार राजश्व सङ्कलन भएको छ । आयकरतर्फ रु २७ करोड ७१ लाख ५८ हजार, आन्तरिक करतर्फ रु १७ करोड ७२ लाख एक हजार, घरबहाल करबाट रु एक करोड १४ लाख ६९ हजार, अन्तःशुल्कबाट रु चार करोड १९ लाख चार हजार, ब्याजदरतर्फ रु ९४ लाख ८२ हजार, स्वास्थ्य सेवाकर रु १० हजार र शिक्षा सेवा शुल्क रु एक लाख ८७ हजार राजश्व सङ्कलन भएको छ । अघिल्लो आव २०७६/७७ मा करदाता सेवा कार्यालय लम्कीबाट रु तीन करोड ९९ लाख ५५ हजारमात्र राजश्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आव २०७७/७८ मा करदाता सेवा कार्यालय लम्कीबाट रु ४७ करोड ७४ लाख ५५ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले जानकारी दिनुभयो । “अघिल्लो वर्षभन्दा यस वर्ष राजश्व सङ्कलनमा सुधार आएको छ”, उहाँले भन्नुभयो ।

कैलाली भन्सार कार्यालयले पनि गएको आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । गत आव २०७७/७८ मा कैलाली भन्सार कार्यालयलाई रु आठ अर्ब २१ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु आठ अर्ब ८४ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिनुभयो । “कैलाली भन्सार कार्यालयबाट गत वर्ष पेट्रोलियम पदार्थ, ट्र्याक्टर, खाद्यान्न तथा फलफूलजस्ता वस्तुको आयात धेरै भएको छ”, खतिवडाले भन्नुभयो, “सबैलाई कदरको दायरामा ल्याउन प्रयास निरन्तर गरिरहेका छौँ ।”

यता टीकापुरस्थित सत्ती भन्सार कार्यालयले आव २०७७/७८ मा रु १५ करोड ८५ लाख सात हजार ९७३ राजश्व उठाएको छ । कार्यालयलाई भन्सार विभागले आव २०७७/७८ मा रु १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । कार्यालयले लक्ष्यभन्दा बढी राजश्व उठाएको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले जानकारी दिनुभयो । “अघिल्लो आव २०७६/७७ मा रु पाँच करोड ८० लाख राजश्व उठेको थियो”, कार्यालय प्रमुख शाहले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी राजश्व उठाउन सफल भएका छौँ ।”

भन्सार कार्यालयले आव २०७८/७९ का लागि रु २० करोड राजश्व उठाउनुपर्ने लक्ष्य तोकेको छ । सीमामा हुने चोरी, तस्करी नियन्त्रण र भन्सारमा सामान आयातमा कडाइ गरेमा राजश्व सङ्कलनमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । “कोरोना महामारीपछि भारतबाट अवैध बाटो हुँदै सामान भित्र्याउनेहरू नियन्त्रण भए, जसले राजश्व वृद्धिमा सघाएको देखिन्छ”, स्थानीयवासी रमेश ठकुल्ला भन्नुहुन्छ, “भन्सार कर्मचारी, प्रहरी र स्थानीयवासीको निगरानीसमेत बढेको छ । यस्तै कार्यले अघि बढे राजश्व वृद्धि थप बढ्छ ।”