आरन व्यवसायीलाई आधुनिक उपकरण प्रदान

आरन व्यवसायीलाई आधुनिक उपकरण प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिक आँैजार तथा उपकरण प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै जाने अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त्यसको आधुनिकीकरणको लागि आरन व्यवसायीलाई विभिन्न औँजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो ।

कृषि क्षेत्रसँग प्रत्यक्षसम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले विभिन्न औँजार तथा उपकरण उपलब्ध गराएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा आज आठ जना आरन व्यवसायीलाई आँैजार तथा उपकरण प्रदान गरेको हो । त्यसअवसरमा नगर उपप्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तीकरणका अन्य कार्यक्रम सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले परम्परागत पेशाको संरक्षणसँगै यो व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा यहाँका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।

नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पङ्खा, बेल्डिङ मेसिन, ग्लेन्डरलगायतका औँजार प्रदान गरेको हो । पूर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले आँैजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको वडा नं ११ का कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।

कार्यपालिका सदस्य एचवी रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय सङुकटमा पर्दै गएको पाइएपछि युवालाई यो पेशामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको बताउनुभयो । एक दशकअघिसम्म प्रायः गाउँमा रहेका आरन व्यवसायी पछिल्लो पटक घट्दै गएका छन् । तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा लागेको अनुमान छ । रासस

यो पनि – बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको बाँकेमा हुनसक्ने धनजनको क्षतिलाई कम गर्न यसवर्ष आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्नुका साथै बाढीबाट सर्वसाधारणलाई जोगाउने पर्याप्त पूर्व तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

उहाँका अनुसार, बाँकेमा गृह मन्त्रालय, केयर नेपाल र एक्सन एड नेपाललगायतका सङ्घ संस्थाले विभिन्न किसिमका २२ हजार ७६९ थान विपद् उद्धार तथा राहत सामग्री भण्डारण गरिएको छ । नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा १०० सेट गैर खाद्य सामग्री तयारी अवस्थामा रहेको छ, भने नेपाल खाद्य संस्थान नेपालगञ्जमा ३५० मेट्रिक टन खाद्यान्न, साल्टट्रेडिङमा ३० हजार मेट्रिक टन नून मौज्दात छ । बाढी र डुबानबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरेर र राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, डुडुवामा तीन, नेपालगञ्जमा दुई र अन्य स्थानीय तहमा एक–एकवटा गरी बाँकेका आठ वटै स्थानीय तहमा १९ वटा हेलिप्याड तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाढी र डुबानबाट हुनसक्ने जोखिमको पूर्व तयारीस्वरुप बाँकेमा १२ थान रबरबोट तयारी अवस्थामा राखिएको छ । बाढीपीडितको उद्धारमा खटिनका लागि दुई हजार ५५० तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको छ । समितिका अनुसार नेपाली सेनाका ११५ जना जनशक्ति तालीम प्राप्त छन् ।यस्तै, नेपाल प्रहरीसँग १५ जना, सशस्त्र प्रहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थासँग २७३ जना तालीम प्राप्त जनशक्ति मौजुद रहेका छन् । यस बाहेक नेपाली सेनाका एक हजार, नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका ८०० र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन तयारी अवस्थामा रहेको विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।

राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्शाङकन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।

जिल्लामा सबैभन्दा धेरै राप्ती सोनारीका नौवटै वडाका ४३ गाउँ, नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् । बैजनाथ गाउँपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ वडाका केही स्थान बाढीको जोखिममा रहेको ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, जानकी गाउँपालिका– वडा १ एकको साइगाउँ, शिवपुरी, पन्चपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेका छन् । रासस