काठमाडौँ, ६ साउन । दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको लामोसमय वितिसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न सकेको छैन । शान्ति प्रक्रियाका धेरै काम पूरा भए पनि पीडितलाई न्याय दिने काम आफै पूरा हुनसकेको छैन । द्वन्द्वका पीडित पक्षले न्याय निरुपणको काम छिटो अगाडि बढाउन माग गरिरहेका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सत्य निरुपण आयोग र न्यायका मुद्दा’ विषयक अन्तक्र्रियाका सहभागी द्वन्द्वपीडित तथा घाइतेहरुले छिटो न्यायका लागि आग्रह गरे ।
कर्णाली प्रदेशको आन्तारिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले पीडितलाई न्याय दिन ढिला भइरहेको र वर्तमान सरकारले तत्काल न्याय दिन पहल गर्नुपर्ने बताउनुभयो । सत्तापक्ष र विद्रोहीपक्ष अहिले सरकारमा रहेको अवस्थमा भएकाले पीडितलाई न्याय दिनुपर्ने वर्तमान सरकारकोे काँधमा रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार कर्णाली प्रदेशका तर्फबाट शहीद र घाइते परिवारलाई जीविकोपार्जनसम्बन्धी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि सहकार्य गरेर घाइतेको उपचार भइरहेको छ ।
अधिवक्ताद्धय गोविन्द बन्दी र एकराज भण्डारीले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा पीडितको अपनत्व हुनेगरी सर्वोच्च अदालतको फैसलाअनुसार ऐन संशोधन गरेर पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ । कार्यक्रममा सहभागी द्वन्द्वपीडितले न्याय पर्खाइ लामो भएको र छिटो न्याय दिने विषयमा राज्यले सोच्नुपर्ने र न्याय दिन राजनीतिक दल इमान्दार हुनुपर्ने धारणा राखेका थिए । म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले द्वन्द्वपीडितलाई न्याय दिन भइरहको प्रक्रिया र न्याय छिटो दिलाउन पहल गर्ने उद्देश्य साथ छलफलको आयोजना गरेको बनाउनुभयो । रासस
यो पनि – बालुवाकै भरमा परिवारको गुजारा चलाउँदै महिला
खलङ्गा, ६ साउन । चन्दननाथ नगरपालिका–१ की बास्मती कुलाल दैनिकजसो जवा नदीबाट बालुवा निकालिरहेको अवस्थामा भेटिन्छिन् । उहाँको काँधमा ५ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । उहाँले पाँच वर्षदेखि बालुवा निकालेर परिवारको खर्चको जोहो गर्दै आइरहेकी छन् । “म घरबाट एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु”, उहाँले भन्नुभयो, “परिवारको खर्च जोहो गर्न हाम्रो लागि नदीको बालुवा भरपर्दो आर्थिक स्रोत बनेको छ ।” चन्दननाथ नगरपालिका–१ की धनमाया कुवालको दैनिकी पनि नदीमा बालुवा निकालेर बित्छ । बालुवा सङ्कलन र बिक्री गरेको रकमले उहाँको पनि घरखर्च चल्ने गरेको छ ।
उहाँहरु मात्र होइन, चन्दननाथ नगरपालिकाका झण्डै दुई सय महिला जवा नदीको बालुवा निकालेर बिक्री गरी जीविकोपार्जन गर्न बाध्य छन् । भरपर्दो रोजगारी नभएका र घरको आर्थिक अवस्था कमजोर भएका उहाँहरुलाई खोलाको बालुवाकै भर छ । चन्दननाथ नगरपालिका–१ की धनमाया कुलालले बालुवा निकाल्नुको विकल्प नभएको बताइन् । “बजारमा मजदूरी पाइँदैन”, उहाँले भन्नुभयो, “परिवारको खर्च धान्नै मुस्किल छ ।” बालुवा बिक्री गरेको पैसाले मात्र नपुग्दा ऋण लिएर गुजारा चलाउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । उहाँले दिनभर सङ्कलन गरेको बालुवाबाट रु ४÷५ सय कमाउँछिन् । “बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । एक दिनमा १५ बोरासम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा रु तीन हजारदेखि चार हजारसम्म कमाई हुने गरेका छ”, उहाँले भन्नुभयो, “एक टिप्पर बालुवा सङ्कलन गर्दा रु ५०० नदी किनारमा भएको जग्गाधनीलाई उपलब्ध गराउने गरिएको छ ।”
उहाँका अनुसार नदी किनारमै ठेकेदार बालुवा लिन आउँछन् । नदी किनारमै रुपैयाँ दिन्छन् । बिहानको खाना धेरैजसो नदी किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न सकिने भएकाले यहाँका महिलाको बिहानै नदी किनारामा भीड लाग्ने गरेका छन् । विद्यालय जाने बालबालिकासमेत बालुवा सङ्कलनका लागि नदी किनारामा पुग्ने गरेको उहाँको भनाइ छ ।
विद्यालय बन्द भएकाले बालुवा निकाल्ने काम गरेको स्थानीयवासी उनिता कुलालले बताउनुभयो । “बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ । बालुवा बेचेर दैनिक उपभोग्य सामग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको छु”, उहाँले भन्नुभयो, “साउन महिनामा पानीको बहाव बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ ।” यहाँका महिलाले जवा नदीमा खाली खुट्टा, नाङ्गो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छन् । नदीमा फ्याँकिएका सिसा, काँडा र ढुङ्गाले काट्ने डर हुन्छ । तर बालुवा सङ्कलन नगरी सुख पनि छैन ।
विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले यहाँको महिलाको रोजगारी जवा नदीले दिएको हो । नदीबाट निकालिएको बालुवा ठेकेदारले खरीद गरी ट्र्याक्टर र टिप्परमार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीयवासी बताउँछन् । जिल्लाको जवा नदी, तिला र हिमा नदीमा बालुवा सङ्कलन कार्य तीव्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।
प्रतिक्रिया