बिपी कोइराला मेरो अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

बिपी कोइराला मेरो अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि हुनुहुन्थ्यो भन्नुभएको छ । उनन्चालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गर्नुभयो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिकाभरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बिपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरुलाई बन्दी बनाएका थिए ।बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँका कैयौँ कृति नेपाली पाठकबीच लोकप्रिय छन् । रासस

यो पनि – विपीको प्रमुख कार्यसूची : ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’

काठमाडौँ, ६ साउन। नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ । विपी जयन्तीको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका सहभागी वक्ताले निरङ्कुश राणा शासनविरुद्ध मोर्चा खडा गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि उहाँले पु¥याउनुभएको योगदान र प्राप्त उपलब्धिको समीक्षा गर्नुभयो ।

सो अवसरमा परराष्ट्र मामिलाका जानकार प्राध्यापक जयराज आचार्यले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा विपीले आजीवन योगदान गर्नुभएको स्मरण गर्नुभयो । विपीको अन्तिम चार वर्षमा भएका भेटघाट र छलफल प्रजातन्त्र, राजनीति र साहित्य क्षेत्रका विषयमा कुरा गर्नुभएका प्राध्यापक आचार्यले नेपालका आदर्श र जीवनलाई प्रभावित तुल्याउने व्यक्तिका रुपमा विपी र प्राध्यापक यदुनाथ खनाललाई लिने गरेको बताउनुहुन्छ । प्राध्यापक आचार्य भन्नुहुन्छ, “विपीबाट २००७ सालको आन्दोलनको नेतृत्व भए तापनि १७ साल नेपालको इतिहासमा एउटा ठूलो दुर्घटनाको प्रमुख सिकार विपी र लोकतान्त्रिक प्रणाली भयो । त्यसपछि उहाँकै नेतृत्वमा ३० वर्ष सङ्घर्ष भयो, २०४६ सालको जनआन्दोलन पनि विपी जीवित नभए पनि त्यसको पछाडि उहाँकै प्रेरणा थियो ।”

विपी कोइराला प्रधानमन्त्री र पार्टी सभापतिमात्र होइन, एउटा प्रजातान्त्रिक सङ्घर्षको आदर्श प्रतीकका रुपमा जीवित रहिरहनुभएको छ । विसं २०१५ सालमा भएको आम निर्वाचनमा दुई तिहाइ मतका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरी जेल पठाएका थिए । मुलुकमा त्योे घटनालाई २०१७ सालको ‘कू’ को सङ्ज्ञा दिने गरिन्छ । विसं २००७ को क्रान्तिको उपलब्धि स्थापित गर्न २०१५ सालको आम निर्वाचनसम्मको अवधिमा विपीलाई ठूलो सङ्घर्ष गर्नुपरेको थियो । विपीकै समग्र योजनाअनुरुप राजारजौटा उन्मूलन, गुठी जग्गा रैकर, विर्ता प्रथा उन्मूलन, मोहियानी हक लागू, त्रिभुवन विश्वविद्यालय स्थापनालगायत नेपाली समाजमा आमूल परिवर्तन गर्ने दूरगामी कार्यक्रम अघि बढी रहेकै बेला १७ सालको घटना भयो ।

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वाचनमा बसेर नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि सक्रिय विपी २०३३ सालमा राष्ट्रिय मेलमिलापनको नीति लिएर स्वदेश फर्कनुभएको थियो । उहाँलाई क्यान्सर भएपछि तत्कालीन पञ्चायत सरकारले २०३५ सालमा उपचारका लागि विदेश जाने अनुमति दियो । त्यसपछि विकसित राजनीतिक घटनालाई विश्लेषण गर्र्दै बहुदल वा सुधारसहितको पञ्चायती व्यवस्था रोज्न दिन जनमत सङ्ग्रह घोषणा गरे तापनि पञ्चायतलाई टिकाउन जालझेल गरी निर्वाचनको परिणाम त्यसतर्फ भएको नतिजा सार्वजनिक गरियो । यो घटनालाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रुपमा लिने गरिन्छ ।

नेपालका समकालीन राजनीतिबीचमा अध्ययनशील, साहित्यकार, अनुभवी, प्रजातन्त्रप्रति प्रतिबद्ध विपीलाई अहिले राजनीतिमा देखिएको विश्वासको खडेरीले उहाँलाई झल्झली सम्झना गरेको छ । सडक, सञ्चार, शिक्षा नभएको तथा गरिबी र अन्धकारको चरम अवस्थामा पनि सबै जनतालाई निर्वाचनमा भाग लिने सुनिश्चिताले विपीको प्रजातन्त्रप्रतिको प्रतिबद्धलाई स्पष्ट गरेका कूटनीतिज्ञ आचार्य बताउनुहुन्छ ।

उहाँले नेपाली भाषाका प्रभावशाली साहित्यकार पनि स्थान प्राप्त गर्नुभएको छ । २०१७ सालको काण्डपछि विपीले ८ वर्ष जेलजीवन बिताउनुभयो । उहाँले अधिकांश उपन्यास त्यही समयमा लेख्नुभयो । राजा महेन्द्र जहाँ पुग्दा पनि पत्रकारले त्यस समयमा सोध्ने एउटै प्रश्न थियो, विपी कहिले जेलबाट छुट्नुहुन्छ ? महेन्द्रलाई विपी बिर्साउन सम्भव थिएन । विपी जेलमा होस् वा बाहिर जहाँ रहे पनि प्रजातन्त्रका लागि विपीको सङ्घर्षको गाथा सबैले नजीकबाट नियाँलिरहेका थिए । यसअघि अङ्ग्रेज विरुद्धको भारत छोड आन्दोलनमा अग्रमोर्चामा रही योगदान पु¥याउनुभएका बिपीमा लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य प्रमुख एजेन्डा थियो ।

विसं १९७१ भदौ २४ मा जन्मनुभएका विपीको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । उहाँको निधनप्रति शोक व्यक्त गर्न आङ्कलन गरिएभन्दा निकै धेरै नागरिक पशुपति पुगेका थिए । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी भन्नुहुन्छ, “विपीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेको भीड पशुपतिदेखि पुतलीसडकसम्म रहेको र त्यसअघि यति ठूलो मानिसको सहभागिता कहिल्यै देखेको थिइनँ ।

फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलनमा विपीको योगदान युगौँयुगसम्म ताजा रही रहने प्रतिक्रिया दिनुभयो । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारित विभागका उपप्राध्यापक जगत नेपालले मुलुकको प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलन र विपी एकअर्काको पर्याय रहेको धारणा व्यक्त गर्नुभयो । रासस